Comments Add Comment

रारा कि अप्सरा ! (फोटो फिचर)

२९ फागुन, मुगु । रारा तालको सौन्दर्यदेखि मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए, रारा कि अप्सरा ! हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरता देखेपछि उपमा के दिऊँ भनेर झट्ट अलमलिन्छन् ।

मुगुको जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९ सय ९० मिटर उँचाइमा पर्छ । वरिपरि जंगलको बीचमा रहेको राराको भ्रमणमा आउनेहरु घण्टौं समय बितेको पत्तो पाउँदैनन् । ताल नै यति फराकिलो छ, पूरै एक फन्का लगाउन पाँच घन्टाको समय लाग्छ ।

तालको पूरा आकृति हेर्ने हो भने समुद्री सतहदेखि करिब ४ हजार मिटर उँचाइमा रहेको मुर्मा टप उपयुक्त स्थल मानिन्छ । यो स्थानबाट मौसम सफा भएको समयमा मध्य र सुदूर पश्चिमाञ्चलका ६ वटा जिल्लाका भूभागहरु देख्न सकिने स्थानीय व्यवसायी बताउँछन् ।

यो तालमा विश्वमै कहीँ पनि नपाइने स्नो ट्राउट माछा पाइन्छ । तालको छेउमै रारा राष्ट्रिय निकुञ्जको कार्यालय छ भने सँगै सुरक्षा व्यवस्थाको लागि नेपाली सेनाको ब्यारेक पनि छ । ब्यारेक नजिकै रहेका दुई वटा होटलमा बास बस्ने सुविधा छ ।

मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको छ ।

रारा जानका लागि वर्षभरि नै उपयुक्त मानिए पनि खासगरी हिउँद महिनामा रमाइलो दृश्य देख्न पाइन्छ । त्यो समयमा एकातिर हिउँ झरिरहेको हुन्छ भने अर्कातिर रंगीविरंगी फूलहरुले रारा तालको सुन्दरतालाई थप मनमोहक बनाइदिन्छन् ।

तयारी गरेर हिँड्दा रारा यात्रा असहज छैन – राजु कार्की
भिजिट कर्णाली ट्राभल्सका प्रबन्ध निर्देशक तथा भिलेज रिसोर्टका सञ्चालक

रारा आन्तरिक पर्यटकले निकै रुचाएको स्थान हो । तर, रमाइलो गर्न आउँदा कतिपयले झन्झट खेप्नुपर्ने हुन सक्छ । त्यसको कारण हो, रारा आउनुभन्दा अगाडि यसबारे सूचना नलिने र आवश्यक तयारी नगर्ने । कतिपयले रारा जानलाई जहाजको टिकट पाइँदैन भन्ने गुनासो गर्छन् । टिकटको लागि अग्रीम बुकिङ गर्‍यो भने समस्यामा परिँदैन । योजना बनाएर तथा हामीसँग सम्पर्क गरेर आउनुभयो भनेर रारा यात्रा असहज हुँदैन ।

रारामा जम्मा दुईवटा होटल छन् । हामीले यी होटल र टेण्टमा गरी एक रातमा तीन सय जनालाई बास बस्ने व्यस्था मिलाउन सक्छौं । तालको छेउछाउमा राराका जानकारी दिने सूचनामूलक बोर्ड भएका राम्रो हुन्थ्यो भनेर हामीले आफ्नो तर्फबाट प्रयास गर्दैछौं । राराका विषयमा जानकारी दिने सूचना डेस्क स्थापना हुदैछ । मुगुको ताल्चा विमानस्थलमा पनि चाँडै डेस्क स्थापना हुन्छ होला । त्यसले पनि राराबारे सूचना लिन सहज हुनेछ ।

कसरी पुग्ने ?

रारा पुग्नका लागि हवाई र बसयात्रा गरी दुई वटा विकल्प छन् । पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जको विमानस्थल राझाबाट मुगुको ताल्चा विमानस्थलसम्म जहाजमा जान सकिन्छ । त्यहाँबाट तीन घण्टाको पैदल हिँडेपछि रारा तालको किनार पुगिन्छ । यसका साथै सुर्खेतबाट मुगु सदरमुकाम गमगढीसम्म सार्वजनिक बस पनि चल्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment