Comments Add Comment

सप्तरीबाट उपेन्द्र र राजेन्द्रले भने-मलेठ घटनाको दोषी केपी ओली हुन्

२९ फागुन, सप्तरी । मधेसी मोर्चाका शीर्ष नेताहरूले नेकपा एमालेको हठका कारण सप्तरीको मलेठ घटना भएको दाबी गरेका छन् । साथै एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली पनि दोषी भएको बताए ।

राजविराजमा आइतबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेको मधेसप्रतिको दृष्टिकोणकै परिणाम मलेठ घटना भएको बताए ।

उनीहरुले संविधान संशोधन बिना निर्वाचन गराउन खोजिए मुलुकमा अर्काे महाभारत हुने चेतावनी दिएका छन् । सरकारलाई दिएको समर्थन स्वतः फिर्ता भइसकेको भन्दै उनीहरुले अब चर्काे आन्दोलन गर्ने चेतावनी दिए ।

दुबैले कञ्चनपुरमा भएको घट्नाको पनि अबिलम्ब छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

‘एमालेको अभिव्यक्तिको परिणाम हो मलेठ घटना’

संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘मधेसीलाई कहिले माक्खे, त कहिले काले, कहिले चार-पाँच वटा आँप र्झदैमा केहि फरक पदर्ैैन भन्ने एमाले अध्यक्षको अभिव्यक्तिले यो घटना गराएको छ ।’

सप्तरीको घटना, मधेसी जनताका लागि एक किसिमको युद्व भएको भन्दै यादवले अब आन्दोलनको विकल्प नरहेको बताए । ‘अबको आन्दोलन मधेसमा मात्रै रहने छैन, हिमाल र पहाडमा पनि शुरु हुनेछ’ उनले भने ।

‘चुनाव हुन्न दिन्नौं’

सरकार उल्टो दिशाबाट हिँडेर बिभिन्न आन्दोलनबाट ल्याइएको संघीयतालाई बर्बाद गर्न खोजेको यादवको आरोप छ । उनले प्रादेशिक सरकारले गर्नुपर्ने स्थानीय निर्वाचन गराएर सरकारले संघीयतालाई धरापमा पार्न खोजेको बताए ।

सात प्रदेशलाई सच्याएर केन्द्र र प्रदेशको चुनाव नगराई हुने कुनै पनि निर्वाचन कदापी हुन नदिने भन्ँदै फोरम अध्यक्ष यादवले भने, ‘आर्मी लगाएर गरिने निर्वाचनमा मतदान गर्ने र गराउने आर्मी र प्रहरीबाहेक कोहि हुँदैनन् ।’

एमालेले ताजा घाउमा नून छर्कने काम गर्‍योः महतो

सद्भावना अध्यक्ष राजेन्द्र महतोले सप्तरी घटना एमालेले मधेसीको ताजा घाउमा नून छर्किए जस्तै भएको बताए । प्रेस मञ्च सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले भने, ‘ घटनाको मूल दोषी एमाले र एमाले अध्यक्ष केपी ओली हुन् ।’

मधेसमा यसअघि नै ‘एमालेमुक्त मधेस,’ नारा लागेको भन्दै उनले भने, ‘यो आगोमा घ्यू थप्ने काम स्वयंले एमालेले गरेको छ ।’

शुरुदेखि नै एमालेको अभिव्यक्ति मधेसबिरोधी रहेको बताउँदै उनले मधेसको अवस्था हेरेर बारम्बार एमालेलाई मधेस नजान सचेत गराउँदा पनि आफ्नो हठ देखाएर सप्तरी प्रवेश गरी पाँच जनालाई मार्न लगाएको आरोप लगाए ।

उनले मधेसलाई चिढाउने काम बन्द गरी संविधान संशोधनमा सहभागिता जनाएर मुलुकको समस्या समाधान गर्न एमालेसँग आग्रह गरे । ‘मधेस बिरोधी रबैया छाड्नुस्, मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि आउनुस्’ एमालेसँग आग्रह गर्दै महतोले भने, ‘अन्यथा मधेसमा एमालेप्रतिको आक्रोस र बितृष्णा झन् बढ्दै जानेछ ।’

‘संशोधन नभए कांग्रेस र माओवादीको हालत पनि एमालेजस्तै’

अध्यक्ष महतोले संविधान संशोधन नगरी चुनावमा जान खोजे कांग्रेस र माओवादीको पनि मधेसमा एमालेको जस्तै हालत हुने दाबी गरे । उनले मधेसी जनता एमालेसँगै कांग्रेस र माओवादीको बिरोधमा उत्रने बताए ।

मधेसमा त मोर्चाभन्दा बढी मत मुख्य ३ दलले नै ल्याएको छ नि ? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘हिजो जनताले मतको दुरुपयोग गरेको अनुभव गर्न थालेका छन् । त्यही भएर उनीहरु आन्दोलनमा उत्रेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment