Comments Add Comment

हस्तिनापुर, धृतराष्ट्र र रवीन्द्र मिश्र

महाभारत कथाको महत्वपूर्ण खण्डको पात्र हुन्, राजा धृतराष्ट्र र नीतिवाचक सञ्जय । पाण्डव र कौरव पक्षबीच कुरुक्षेत्रमा युद्ध हुँदै थियो, यता दिव्यदृष्टि प्राप्त गरेका सञ्जयले हस्तिनापुर दरबारमा दृष्टिविहीन राजालाई युद्धको बयान गर्दै थिए ।

कुरुक्षेत्रको सविस्तार चर्चा गर्दागर्दै सञ्जय नीतिज्ञ कहलिए । आध्यात्मिक वा काल्पनिक कथा नै भए पनि धृतराष्ट्र र सञ्जय हस्तिनापुर नामक त्यसबेलाको समाजका सदस्य थिए । धृतराष्ट्र दृष्टिविहीन हुँदैनथे भने सम्भवतः सञ्जय पनि नीतिवाचक कहलिँदैनथे ।

हाम्रो समाजको विशेषता पनि ठ्याक्कै त्यस्तै छ । धृतराष्ट्र जस्ता पात्रका कारण यहाँ सञ्जयहरुको उदय भएको छ ।

नेपाली समाजमा दलीय राजनीतिप्रतिको छिपछिपे असन्तोष प्रकट हुादै गर्दा रवीन्द्र मिश्रले बीबीसी जस्तो विश्वविख्यात सञ्चार गृहको प्लेटर्फम पाएका थिए । अहिले दलीय राजनीतिप्रति आम नागरिकको असन्तोष जमेको बेला उनी बीबीसी छाडेर राजनीतिमा होमिएका छन् । त्यसरी जब्बर रुपमा जमेको असन्तोषलाई पगाल्न ठूलै मिहिनेत गर्नुपर्छ ।

मिश्र एक्लैको प्रयासले यो सम्भव पनि देखिँदैन । यो स्थितिमा मिश्रको दृष्टिकोणलाई स्पष्ट बुझिदिने समूहको निर्माण कसरी हुन्छ, सबैको चासो यसैमा केन्द्रित छ ।

समाज यही हो, सामाजिक विशेषता उनै हुन् । राजनीति यतिविघ्न ‘दृष्टिविहीन’ हुँदैनथ्यो भने रवीन्द्र मिश्र जस्तो सम्मानित सञ्चारकर्मीलाई सम्भवतः राजनीतिक मैदान त्यति प्यारो नलाग्न सक्थ्यो ।

तीनपुस्ते राजनीतिसँग नगाँसिएको पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा हामफाल्न ठूलै चुनौती मोल्नुपर्छ । त्यहाँ पुगेपछि एकपछि अर्को चुनौतीका पहाड पल्टाउनुपर्छ । दृष्टिविहीन राजनीतिलाई दृष्टि दिनु उनको पहिलो कर्त्तव्य हुनेछ ।

राजु पौडेल

मिश्रले श्रुतिमधुर भाषा हुँदाहुँदै पनि बीबीसीको २२ वर्षे यात्रामा नेपालको भविष्यलाई राम्रै असर पार्ने अन्तरसम्वाद कहिल्यै पस्किन पाएनन् । उनको बीबीसी प्रवेशसँगै मुलुकले सशस्त्र द्वन्द्व खेप्यो । स्वरले मात्र नपुगेर ‘भूमध्यरेखा’ बाट शाब्दिक निशाना निरन्तर सोझ्याइरहे ।

मुलुकमा भएका राजनीतिक परिवर्तनहरुबाट सायद आम नागरिक जति आजित छन्, त्यो भन्दा बढी उनी आजित बने । सञ्चारकर्मी हुनुका नाताले शक्ति केन्द्रसँगको सजिलो पहुँचले सायद हामी आम नागरिकले भन्दा बढ्ता उनले राजनीतिलाई बुझेको हुनुपर्छ ।

आज मुलुकको राजनीति निकै हेपिएको अवस्थामा छ । तर, भष्टाचारजन्य कसुरले मात्र राजनीति हेपिएको होइन । । आज गरेको निर्णयको असर भोलि के हुन्छ भनेर विचार पुर्‍याउन सक्ने दूरदर्शी नेतृत्वको अभावमा राजनीति बढ्ता हेपिएको हो । एउटा स्वाधीन देशको लागि दृष्टिविहीन राजनीति देशव्यापी नीतिगत भ्रष्टाचारभन्दा ठूलो अभिशाप हो ।

विदेशी विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर मिश्र यस्ता मुद्दामा पारङ्गत होलान् । सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्न सके भने सञ्चारगृहमा उनले बटुलेको सफल अनुभव राजनीतिमा पनि प्रभावकारी हुन सक्छ ।

गैरराजनीतिक व्यक्तिले राजनीति गर्न सक्छ ?

अहिलेको समाजले राजनीति अरु केही होइन, निर्णय प्रक्रिया मात्र हो भन्छ । अहिलेको युग भनेकै जोड्ने वा एकीकृत गर्ने युग हो । मुलुकको सिमानाभित्र रहेका आर्थिक, प्रशासनिक, न्यायिक, भौगोलिक, प्राकृतिक र मानवनिर्मित संरचना र तिनै संरचनामा निर्भर जनसंख्यालाई राज्य भनिन्छ । राजनीतिक निर्णयले यिनै संरचनालाई सबैको सहभागितामा जोड्ने काम गर्छ ।

हाम्रो राजनीतिप्रतिको परम्परागत सोच बडो गजबको छ । हामी पुख्र्यौली राजनीतिक पृष्ठभूमि भएको, जेलनेल भोगेको, लबेदा-सलवारमा सजिएको, सके जनताले चुनेको नभए पनि समाजले मानेको मान्छेले गर्ने निर्णयलाई राजनीति भन्छौं । राजनीति आफैंमा चरित्र हो, जुन स्वभावतः सामाजिक सेवा भावले भरिएको हुनुपर्छ ।

यहाँ खाँटी राजनीतिज्ञ भनिएकाहरुले पनि समयानुकूल समाजिक एवम् राष्ट्रिय उत्तरदायित्व वहन गर्न सकेनन् । फलस्वरुप राजनीतिप्रति आम नागरिकको मोह भङ्ग हुँदै गयो । एउटा सञ्चारकर्मीको राजनीतिक उदयको यति धेरै चर्चा हुनु यसैको परिणाम हो ।

नागरिकले अचेल कुनै आस्था वा दल विशेषको प्रतिनिधिलाई उति सारो रुचाउन छाडेका छन् । किनकि, आजको समयमा विचारको राजनीति निकै पुरानो अर्थात् शास्त्रीय राजनीति हो । समयले राजनीतिबाट अरु धेरै आश गर्नुपर्ने अवस्थामा मानिसलाई ल्याइपुर्‍याएको छ । यो समयको बाध्यता हो । नागरिकको यो बाध्यतामा राजनीतिले सहजीकरणको भूमिका खेलिदिने मात्र हो । आर्थिक उपार्जनका स्रोत नागरिकलाई देखाइदिने हो ।

यस्तो प्रकृतिको राजनीतिलाई अहिले विश्वले ‘अर्थराजनीति मोडल’ को रुपमा अवलम्बन गरिसकेको छ । त्यो मागलाई सम्बोधन गर्न सक्ने दृष्टिकोणयुक्त राजनीतिक वा गैरराजनीतिक कुनै पनि व्यक्तिले अहिले बढ्ता राजनीतिक सहानुभूति बटुल्ने अवस्था छ । स्थानीय तहको निर्वाचनमा भाग लिनबाट वञ्चित हुनेगरी भर्खरै मिश्र नेतृत्वमा घोषणा भएको साझा पार्टीले आफूलाई परीक्षण गर्ने मौका गुमाएको छ ।

भूराजनीतिक जटिलता

अनुभवी हौं भन्ने राजनीतिकर्मीहरुले गैरराजनीतिक क्षेत्रका मान्छेले सतहको आक्रोश मात्र बुझेका हुन्छन्, भूराजनीतिक जटिलता बुझ्दैनन् भन्ने आरोप लगाउँछन् । यो आरोपमा सत्यता छ । नेपालमा भूराजनीतिक जटिलता आजको समस्या होइन । तानातानको राजनीति यहाँ संस्थागत भएको छ ।

शक्तिकेन्द्रहरुको स्वार्थमा गरिने राजनीति छोटो समयको सुरक्षित अवतरणका लागि बढ्ता सुरक्षित मानिन्छ, जुन राजनीतिले मुलुकको दीर्घकालीन हित गर्दैन । फलतः धेरै राजनीतिक पात्रहरुको उत्थान र पतन पनि शीघ्र राजनीतिक परिवर्तन सँगसँगै बढ्दै गएको छ । यो जटिलता पार लगाउनु गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई मुश्किल हुन सक्छ ।

नागरिक असन्तोषका विविध आवाजलाई टिपेर उच्च राजनीतिक नेतृत्वलाई यक्ष प्रश्न तेर्स्याउने रवीन्द्र मित्र श्रोताका हाईहाई पात्र हुन् । उनको राजनीतिक उदयसागै आम नागरिकको ध्यान तानिएको छ । उनको पार्टीको नाम मात्र साझा होइन, उनी अब सबैका साझा हुन् ।

सबैलाई ‘खान पुगोस् दिन पुगोस्’ नारा देख्ने बित्तिकै उनै मिश्रको बीबीसी-स्वर कानमा गुञ्जिन्छ । उनलाई नसुन्ने पनि धेरै होलान् । उनले सजिलो बाटो हिाडेर राजनीतिको अप्ठ्यारो ढोका उघारेका छन् । उनको राजनीतिक मैदान पनि हस्तिनापुरको सञ्जयको जस्तो होस्, जसले धृतराष्ट्रलाई महाभारत कथाको बेलिविस्तार लगाएर उनलाई साक्षात् कुरुक्षेत्रको दृश्य हेरे झैं सन्तुष्ट तुल्याए ।

मिश्र र उनको नवघोषित पार्टीले दृष्टिविहीन दलीय नेपाली राजनीतिलाई जवाफदेही बनाएर लोककल्याणकारी मार्गमा ल्याउन सकोस् । यो लोकको कामना हो । प्रायः लुरुक्क दोब्रिएर जवाफ फर्काउनुपर्ने खालका गाह्रा प्रश्न सोध्ने रवीन्द्रलाई अब त्यस्तै प्रश्न अर्को कसैले सोध्नु नपरोस् । यो मेरो कामना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment