Comments Add Comment

सप्तरी घटनाः एमाले जेठो, मधेसी मोर्चा कान्छो !

 जेठो दाइले अब त चेत्ने कि ?

जर्मनीमा नाजीहरु सबैभन्दा पहिले कम्युनिष्टहरुलाई लिन आए

त्यतिखेर मैले केही बोलिनँ,

किनकि म कम्युनिष्ट थिइनँ ।

त्यसपछि उनीहरु यहुदीलाई लिन आए,

त्यतिखेर पनि म केही बोलिनँ, किनकी म यहुदी थिइनँ ।

त्यसपछि उनीहरु मजदुर सगंठनका लागि आए,

त्यतिखेर पनि म केही बोलिनँ,

किनकि म मजदुर कार्यकर्ता थिइनँ ।

त्यसपछि उनीहरु क्याथोलिकलाई लिन आए

र पनि म केही बोलिनँ,

किनकि म प्रोटेस्टेन्ट थिए ।

त्यसपछि त उनीहरु मलाई नै लिन आए,

त्यतिखेरसम्म कोही पनि बाकीँ थिएनन्

जसले कसैका लागि बोल्न सक्छ ।”

 सन् १८९२ जनवरी १४ मा जन्मेर सन् १९६१ देखि सन १९६८सम्म वर्ल्ड काउन्सिल अफ चर्चका सभापति रहेका पादरी मार्टिन निमोलरले लेखेको कविता हो यो । उनले आजभन्दा करिब आधा शताब्दी अघि यो कविता मार्फत जर्मनीको अवस्थालाई चित्रण गरेका थिए।

आज नेपालको वर्तमान अवस्थालाई नियाल्ने हो भने हामी यस्तै आधा शताब्दी अघिकै जर्मनी जस्तै छौं।यसो हुनुको प्रमुख कारण जुनसुकै कुरामा पनि राजनीतिले ठाँउ  पाउनु नै हो। हामीले हाम्रो देशमा राजनीतिलाई यस्तै नै बनाएका छौं। अझै पनि हाम्रो राजनैतिक प्रवृति यस्तै नै छ। हामीले विश्व हल्लाउने गरेर ठुला ठुला आन्दोलनहरु गरेर वर्तमान अवस्थामा आईपुग्दा शासक वर्गहरू उही पहिलेकै जस्तै भन्दा पनि खराब हुँदै गरेका कारण जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन। बरू झन देशमा दण्डहीनताको संस्कृतिले नराम्रोसँग जरा गाडदै गहिरहेको छ ।

अहिले नेपालमा दण्डहीनता र गलत राजनीतिक संस्कारको परिणाम सप्तरी घटना घटेको छ । फेरि पनि राजनीतिका नाममा बसन्त ऋतुको आगमनमा  आत्मीयता एवम् सद्भाव साटासाट गरेर मनाइने महान पर्व होलीको पूर्वसन्ध्यामा रगतको होली खेलिएको छ।  फेरि नेपालको राजनीतिमा रगतको दाग टाँसिएको छ।फेरि राजनैतिक स्वार्थका लागि सोझा जनतालाई एक अर्कामा  भिडाएर रगतको होली खेल्न थालिएको छ। फेरि जनता मारिएका छन्।

जतिपटक सत्ता बदलियोस्, न त पीडित जनताले न्याय पाएका छन्, न त सत्ताका लागि जनताको रगतको होली खेल्नेहरूले सजायँ पाउँछन्। सायद, यसैले नेपालका नागरिक सधैँ नै फोहोरी राजनीतिको शिकार हुने गरेका छन् । सप्तरी घटना यही शृंखलाको एउटा परिणाम हो ।

 अहिले नेपालमा राष्ट्रिय र क्षेत्रीय दलबीच निषेधको राजनीति चलेको छ। एउटा ७० बर्ष अघि जन्मेको पार्टी एमाले  र अर्कों ५ देखि १० बर्षको इतिहास वनाएका मधेसका पार्टीहरू।एउटा जेठो दाइ र अर्को कान्छो भाइ । वास्तवमा कान्छो छोरो उद्द्ण्ड भयो भने जेठो सुझबुझसहित संयमित हुनुपर्छ। तर, उ बाठो हुँ भन्छ। वास्तवमा निषेधको राजनीतिको शुरूवातकर्ता नै उही हो ।

वि.सं २०७२ मंसिर ११ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले  सुनसरीको इटहरीमा आयोजना गरेको सभा स्थानीय वासिन्दाको भेषमा युवासंघ मार्फत बिथोल्न लगाउने उही जेठो हो । फेरि अहिले त्यसैको बदलास्वरूप जेठोको सभा कान्छाहरुद्वारा  बिथोलिएको छ।फेरि यहाँ यी दुईभाइहरू बीच अंहकार र घमण्ड सृजना भएको देखिन्छ। सप्तरीको हिंसा र मानवीय क्षति कुनै पनि हालतमा आकस्मिक होइन र मान्नु पनि हुँदैन । पूर्वानुमान थियो नै, जेठोको मेचीमहाकाली अभियानले मधेसमा तनाव बढाउँछ र तनावले हिंसाको रुप लिन्छ ।

यति जान्दा जान्दै पनि न जेठो,  न कान्छो नै गंभीर देखिए।एउटाले कार्यक्रम कुनै पनि हालतमा जसरी पनि गर्न लागि प्रतिष्ठाको विषय  ठान्छ, अर्को अवरोध गर्न प्रतिष्ठाको विषय ठान्छ । वास्तवमा यी दुई वालहठले  सप्तरीमा हिंसाको रुप लिएको छ र अनाहकमा ४ जना नेपाली नागरिकले ज्यान गुमाउनुपर्यो । आज जुन अराजक अवस्था पैदा भएको छ, त्यसको मुख्य असली हकदार जेठो नै हो । कान्छो पनि यसमा अछुत चाहिँ छैन।द्वन्दको सृजना हुने कुरा थाहा हुँदाहुँदै कुनै पनि हालतमा  आफ्नो शक्ति प्रदर्शन  नरोक्दा उसको कमजोरी देखिएको छ।

राजनैतिक पाटीहरूले जहाँ पनि सभा सम्मेलनहरू गर्न पाउनु उसको अधिकार हो।वास्तवमा त्यो वेलामा नआएको गणतान्त्रिक  अधिकारको याद यो वेलामा मात्र आउनु हेयभाव हो। फेरि पुरानो कुराको बदलाभावमा राजनीतिक गतिविधि गर्न निषेध गर्ने मधेश केन्द्रित पार्टीको प्रवृत्ति अतिवादी प्रवृति हो। मान्छेको मरणलाई आँप झरेको संज्ञा दिइनु, वर्ण र रंगलाई राष्ट्रवादसँग जोडेर कर्कस र कटु शब्दले ब्यंग्य प्रहार गरिनु जस्ता क्रियाकलाप राजनैतिक व्यवहार हुन सक्दैनन्। युपी र बिहार समथर छ भन्दैमा त्यो पनि तराई मधेसमै ल्याउने ? यो मानवसाङ्लो होइन, माखेसाङ्लो हो । भन्दै मधेसमा बस्ने नेपाली जनताहरूलाई बिहारीको आँखाले हेर्ने र उनीहरूको  कुरा सुन्नै नचाहने प्रवृति  भएको जेठादाइ, जसले सार्वभौम संसदमा संविधान संशोधनको प्रस्तावलाई छलफल नै  गर्नै नदिइकन निषेधको राजनीति गरिरहेका छन् । योबलामा संविधान संशोधनको प्रस्तावलाई छलफल नै नगरिकन देश दौडाहा गर्नु वास्तवमा हलो रोकेर गोरू चुटनु जस्तै हो।

यता कान्छो भाइ फेरि पहाडिया समूदायप्रति खराब सोच राख्छन्।अंक गणितीय हिसाबलाई पनि आत्मसम्मान नगरिकन खाली सडक नै रोज्नु पनि उसको खोट देखिन्छ।

कतै यस्ता सोचहरूले खतरनाक अतिवाद सृजना हुने त हैन भन्ने प्रश्नहरु उठेका छन् । हिजोका शासकहरू जो एक ठाँउका मान्छेहरूलाई जम्मा गरेर अर्कों ठाँउमा शक्ति प्रदर्शन गर्दै हिँड्ने थिए, त्यसैगरी यसपटक त्यही असफल बाटोमा  नयाँ तरिकाले मधेसीको पहिरनको नाट्यभावमा गाडीको लामलस्कर लगाउँदै मेची-महाकाली अभियानका नाममा  भिड देखाउने काम भइरहेको छ जेठादाइबाट ।

चुनाव आउँदै गरेका बेलामा के यो भिड मधेसीको कुरो सुन्न झरेकै हो त ? या धम्की दिन, तर्साउन र शक्ति देखाउन झरेको हो ? प्रश्नहरु उठेका छन् । अहिले नेपाली राजनीतिमा राष्ट्रवाद र राष्ट्रघात शब्दहरू हिट भएका छन्। जेठो दाइ एमाले आफुलाई आफैंले राष्ट्रवादी ठान्छ। र उ अरूलाई राष्ट्रघाती देख्छ।

आज भन्दा २० बर्ष अघि देश झिलिमिली हुन्छ भन्दै महाकाली नदी खाएर डकारिसकेको हो  जेठोदाइ एमाले। यी दाइका प्राय:खलकहरू जो  छिमेकीको निगाहमा डाक्टर, ईन्जिनियरसीका कोटाहरू खाईसकेका छन्, दिउँसो छिमेकीलाई धारे हात लगाउने र बेलुका भएपछि दुतहरूसँग डिनर लिनेहरू हुन् । उनीहरू कसरी राष्ट्रवादी भए।

छिमेकीका हिजो आज्ञापालकहरू यनी जेठा दाइ थिए, आज कान्छो भाइ भएका छन्।हिजो छिमेकीले नाकाबन्दी लगायो। कान्छा भाइहरूले थपडी बजाए। तस्करहरूले देश चलाए।बस यत्तिकैमा जेठा दाइ राष्ट्रवादी भए।

वास्तवमा यहाँ राष्ट्रवादी कोही छैनन ? राष्ट्रवादी हुन त  देश र जनताको हितमा काम गर्नु पर्छ।अहिले त अतिवाद देखिँदै छ।सिके राउत प्रवृतिले टाउको ठडाउन खोज्दैछ।अहिले पर्दामा देखिएका जेठा र कान्छा भाक्षहरू सिके राउत प्रवृतिप्रति चुपचाप मौन लक्षणम छन्। यस्तो अतिवादले देश जातीय हिंसामा जाकिने खतरा देखिँदैछ । अहिलेको सप्तरी घटनाले आगोमा घ्यू थप्ने काम गरेको छ । अहिलेको गतिविधिले एउटाको काँधमा बन्धुक राखेर जनता मार्ने र त्यसको दोष अर्कोलाई थुपार्नेहरूको  चाहनाहरूलाई झन सहयोग गरेको देखिन्छ।

देशभित्र अशान्ति मच्चाएर अस्थिर र कमजोर बनाउँदै यसबाट फाइदा  लिन खोज्ने देशी बिदेशी शक्तिकेन्द्रहरुलार्इ यसले फाइदा पुग्ने देखिन्छ ।

अहिले नेपालको राजनीतिमा देखिएको घृणाभाव, बदलाभाव, हेयभाव, अघोरीभाव,अहंभाव, दयाभाव र नाट्यभाव समस्याको समाधान होइन । अहिले आगो बलेको छ। यो बेलामा निभाउने पानी बनौं। प्रतिशोध लिएर आगो नबनौं।

वास्तवमा जेठो दाइले अहिले तत्काल सम्भव भएका राजनीतिक मागहरु सम्बोधन गर्ने र संविधान कार्यन्वयनका लागि सबे दल एकजुट भएर अगाडि बढ्ने परिस्थिति निर्माणमा   भूमिका खेल्नुपर्छ । यति नगरिकन हठहरु त्यागिएनन् सडकबाटै समाधान खोज्नु अर्कों  ख़तरनाक राजनीतिक भूल हुनेछ।यस घटनाले सबैलाई फेरि असफल  बनाएको छ। सरकार पनि चुकेको छ।सरकारको नैतिकतामा प्रश्न चिन्हखडा भएको छ ।सरकारले अहिले यसबाट पाठ सिकेन भने  फेरि दुर्घटना निम्तने छ।

नत्र अहिलेको अवस्था कवि  कार्ल स्याण्डबर्गले लेखेको कविता  फौजी परेड देखेपछि सानी केटी जस्तैमा बदलिने छ।जुन कविता यस्तो छ

सानी केटीले पहिलो पटक

फौजीहरूले कवाज खेलेको देख्छिन्

र, सोध्छिन्- ती को हुन् ?’

सिपाहीहरू

तिनीहरूले के गर्छन् ?’

तिनीहरू युद्ध गर्छन् ।

उनीहरू लड्छन्

र, एक पक्षले अर्को पक्षका सकेसम्म धेरै सिपाहीलाई मार्ने कोशिश गर्दछन् ।

सानी केटी मौन  हुन्छिन्

र, अनि  केहीबेर हिसाब गरेपछि भन्छिन्,

तपाईलाई थाहा छ ? मैले एउटा कुरा थाहा पाएँ ।

भन न, के थाहा पायौ ?’

यदि उनीहरूले युद्ध लडे भने

कोही पनि फर्केर आउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment