Comments Add Comment

कांग्रेस बैठकमा संशोधन विधेयकलाई निर्णयार्थ पेश गर्न माग

१० गते केन्द्रीय समिति बैठक आहृवान

संसदीय दलको कार्यालयमा भएको छलफलमा सहभागी कांग्रेस नेताहरु । तस्वीर: रासस

१ चैत, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संविधान संशोधन विधेयक तत्काल प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

सरकारले अहिले पास गर्न सक्ने अवस्था नरहेको भन्दै स्थानीय चुनावपछि मात्र संविधान संशोधन विधेयक अघि बढाउने प्रस्ताव अघि सारेको छ । र, संशोधन विधेयक संसदको नियमित कार्यसूचीमा समेत पर्न छाडेको छ ।

तर, मधेसी मोर्चाले संशोधन नभई चुनाव हुन नसक्ने बताएपछि कांग्रेस शीर्ष नेताहरुले पार्टीका तराई मधेसका सांसदहरुसँग छलफल गरेका थिए ।

संसदीय दलको कार्यालयमा भएको छलफलमा कांग्रेसका तराई मधेसका सांसदहरुले स्थानीय चुनाव अघि नै संविधान संशोधन गर्नु पर्ने बताएका छन् । ‘संविधान संशोधन गरेर चुनावमा आउँ भन्ने सबैको मत थियो,’ सांसद महेन्द्र यादवले भने ।

राप्रपा अध्यक्ष कमल थापा आफैं सरकारमा आएकाले उसले पनि समर्थन गर्ने भन्दै सांसदहरुले अब संशोधनको पक्षमा दुई तिहाई पुग्ने विश्वास व्यक्त गरे ।

अर्का सांसद रामकृष्ण यादवका अनुसार संशोधन विधेयकलाई निर्णयार्थ पेश गर्ने प्रक्रिया अघि बढाउने र निर्धारित मितिमै चुनाव गर्नुपर्ने सबैको धारणा थियो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘हामी स्थानीय चुनाव गराउन चाहन्छौं र संविधान संशोधन पनि गर्छौं ।’

संशोधन पास गराउन दुई तिहाई पुग्छ त भन्ने प्रश्नमा देउवाले भने, ‘हेर्नुस् न पुगिहाल्छ नि ।’

सप्तरी घटना, स्थानीय चुनाव, संविधान संशोधन लगायतका विषयमा छलफल गर्न कांग्रेसले चैत १० गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले स्थानीय तहको निर्वाचनको तयारीका लागि पनि पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउन पार्टी सभापतिसँग माग गर्दै आएका थिए । पौडेल पक्षले राजदुत नियुक्तिमा समेत बेवास्ता गरेको भन्दै पार्टी नेतृत्वको कडा आलोचना गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment