Comments Add Comment

महिलाप्रति कडा विरोध कि नरम सुझाव ?

अफिस जान हतारमा थिएँ, अनलाइनखबरमा यमुना अर्यालको एउटा लेख पढेँ- ‘मान्यजनलाई ढोग्दा लाज लाग्ने,नागाबाबा ढोग्दा रमाउने ?

यो लेखलाई केन्द्रमा राखेर केही नलेखी मन मानेन ।

लेखिका महोदयलाई सुरुमै सोध्न मन लाग्यो- महिलालाई मात्र सुझाव किन ? शिवरात्रिको बेलानागाबाबालाई महिलाले मात्र ढोग्छन् र ?

समाजमा महिलाहरुको विविध भूमिका देख्दा दयनीय लाग्छ । कोही महिला महिलाका लागि भनेर दिन-रात लड्छन्, नारीवादी भनेर अनेक गाली खान्छन् । कोही भने उही नारीवादी महिलालाई नानाथरी भन्छन् । यसलाई म महिला महिलाकै दुश्मन भए भन्दिनँ । बरु महिला मूर्ख हुन् । यो समाजले उनीहरुलाई मूर्ख नै बनाएर छोडेको छ ।

महिलाका बारेमा महिलाले लेख्ने लेखका आधारमा आज महिलाको वर्गीकरण गर्दै छु-

१.    आधुनिक नारीवादी महिला

२.    आधुनिक नारीवाद विरोधी महिला

३.    परम्परागत नारीवादी महिला

४.    परम्परागत नारीवाद विरोधी महिला ।

माथिका वर्गको विश्लेषण गर्दा ‘म सासूको गोडा किन ढोगूँ’ भन्ने लेख आधुनिक नारीवादी महिलाको लेख । त्यस्तै, ‘सासूको गोडा नढोग्ने भए बिहे किन गर्ने ?’ यो परम्परागत नारीवाद विरोधी महिला ।

‘अचेल जमाना बदलिसक्यो, बुहारीलाई सासूको गोडा ढोगाउँदैनन्’ भनेर प्रतिक्रिया दिने आधुनिक नारीवाद विरोधी महिला । ‘मन लाग्नेले ढोगे भो, मन नलाग्नेले नढोगे भो’भन्नेहरु परम्परागत नारीवादी महिला ।

यसरी हामी यस्तै झगडामा रुमल्लिरहेका छौं । म सायद आधुनिक नारीवादी महिलामा पर्छु होला । बाबाजी वाला लेख लेख्ने लेखिका पनि नारीवादी नै हुनुहुन्छ, तर उहाँ परम्परागत नारीवादी हुनुहुन्छ । एक त उहाँका लेखहरुमा आउने टीका, पोते लगाएको फोटोले बताउँछ,उहाँ कति परम्परागत हुनुहुन्छ भन्ने । दोस्रो, उहाँका लेखहरुले उहाँ शिवरात्रि मान्नुहुन्छ, सासू-ससुरालाई मान्नुहुन्छ, छोराले ससूराका अगाडि नागाबाबाहरुको कुरा गर्ला भन्ने उहाँलाई डर पनि छ । उहाँ महिलालाई पशुपति जान पनि अप्ठ्यारो हुनेगरी नाङ्गिएका बाबाहरुको विरोध गर्नुहुन्छ । भनेपछि उहाँ नारीको बारेमा बोल्नुहुन्छ, यसकारण उहाँ नारीवादी हुनुहुन्छ ।

म पनि यही समाजले बनाएको मूर्ख नै हुँ । महिलाको लेखको विरोध गर्न फेरि पनि लेख लेख्दै छु । तर, आज विरोधभन्दा पनि एउटा सुझाव दिन चाहन्छु ।

नारीवादी हुनु नराम्रो होइन । चाहे पैसाका लागि नै होस्, नारीलाई फाइदा हुने कुरा जोसुकैले जेसुकैका लागि गरेको भए पनि राम्रो कुरा हो । हामी एकले अर्काको विरोध गरेर आफैंलाई मूर्ख देखाउनु बाहेक केही गरिरहेका छैनौं ।

कसैले कडा आवाजमा कुनै कुराको विरोध गर्‍यो भने हामी त्योभन्दा चर्को स्वरमा त्यसको समर्थन गर्छौं । त्यसैगरी, कुनै महिलाले कडा स्वरमा केही कुराको समर्थन गरेमा अर्की महिलाले त्योभन्दा चर्को रुपमा विरोध गर्छिन् । महिला-महिलाको बीचमा विपरीतलिङ्गीमा हुने आकर्षण नहुने भएरै होला, झगडा बढी देखिन्छ ।

एउटा महिलाको विरोध नगरीकन पनि समाजका कुरीति र विकृतिको विरोध गर्न सकिन्छ । एनजीओका महिला अधिकारवादीहरु बुहारीलाई उक्साएर ससुरासँग बाझ्न लगाउँछन् भन्ने लेख पनि कतै आएको थियो । केही महिलाले त्यसो गरे भन्दैमा सबैलाई एउटी खाडलमा हाल्नु भएन ।

मान्छे सधैं सिकिरहेको हुन्छ, मृत्युको घडीसम्म पनि उसले सिक्न छोड्न हुँदैन । महिला होस् या पुरुष, सबै जना आफूलाई सबै कुरामा पोख्त ठान्छन् । कसैको विपरीत विचारको खण्डन मात्र गर्न तम्सिन्छन् । कहिलेकाहीँ विपरीत विचार पनि त सही हुन सक्छ ।

यस्ता कुरा मनन गरेर धेरै कमले मात्र विचार परिवर्तन गर्छन् । म त्यही कमभित्र पर्छु । जति-जति मेरो उमेर बढ्दै छ, उति-उति आफूले नजानेका र नबुझेका कुरा धेरै भएको महसुस गर्दै छु । विपरीत विचार नै किन नहोस्, म कम्तीमा मनन भने गर्छु । केही गरी ठीक लागेमा, आइपर्ने नकारात्मक प्रतिक्रियाबारे कम सोच्छु । पहिले मधेसका लागि लेख्थेँ, अहिले लेख्दिनँ । जति-जति बुझ्दै गएँ, उति विचार परिवर्तन हुँदै गए ।

म अब महिलाको विरोध होइन, उनीहरुलाई सुझाव दिने प्रयत्न गर्नेछु । रिसाएर या कडा रुपमा लेखेर होइन, नरम भएर सम्झाउनेछु । अनि यो पनि भन्न चाहन्छु, मेरा पुराना लेखहरु पुरानो समय, पुरानो स्थिति र पुराना विचारमा आधारित थिए । अहिले आएर कतिपय लेखहरुमा म आफैं पनि सहमत हुन सक्दिनँ । विचार भनेको परिवर्तनशील हुनुपर्छ भन्ने मलाई लाग्छ ।

मैले प्राविधिक लेख लेखेको छैन, सबै वैचारिक नै हुन् । जति-जति म सिक्दै जान्छु,विचारसँगै लेख्ने तरिका पनि परिवर्तन हुँदै जान्छ ।

अन्त्यमा भन्न चाहन्छु, महिलाका कुरालाई महिलाले खण्डन गर्नुभन्दा पहिले एकचोटि विषयवस्तुलाई मनन गरौं । विरोध गर्ने होइन, सुझाव दिऔं । मूर्ख बनेर प्रतिक्रिया दिनेतिर होइन, विवेकको प्रयोग गर्नतिर लागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment