Comments Add Comment

५ नम्बर प्रदेश टुक्र्याउन नदिने एमालेको रणनीति

१ चैत, दाङ । सत्ता पक्षले ५ नम्बर प्रदेश हेरफेरसहितको संविधान संशोधन विधेयकमा दुई तिहाई बहुमत जुटाउने प्रयास तीब्र पारेकै बेला प्रमुख विपक्षी नेकपा एमाले भने ५ नम्बर प्रदेशमा केन्दि्रत भयो । एमालेका नेताहरुले ५ नम्बर प्रदेश फेरबदल विरुद्धको जनमत आफ्नो पक्षमा पार्न भरमग्दूर प्रयास गरेको देखियो ।

मेची-महाकाली राष्ट्रिय अभियानको दशौं दिन प्रदेश नम्बर ५ का मधेसी र थारु ब्ााहुल्य जिल्लामा वृहत शक्ति प्रदर्शन गरेको छ । शनिबार प्रदेश नम्बर ४ को कावासोतीमा जनसभा गरेर अघि बढेको एमालेको अभियान मंगलवार चौथो दिन पनि ५ नम्बर प्रदेशमा केन्द्रित भएको छ । ५ नम्बर प्रदेशमा केन्द्रित हुनुको रणनीतिक अर्थ रहेको एमाले नेताहरुले बताएका छन् ।

आइतवार नवलपरासीको भूमही र भैरहवामा एमालेले वृहत जनप्रदर्शन तथा सभा गरेको थियो । भैरहवाको जनसभाबाट उत्साहित भएका एमाले नेताहरुले ५ नम्बर प्रदेशबाट तराई र पहाडका जिल्ला अलग गर्ने गरी संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावको विरोधमा स्थानीयको मनोविज्ञान आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन् । अभियानका क्रममा एमाले नेताहरुले संविधान संशोधन विधेयकको विरोध गर्नुपर्ने औचित्य मधेसी र थारु जनतलाई पुष्टि गर्न खोजिरहेका छन् ।

एमालेको अभियान सोमबार बुटवलबाट करीव १० हजारको लावा लस्करसहित कपिलवस्तुतर्फ अघि बढेको थियो । पर्रोहा, सैनामैना, मूर्तिया, रामापुरलगायतका बजारमा एमालेको टोलीलाई स्थानीयले घर-घर र सडकमा घडा थापेर स्वागत गरेका थिए । त्यस्तै कपिलवस्तुको क्षेत्र नम्बर ४ मा अवस्थित जितपुर बजारमा वृहत जनसभा गरेर एमाले नेताहरुले एमाले मधेस विरोधी नभएको प्रष्टीकरणमात्र दिएननन्, ५ नम्बर प्रदेश विभाजन विरुद्ध उत्रिन जनतालाई आह्वान समेत गरे ।

जितपुरको सभामा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र माओवादीका जिल्लास्तरीय नेता कार्यकर्ता उल्लेख्य संख्यामा एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुले ५ नम्बर प्रदेशको अहिलेको सीमांकन चलाउन नहुने एमालेको अडानका कारण आफूहरु एमाले प्रवेश गरेको बताए ।

जितपुरको हजारौं सहभागिताको जनसभापछि एमालेको क्याराभान महेन्द्र राजमार्गका बिभिन्न बजारमा स्थानीयको समर्थन लिदै चन्द्रौटा पुगेको थियो । चन्द्रौटामा एमालेको अभियानको समर्थन र बिरोध दुवैतिर मान्छे देखिए ।

मधेसी मोर्चाका कार्यकर्ता कालोझण्डा सहित चन्द्रौटा बजारको दक्षिणतिर जम्मा भएका थिए । करीव एक सयको संख्यामा रहेका मोर्चा कार्यकर्तालाई सशस्त्र प्रहरीले रोकेको थियो । एमाले समर्थकहरु भने सडकमै उभिएर क्याराभानलाई होलीको अबिर लगाउदै स्वागत गरिरहेका थिए ।

चन्द्रौटा बाहेक सोमवार कतै पनि मोर्चाका कार्यकर्ताको बिरोध देखिएन । एमालेको टोली कपिलबस्तु कटेर दांग प्रवेश गर्दा धानखोलामा एमालेका नेता कार्यकर्ता र समर्थकले स्वागत गरेका थिए । ५ नम्बर प्रदेशको थारु ब्ााहुल्य क्षेत्रमा एमालेले पहिलो सभा दांगको देउखुरीस्थित लमही बजारमा गरेकेा थियो ।

लमहीमा उल्लेख्य जनसहभागिता देखेर उत्साहित भएका एमालेका नेताहरुले एमाले थारुहरुको अधिकार स्थापित गर्ने पार्टी भएकाले थारुको समर्थन मिल्ने अपेक्षा व्यक्त गरे । सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले एमालेलाई थरुहट क्षेत्रमा कसैले रोक्न खोज्दैमा एमाले नरोकिने बताए । उनले थारुलाई राजनीतिको मूलधारमा ल्याउने श्रेय एमालेलाई जानेे दावी गरे ।

उनले त्यसो भन्नुअघि कमलरीबाट सांसद बनेकी एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले थारुलाई फेरि पनि राजनीतिक कमैया बनाउन केही दलहरुले पहाडी र थारुबीच बिभाजन गर्न खोजेको आरोप लगाइन् । उनले थारु समुदाय पहाडे समुदायसँग मिलेर बस्ने जाति भएकाले ५ नम्बर प्रदेश बिभाजन स्वीकार्य नहुने बताइन् ।

सभालाई थारु नेताहरु नागेन्द्र चौधरी, मेटमणि चौधरी लगायतले सम्बोधन गर्दै एमाले थारु मैत्री पार्टी भएको बताए । जनसभामा गायक बद्री पंगेनीले एमाले अभियानलाई साथ दिदै गीत गाएर सहभागीलाई नचाएका थिए । एमालेको अभियान अझै २ दिन ५ नम्बर प्रदेशमैै रहनेछ । अभियान बाँके र बर्दिया हुँदै ७ नम्बर प्रदेशको टीकापुर पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment