Comments Add Comment

गोविन्दलाई सलाम ! अशोक राई र उपेन्द्रहरुलाई प्रश्न

महाकालीमा खुकुरी बोक्नेदेखि दूताबासको वक्तव्य बाच्नेेसम्म

कञ्चनपुरमा गोविन्द गौतमको शाहदातले उनलाई जन्म दिने बुबाआमा मात्र होइन, समस्त राष्ट्रवादी नेपालीहरु शोकाकुल छन् । अब गोविन्द सिङ्गै नेपाल आमाका छोरा भएका छन् । उनको शाहदातबाट नेपाली राष्ट्रियताको आन्दोलनले अझ मजबुद, कठोर अनि निर्दयी हुने संकल्प र शिक्षा ग्रहण गर्न सक्नुपर्दछ ।

गोविन्द, तिमी सदा-सदा अमर रहनेछौ र रहनुपर्दछ । र, तिम्रो अमरत्वको गौरवगाथा हामी जीवित नेपालीले सदासदा गरिरहने छौं ।

तर, अशोक राईहरु

गोविन्द गौतमले देशको सीमा सुरक्षार्थ शाहादात प्राप्त गरेर सिंगै देश शोकाकुल र आक्रोशित भइरहेको बखतमा भारतीय राजदुतावास एसएसबीले गोली नचलाएको विज्ञप्ति निकालिरहेको थियो । र, त्यो विज्ञप्ति नेपालको सार्वभौम संसदमा वाचन गरिरहेका थिए । मानौं उनी अघोषित होइन, घोषित रुपमै दूताबासका प्रवक्ता हुन् ।

संसदमा अशोक भन्दै थिए ‘भारतीय दस्तावासले विज्ञप्ति निकालेर होइन भनेपछि यो घटना रहस्मय भएको छ, सत्यतथ्य पत्ता लगाउनुपर्‍यो ।’

अशोक राईको यो भनाइमा स्पष्ट देखिन्थ्यो कि उनी हजाराैं स्थानीय प्रत्यक्षदर्शी नेपाली जनताका अगाडि मारिएका गोविन्द गौतमको हत्या भारतले गरेको प्रति आशंका व्यक्त गरेर नेपालीहरुको मानमर्दन गरिरहेका छन् र लैनचौरका भारतीय दुतावासका कर्मचारीको वक्तव्यलाई सगौरव नेपालको संसदमा प्रवेश गराइरहेका छन् । र, उनी त्यसलाई आधिकारिक मानिरहेका छन् । मानौं त्यो लैनचौरको वक्तव्य ढुंगामा लेखिएको अक्षर थियो अशोक राईहरुका लागि ।

याद राखाैं, अशोक राईले त्यो बोलिरहँदा उनी संसदको निर्धारित कार्यसूुचिमा बोल्ने दलीय भागवण्डाबमोजिम मधेेसी मोर्चाको प्रतिनिधित्व गरेर बोलिरहेका थिए । त्यतिबेला मजस्ता धेरै नेपाली नागरिकहरु सोच्न बाध्य भयौं, के उनी तिनै अशोक राई हुन्, जो कलिलो उमेरमा राष्ट्रियता र जनतन्त्रका लागि मर्न र मार्न तयार भएर सशस्त्र युद्धको बाटोमा भूभिगत भएका थिए ?

धरानको हात्तिसार क्याम्पसबाट तत्कालीन नेकपा मालेको राजनीतिमा होमिएका अशोक राई विदेशी छात्रवृत्ति परित्याग गरेर राष्ट्रियता र जनतन्त्रका लागि बन्दूक बोक्ने कार्यनीति भएको तत्कालीन मालेमा आवद्ध भएका थिए । र, उनका साथमा थिइन्- रत्नकुमार वान्तवाको हत्या हुँदा वालवाल शाहादात हुनबाट जोगिएकी संर्षशील महिला नेतृ सुशीला श्रेष्ठ, धर्मपत्नीका रुपमा । राई र श्रेष्ठको यो जोडीको गौरवगाथा सुनेर मूलतः नेपालको पूर्वी भागमा धेरै युृवा युवतीहरु कठोर राजनीतिक यात्रामा लामवद्ध भएका थिए ।

मैले सर्वप्रथम ०४३ सालमा धरानमा भुमिगत अवस्थामा भेट्दा क. नीलकण्ठको भूमिगत नामले परिचित यी अशोक राई मजस्ता हजाराैं युवाहरुका लागि आस्था र श्रद्धाका पात्र थिए । जब उनी सांसद र मन्त्री भए, उनीप्रतिको क्रेेज त्यतिबेला सम्म बाँकी नै थियो ।

म ती सहासी महिला नेतृ सुशीला श्रेष्ठलाई पनि सम्झिरहेको छु, रत्नकुमार वान्तवाको वलिदानी र आजका अशोक राईको भूमिकाप्रति तपाई साँच्चै सन्तुष्ट हुनुहुन्छ ?

त्यसो त कथित राष्ट्रियताकै लागि अशोक राई महाकाली सन्धीको निहुँ बनाएर तत्कालीन नेकपा एमालेबाट माले बनाउन लागि परे । त्यसबखत महाकालीमा नांगो खुकुरी बोकेर सैयौं युवाहरुलाई भारतका विरुद्धमा र राष्ट्रियताको पक्षमा लड्न तयार रहन फर्मान जारी गर्ने मध्येका एक यिनै अशोक राई थिए ।

तर, आज तिनै अशोक राईहरु गोविन्द गौतमको हत्याप्रति आशंका व्यक्त गर्छन् र भारतीय दूतावासको वक्तव्य पढेर नेपालको सार्वभौम संसदसमक्ष गोविन्द गौतमको शाहदातलाई अवमूल्यन गर्छन् । अनि मधेसी मोर्चाको प्रतिनिधि बनेर भारतीय पक्षको खल्लमखुल्ला वकालत गर्छन् । अनि, प्रश्नहरु उठ्छन्- साँच्चै उनी त्यही अशोक राई हुन र ?

यसबखत म ती सहासी महिला नेतृ सुशीला श्रेष्ठलाई पनि सम्झिरहेको छु । भन्न मिल्दैन होला, सार्वजनिक रुपमा क. सुशीला, श्रेष्ठ तपाई आफैलाई आज कस्तो अनुभूति भइरहेको छ ? रत्नकुमार वान्तवाको वलिदानी र आजका अशोक राईको भूमिकाप्रति तपाई साँच्चै सन्तुष्ट हुनुहुन्छ ? हिजो तपाई हामीले सँगै गाएको अर्को एउटा गीतको याद आयो मलाई

“यात्रा हाम्रो जिन्दगी हो, वर्षौं वर्षसम्म

लडिरहन्छाैं नपुगुञ्जेल आफ्नो लक्ष्यसम्म “

हिजो तपाई-हामीले सँगै गाएको यो गीतले भनेजस्तै अशोक राईहरुको यात्राको गन्तव्य यही थियो ?

जरुरी छैन, तपाई कुनै दलमा रहनैपर्छ । तर, राष्ट्रियताको विरुद्धमा र पराधीनताको पक्षमा जब तपाईहरु देखा पर्नुहुन्छ, तब हामीलाई निसन्देहः यो प्रश्न गर्ने हक छ कि तपाईको यात्राको गन्तब्य मधेसी मोर्चाको प्रतिनिधित्व र भारतीय स्वार्थको पक्षपोषणसम्मका लागि मात्रै नै थियो ?

उपेन्द्र यादव र महन्त ठाकुरहरु

सप्तरीमा जे भयो, दुःखद र नहुनु पर्ने घटना भयो । मृतकको टाउकोमै गोली लागेर मृत्यु भएको घटनाले शक्तिको अत्यधिक प्रयोग भएको देखिन्छ । त्यसमा संलग्न सुरक्षाकर्मीलाई कानूनबमोजिम सजायँको भागिदार बनाउनैपर्दछ । तर, लाख तर्क गरे पनि त्यहाँ शुरु गरिएको निषेधको राजनीतिलाई सामान्य चेत भएको कुनै पनि नेपाली नागरिकले पुष्ट्याइँ गर्न सक्दैन ।

निहत्था गोविन्द गौतम भारतीय सुरक्षाफौजबाट हत्या गरिएको घटनाप्रति मोर्चाका तपाई नेताहरुको आधिकारिक धारणा के हो ? आज यो प्रश्न तराई, पहाड र हिमाल सर्वत्र उठेको छ । यसमा तपाईहरुको मौनताको रहस्य के हो ? देशको अस्मिता लुटिदाँ, सीमा अतिक्रमण हुदाँ, नेपाली नागरिकमाथि विदेशी शक्तिबाट निर्ममतापूर्वक हत्या हुदाँ तपाईहरुको मुख किन खुल्दैन ? यो प्रश्न जवरजस्त उठ्छ ।

संविधानप्रतिको तपाईहरुको राजनीतिक मान्यतामा कसैको विरोध र कसैको सर्मथन होला, यो विल्कुल राजनीतिक प्रश्न हो । तर, जब सवाल उठ्छ राष्ट्रिय अस्मिता र सार्वभौम सत्ताको, त्यसबखत पनि तपाईहरु मौन रहनुभयो यसको रहस्य के हो ? तराई मधेसको सीमा सुरक्षा गरेर बसेका तमाम मधेसी देशभक्त हरेक नेपालीको मनमा आज यो प्रश्न उब्जेको छ ।

आफूलाई मधेसवादी भन्ने राजनीतिक दलका नेताहरुको राष्ट्रियतासम्वन्धी धारणा के हो ? तराई मधेसका तमाम प्राध्यापक, इञ्जिनियर, डाक्टर वकिल अनि अन्य पेशा व्यवसायका वौद्धिक व्यक्तित्वहरु ! तपाईहरुले मुख खोल्ने बेला भएको छ । संविधानप्रतिको असन्तुष्टि अब राष्ट्रियता, सार्वभौमिकता र लोकतन्त्रसँग साट्न सकिँदैन र साटनुहँुदैन । साट्न गरिएका तमाम परिपञ्च र हत्कण्डाहरुलाई निस्क्रिय  र निस्तेज बनाउनुपर्दछ ।

फेरि पनि एउटा गीतको बोल- ‘रहन्छौं हामी नेपाली कहाँ ? जब नेपाललै नरहे ।’

मधेसवादी दलहरुको बहुदलीय व्यवस्था र शान्तिपूर्ण प्रतिस्पर्धाप्रतिको निष्ठामा पनि आज प्रश्न उठ्न थालेको छ । मधेसवादी दलका प्रायः सबै शीर्ष नेताहरु र अधिकांश कार्यकर्ताहरु समेत बहुदलीय राजनीतिक व्यवस्थाका लागि लामो र त्यागपूर्ण संघर्ष गरेका व्यक्तित्वहरु हुनुहुन्छ । तर, राजविराज घटना पश्चात तपाईहरुको गौरवपूर्ण त्यो अतीतमा प्रश्नहरु उठ्न थालेका छन् ।

दुई महिना अघिदेखि एउटा दलले घोषणा गरेको शान्तिपूर्ण पदयात्रालाई गौरवपूर्ण घोषणाका साथ बिथोल्न भएभरको जुक्ति र शक्ति लगाउने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र अनिल झाहरुलाई हामी सबै नेपालीको एउटै प्रश्न छ- तपाईहरु कस्तो राजनीतिक संस्कारको विकास गर्न खोज्दै हुनुहुन्छ ?

यो संविधानको सपथ खाएर नेपाली जनताको रगत पसिनाबाट आर्जित राष्ट्रिय ढिकुटीको सेवासुविधा लिएर, कसैको पक्षमा र कसैको विपक्षमा संसदमा मतदान गरेर शान्तिपूर्ण आन्दोलन बिथोल्ने र निर्दोष जनतालाई भड्काएर मृत्युवरण हुन वाध्य गर्ने यो शैलीले तपाईहरु कस्तो नेपालको निर्माण गर्न चाहानुहुन्छ ?

टीकाराम भट्टरार्इ

तपाईहरुको नारा र कार्यक्रम जनअनुमोदित भयो भने तपाईले कल्पना गरेको नेपाल कस्तो हुन्छ ? तपाईहरुले शुरु गरेको निषेधको यो राजनीति तपाईहरुका विरुद्धमा तराई मधेसका ८ जिल्ला बाहेक अन्यत्र फैलियो भने कल्पना गर्नुहोस् स्थिति के होला ? तर, त्यस्तो कदापि हुँदैन र हुन दिनुहुँदैन ।

करौडाैं नेपालीको एउटै आकांक्षा हो, दुई नम्वर प्रदेशका ८ जिल्ला र बाँकी ६७ जिल्लामा बस्ने हामी सबै नेपाली हौं । हरेक नेपालीलाई आफ्नो आस्था र विचारका आधारमा मुलुकका हरेक ठाउँमा शान्तिपूर्ण आन्दोलन गर्ने हक यही संविधानले सुरक्षित गरेको छ । तपाईहरुको विचारमा एमाले मधेस विरोधी, राष्ट्रियता विरोधी, नश्लवादी जे पनि हुन सक्छ, र त्यो मत लिएर तपाईहरु जनतासमक्ष ताप्लेजुङदेखि जुम्लासम्म जान सक्नु हुन्छ । तर, मधेसवादी दलका विरुद्धमा एमाले वा अरु कुनै दल तराई मधेसमा जान किन नपाउने ? यो प्रश्नको सिधा जवाफ आज हरेक नेपाली जनताले चाहेका छन् ।

निषेध र प्रतिशोधको राजनीतिले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र अनि संघीयता सबै धरापमा पर्छन् । तर, हामीलाई विश्वास छ, तपाईहरुको चाहाना यी सबै उपलब्धीहरु धरापमा पार्ने पक्कै पनि होइन होला ।

गोविन्द गौतमलाई कोटी सलाम !

 

“रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो
जीउँदो रगत सरी यो बल्दो छ सान हाम्रो
यो जन्मँदै जगतमा कयाैं प्रहार आए
साम्राज्य दुई हारे, हारेन शान हाम्रो “

यो कालजयी राष्ट्रिय गीतको बोलले धेरै नेपालीहरुको मनमस्तिस्कमा रगत उमालिदिन्छ । कञ्चनपुरमा गोविन्द गौतमको हत्याले फेरि एकपटक देशभक्त नेपालीहरुको रगत तातेको छ ।

जब आफ्नै स्वविवेकमा आफ्नो मातृभुमिको सीमा सुरक्षामा खटिएका गोविन्द गौतमको भारतीय सुरक्षा फौजले नेपाल भुमिमा प्रवेश गरेर नृशंस हत्या गर्‍यो, त्यस बखत हाम्रो चन्द्र सूर्य अंकित झण्डाले पनि शीर झुकाउन बाध्य भयो । थाहा छैन, यो गीतमा बोलिए झैं हाम्रो शान अब सदासदा जितिरहन्छ कि हार्न पनि सक्छ ? गोविन्द गौतमको शाहादात पश्चात यो प्रश्न टड्कारो बनेको छ ।

गोविन्द गौतम त्यस्ता योद्धा थिए, जो कुनै दलको आह्वानमा त्यहाँ गएका थिएनन् । न त कुनै निर्वाचनमुखी अभियानमा संलग्न थिए, न राजनीतिक चर्चा र पदोन्नतिका लागि नै उनी सीमा सुरक्षामा खटिएका थिए ।

नालापानी युद्धदेखि मानेभन्ज्याङ अतिक्रमण विरुद्धको आन्दोलनमा लक्ष्मी पाण्डे लगायत आजसम्म सैयाैं नेपाली युवाहरुले शाहदात प्राप्त गरेका छन् ।

गोविन्द गौतमको शाहादत उनकै आत्मनिर्णयका आधारमा भएको थियो । उनी स्वविवेकमा देशको सीमा सुरक्षार्थ खटिएका थिए । उनीसँग कसैको झण्डा वा नारा थिएन । थियो त मुटुभित्र चन्द्र सूर्य अंकित झण्डा र मस्तिस्कमा राष्ट्रभक्तिको कठोर प्रतिवद्धता ।

उनको शाहादात केवल नेपाल आमाको अस्मिता रक्षार्थ थियो । कुनै अभिष्ट वा कुनै आंकाक्षा भन्दा पनि मात्र राष्ट्रभक्तिको अनुपम आर्दश थियो । यसर्थ उनी शहिदहरुको सूचीमा पनि अग्रपङ्तीमा पर्दछन् । त्यस्ता वीर योद्धालाई कोटीकोटी सलाम अनि श्रदाञ्जली । र, शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना ।

गोविन्द गौतमको हत्या अक्षम्य अपराध हो । यो राष्ट्रियता अनि सार्वभौमिकता विरुद्धको कदम हो । सप्तरी र कञ्चनपुरका यी दुई घटनाप्रति स्पष्ट धारणा राख्न नसक्ने वा यी घटनाको विरुद्धमा उभिन नसक्ने जुनसुकै शक्ति, व्यक्ति र समूहहरु राष्ट्रियता र लोकतन्त्र विरोधी शक्ति हुन् ।

अन्त्यमा,

राष्ट्रियता र देश अनि लोकतन्त्रप्रतिको निष्ठा दलीय निष्ठाभन्दा माथि हुनुपर्दछ । होइन भने जनताको धैर्यताको बाँध फुटेपछि जुन कुनै शक्ति र व्यक्तिलाई पनि बगाइदिनसक्छ ।

हाम्रो दृढ विश्वास छ, मधेशवादी दलहरु राष्ट्रियता र लोकतन्त्रको परिधिभित्रै रहेर एमालेको चर्को विरोध सदा-सदा गरिरहुन् । अनि एमालेलाई निर्वाच्ानमा धुलो चटाएर तराई मधेसमा आफ्नो वर्चस्व स्थापित गर्न सफल होउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment