Comments Add Comment

हिंसा भड्काउने मोर्चा, गोली हान्ने सरकार, दोषी एमाले ?

एमालेले सप्तरीमा गरेको आमसभा र त्यसपछि उत्पन्न हिंसालाई लिएर देशमा, विशेषत सामाजिक सञ्जालमा दुईखाले प्रतिक्रियाहरुको दोहोरी चलिरहेको छ । एकथरीले शान्तिपूर्ण कार्यक्रममा मधेसी मोर्चाले गरेको आक्रमणको तीव्र निन्दा गरेका छन्, अर्काथरीले मधेसमा गएर एमालेले नै मधेस गएर हिंसा निम्त्याएको आरोप लगाएका छन् । यहाँ दोस्रोखाले प्रतिक्रिया जनाउनेहरुमाथि केही प्रश्न उठाउने जमर्को गरिएको छ ।

सुरुमा मधेसको जनमतको कुरा गरौं । मधेसवादी भनिने दलहरु अघिल्लो संविधानसभामा मधेसबाटै कसरी पराजित भएका थिए, सबैको स्मृतिमा ताजै छ । आफूलाई मधेसका मसिहा ठान्ने महन्त ठाकुरदेखि राजेन्द्र महतोसम्मका नेताहरु मधेसकै जनताबाट पराजित भएका थिए ।

आँकडामा हेर्दा मधेसका २० जिल्लामा एमालेले ३६ र सबै मधेसी दलहरुले कुल १२ सिट जितेका थिए । मधेसमा सबैभन्दा बढी कांग्रेसले ५० सीट जितेको थियो । अब, कुल मिलाएर ८६ सिट जित्ने कांग्रेस-एमालेलाई मधेसी जनताको वास्तविक प्रतिनिधि मान्ने कि १२ सिट जित्ने मधेसी मोर्चालाई ?

मधेसी मोर्चाले एमालेमुक्त मधेसको कुरा गरिरहेको छ । मधेसमा एमालेप्रति यति घृणा फैलाउने प्रयास भइरहेको छ कि सो पार्टी यहाँ रित्तो हुनुपर्ने हो । एमालेले गरेको सभामा चरो, मुसो कोही पनि नआउनु पर्ने हो । तर, त्यस्तो देखिएन । एमालेको कार्यक्रममा मधेसी जनताको बाक्लै उपस्थिति देखियो । यसबाट पनि प्रष्ट हुन्छ मोर्चाले चाहे बमोजिम मधेसका जनताले एउटा दलविशेषप्रति पूर्वाग्रह राख्दैनन् ।

अहिले आफूलाई मधेसको ठेकेदार झैं ठानेर मोर्चाले एमालेलाई त्यहाँ निषेध गर्न खोजेको छ । कांग्रेस र एमाओवादी खुच्यूँको मुद्रामा छन् । केही दिनअघि कांग्रेसका गृहमन्त्री विमलेन्द्र निधीले नै मधेसबाट एमालेलाई लाठो लिएर लखेट्न कार्यकर्तालाई उर्दि जारी गरेका थिए । अहिले कांग्रेस र माओवादीले दुवै पक्षलाई ‘संयमित हुन’ आग्रह गरेका छन् । तर, एमालेले कहाँनेर संयम गुमायो भन्ने प्रश्नको जवाफ दुवैसँग छैन ।

कतिपयले एमालेले यतिबेला मधेस पस्नै हुँदैन थियो भनेर पनि तर्क गरिरहेको सुनिन्छ । तर, आफ्नै देशको एउटा भूगोलका जनतामाझ जानका निम्ति के उसले ज्योतिषीलाई जोखाना हेराउनुपथ्र्यो ? के मधेसी मोर्चाबाट ‘नो अब्जेक्सन लेटर’ लिनुपथ्र्यो ?

सरकारले चुनावको घोषणा गरिसकेपछि एउटा राजनीतिक दल आफ्ना एजेन्डा बोकेर जिल्लामा जानु अत्यन्त स्वाभाविक हो । यसलाई कसरी नकारात्मक रुपमा चित्रण गर्न सकिन्छ ? कम्तिमा चुनावको माहोल खडा गरेको भनेर एमालेको अभियानलाई सबैले स्वागत गर्नुपर्ने थियो । तर, काठमाडौंमा बसेर सत्ताको तर मारिरहेका दलहरु एमालेले मधेसमा ‘मुठभेड निम्त्याउन खोजेको’ भनेर बेस्वादे खिचडी पकाइरहेका छन् ।

मेची महाकाली अभियानका क्रममा मधेसमा कुनै अपि्रय घटना नहोस भनेर एमालेले सावधानी अपनाएकै देखिन्छ । पूर्वनिर्धारित योजना अनुसार राजविराजको राजरंगशालामा गर्ने भनिएको कार्यक्रम त्यहाँ मधेसी मोर्चाले अवरोध गरेपछि कुनै टक्कर लिन नखोजिकन गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा सारिएको थियो । सम्भावित मुठभेड टार्नकै लागि उसले मोरङबाट सप्तरी आउने रुट अन्तिम समयमा परिवर्तन गरेको थियो ।

औद्योगिक क्षेत्रमा शान्तिपूर्णरुपमा नै सभा सम्पन्न भयो । तर, सभा सकिएर सबैजना फर्किरहेका बेला एकाएक अपि्रय अवस्था सिर्जना भयो । प्रहरीले गोली चलायो र चारजना मारिए । मधेसी मोर्चाको समर्थनप्राप्त सरकार र मोर्चाको जस्तै राजनीतिक दृष्टिकोण भएका गृहमन्त्री भएको बेला चार मधेसी मारिएका छन् । यहाँनेर शंका गर्ने धेरै ठाउँहरु छन् ।

चिरञ्जीवी पौडेल

अहिलेसम्म आएका खबरहरु अनुसार प्रधानमन्त्री प्रचण्डले आन्दोलनमा गोली नचलाउन आदेश दिएका थिए । त्यसो हो भने, गोली चलाउने आदेश कसले दिएको थियो ? शंकाको सुई गृहमन्त्रीतिर तेर्सिन्छ । उनले अहिलेसम्म आफूले गोली चलाउन आदेश दिएको थिइनँ भनेर कतै बोलेका छैनन् । तर, मधेसबाट प्रतिनिधत्व गर्ने गृहमन्त्री निधीले मधेसी जनतामाथि नै गोली बर्साउन चाहनुका पछाडि के नियत थियो त ? कतै गृहमन्त्री विमलेन्द्र निधीले कसैको इशारामा आसन्न निर्वाचनको माहोल विगार्न र एमालेको अभियानलाई भाँड्नका निम्ति नै गोलीकाण्ड हान्न आदेश दिएका त होइनन् ?

अर्कोतर्फ, मधेसी मोर्चा अहिले कुनै हालतमा चुनावमा जान चाहँदैन, किनकि उसलाई जित्ने कुनै आशा छैन । त्यसैले पनि अहिले निर्वाचनको माहोल उसले चाहेजसरी नै बिग्रेको हुन सक्छ । यसमा मोर्चालाई सन्तुष्टि प्राप्त भएको हुनुपर्छ ।

एमालेको गल्ती, मोर्चाको ब्ल्याकमेलिङ

मधेसी मोर्चाको माग सम्वोधन गर्न भन्दै सरकारले संविधान संशोधन विधेयक अघि सारेको छ, जुन अहिले संसदमा विचाराधीन छ । यसअघि एमालेले लामो समय उक्त विधेयकलाई अघि बढ्न दिएन, त्यो पनि निषेधको राजनीति थियो ।

अहिले एमालेले सो गल्ती सच्याएको छ र विधेयक प्रक्रियामा गएको छ । स्पष्ट छ, निर्वाचन प्रक्रियामा गइसकेपछि त्यसको परिणामलाई सबैले स्वीकार्नुपर्छ । त्यही नै प्रजातान्त्रिक विधि हो । तर, मधेसी मोर्चा भन्दै छ कि विधेयक कुनै हालतमा पारित हुनैपर्छ, नत्र आन्दोलनमा जान्छौं । अर्थात् उसलाई खेलभन्दा अगाडि नै आफ्नो पक्षमा नतिजा चाहिएको छ ।

सबै राजनीतिक दलहरुले आ-आफ्ना मूल्य मान्यतालाई तिलान्जली दिएर मोर्चाको पुच्छर समात्नु अरे । विधेयकको पक्षमा दुई तिहाई पुर्‍याइदिनै पर्नेर् अरे । राजनीतिमा योभन्दा बालहठ के हुन्छ ?

प्रजातान्त्रिक प्रक्रियामा जाउँ पनि भन्ने, तर त्यसको परिणामलाई स्वीकार्दैनौं पनि भन्ने । कस्तोखालको राजनीतिक संस्कार हो यो ?

अहिले मधेसमा भएको हिंसालाई लिएर मोर्चाले राजनीतिक ब्ल्याकमेलिङ गर्न खोजिरहेको प्रतीत हुन्छ । उसले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, यसलाई बार्गेनिङ टुल बनाइरहेको छ । संविधान संसोधनका लागि एक साताको म्याद दिएर उसले अन्यथा आन्दोलनमा जाने चेतावनी दिइरहेको छ । यो भद्दा ब्ल्याकमेलिङ नभए के हुन्छ ? तर, जबसम्म एमाले र उसका सहयात्री दलहरु आफ्नो अडानबाट पछि हट्दैनन्, तबसम्म मोर्चाको यो ब्ल्याकमेलिङ सफल हुन सक्दैन ।

पछिल्लो समय आफ्ना राष्ट्रवादी अडानहरुले गर्दा देशको एउटा ठूलो तप्कामाझ एमाले लोकपि्रय बन्दै गइरहेको सत्य हो । संविधान संसोधनका एजेन्डामा एमालेको असहमति पनि जायज छ । संसोधनको प्रमुख विषयवस्तुका रुपमा रहेको तराईको ५ नम्बर प्रदेशलाई पहाडबाट अलग गर्ने कुरा राष्ट्रिय अखण्डता विरोधी नै हो । यसले कालान्तरमा मधेसलाई नेपालबाटै अलग गर्ने मनोकांक्षालाई प्रतिबिम्बित गर्छ । यो मधेसी जनताकै लागि पनि रुचीकर छैन । मधेस र पहाडका जनता आपसमा अन्तरघुलित छन् । त्यसैले मधेसी जनता पहाडबाट अलगथलग भएर बस्न चाहँदैनन् ।

तर, मोर्चालाई तराई नफुटाई भएको छैन । उसको यो एजेन्डामा कांग्रेस र माओवादी मतियार बनिरहेका छन् । एउटाले सत्ता पाउनका लागि अर्काले सत्ता बचाउनका लागि राष्ट्रघाती एजेन्डामा सहीछाप गरेका छन् । यसमा एमालेले लिएको अडान स्वागतयोग्य छ ।

अहिले हुँदाहुँदा मधेसी मोर्चाका कार्यकर्ताले एमालेका नेता-कार्यकर्तालाई कालोमोसो दल्नेदेखि जिल्लाबाटै लखेट्नेसम्मका हर्कत गर्न थालेका छन् । पार्टी कार्यालय जलाउन थालेका छन् । यसमा चाँडै सुरक्षा निकायको ध्यान जानुपर्ने आवश्यकता छ । यसरी दलीय आस्थाका आधारमा कसैलाई निषेध गर्न खोजियो भने त्यसले भोलि यसले अर्कै रुप लिन सक्छ ।

आज मधेसमा एमालेलाई जुन व्यवहार गरिएको छ, भोलि पहाडमा र राजधानीमा मधेसी मोर्चालाई त्यस्तै व्यवहार एमालेले गर्‍यो भने को जिम्मेवार हुने ? यसमा सबैले गम्भीर हुन जरुरी छ ।

(यो लेखकको निजी विचार हो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment