Comments Add Comment

‘बाबुरामजीले सामर्थ्य गुमाइसक्नुभएछ, रवीन्द्र मिश्रलाई शुभेच्छा छ !’

'अब राजनीति गर्दिनँ, मतदाता समेत पैसामा बिकिसके'

२ चैत, काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनालले नयाँ शक्ति पार्टी परित्याग गरेका छन् । उनले अब कुनै राजनीतिक दलमा सामेल नहुने घोषणा गरेका छन् । बाबुराम भट्टराईले गुट व्यवस्थापन गर्ने सामर्थ्य गुमाइसकेको र मतदाताहरु समेत पैसामा बिक्ने गरेका कारण इमान्दार मानिसले राजनीति गर्न नसक्ने खनालको निश्कर्ष छ ।

अनलाइनखबरले सम्पर्क गर्दा शुरुमा खनालले राजनीतिक विषयमा कुराकानी गर्न अस्वीकार गरे । तर, राजनीतिक विषयमा अन्तिम कुराकानी हुने शर्तमा उनले नयाँशक्ति परित्याग गर्नुपर्ने केही कारणहरु खोले ।

नयाँ शक्ति पार्टी छोड्नु भएको हो ?

मैले मेरो स्टाटसमा नयाँ शक्ति भनेको पनि छैन । मसँग राजनीति गर्ने क्षमता रहेन छ भन्ने निष्कर्ष हो । नेपालमा राजनीति गर्न जुनखालको क्षमता चाहिने रहेछ, त्यो क्षमता मसँग रहेन छ । त्यसकारण पनि मैले अब कुनै राजनीतिक पार्टीमा नरहने घोषणा गरेको छु ।

नयाँ शक्ति पार्टीबाट राजीनामा नै दिइसकेको हो ?

मैले राजीनामा दिने आवश्यकता नै ठानेको छैन । किनभने, ६/७ महिनादेखि म सक्रिय पनि छैन ।

सक्रिय नभएको चाँहि किन ?

राजनीति गर्ने भनेर हिँडेको छ, खराब आचरण, खराब प्रवृत्ति, खाली विभाजनकारी, विखण्डनकारी, समुदाय-समुदायवीच झगडा चलाउने बाहेक नयाँ शक्तिमा अरु केही पनि राम्रो काम भएन । त्यस्तो गर्ने मान्छेहरुलाई नेता बनाउने गरी काम गर्न सकिएन । हामी नेता बनाउने मान्छेले त्यस्तो नेता बनाउन आवश्यक ठानिनँ । र, राजनीतिबाट सन्यास लिएको छु ।

नयाँ शक्ति पार्टीमा मुख्य समस्या के-के रहेछ ?

मैले भन्नुपर्ने होइन । हाम्रो धर्मशास्त्र, नीतिशास्त्र अध्ययन गर्दा आचरण सम्वन्धी पर्याप्त चर्चा पाइन्छ । हाम्रो शास्त्रअनुसार मानिसमा हुनुपर्ने, आचरण, स्वभाव र गुणहरु सबै त्याग्न सकियो भने बल्ल मान्छे राजनीतिज्ञ हुने रहेछ । मैले त्यो आचरण त्याग्न सकिनँ ।

नयाँ शक्तिलाई एउटा सम्भावनाको रुपमा हेरिएको थियो, त्यहाँभित्र के हुँदैछ ?

विशेष समस्या के भने माओवादी पार्टीमा जुन राजनीतिक चरित्र पहिले थियो, त्यो राजनीतिक चरित्रमा कति पनि सुधार आएन । बरु विकृति त्योभन्दा बढी हावी हुँदै गयो । चन्दा आतंकदेखि गुटगत राजनीतिमा त्यही हावी हुँदै गयो ।

कुरा गर्दा समतामुलक, सबैलाई समावेशी गर्नुपर्छ भन्ने र पार्टी चलाउने बेला आफ्ना मान्छेहरु मात्रै नजिक राख्ने भएपछि समावेशी, समतामुलक भएन नि ।

प्रत्येक राजनीतिक दलको समस्या, नारा निकै आदर्शवादी बनाउने, त्यस्तै कुरा गर्ने, काम त्यसको ठ्याक्कै उल्टो । नयाँ शक्ति पार्टीमा पनि देखिएको समस्या यही हो ।

उसोभए नयाँ शक्तिमा गुट पनि जन्मिइसकेको हो ?

एकदमै धेरै । गुट त जिल्ला-जिल्लामा पुगेको छ । पहिले गाउँ तहसम्म इकाइ नै थिएन । जहाँ संगठन बन्छ, त्यहाँ गुट हावी हुन थाल्यो । हामीले राजनीतिक नेतृत्वमा जुन राजनीतिक चरित्र हुनुपर्छ भनेर अध्ययन गरेका थियौँ, त्यो पाइएन । सबै चरित्र त्यागेर राजनीतिलाई उद्योग बनाउने, व्यवसाय बनाउने, कमाउने भाँडो बनाउने चरित्र हावी हुँदै गयो ।

हुन त यो नयाँ शक्तिमा मात्र होइन, सबै दलमा देखिएको समस्या हो । तर, नयाँ शक्तिमा त्यस्तो हुनुहुँदैन भन्ने मेरो विचार रहेको थियो ।

बाबुराम भट्टराईमा पनि यस्तो समस्या रहेछ ?

बाबुरामजीले गुट राजनीति म्यानेज गर्ने सामर्थ्य पहिले नै गुमाइसक्नुभएको रहेछ । सायद पहिले कुनैबेला उहाँको पनि त्यस्तो काममा संसर्ग भएको थियो होला । जुन व्यक्तिलाई पहिले उहाँले प्रोटेक्सन दिनुभयो, जुन व्यक्तिले सुरुमा उहाँलाई प्रोटेक्सन दिए, ती व्यक्तिलाई त डाक्टर सापले पनि क्षमा त दिनै पर्‍यो जस्तै गल्ति गरे पनि । उहाँ त्यसरी सबैलाई क्षमा दिनतिर लाग्नुभयो कि भन्ने लागेको छ । उहाँको काम गराइबाट यही देखिन्छ ।

उहाँसँग अहिले पनि कुराकानी हुँदा निकै आदर्शवादी कुरा गर्नुहुन्छ । मैले बुझेको छु, सुधार गर्नुपर्छ, यस्तो समस्या हटाउनुपर्छ, मैले बुझेको छु भन्ने तर पछि गएर तिनै मान्छेहरुलाई अगाडि बढाउने, उनीहरुलाई नै बढी विश्वास गर्ने स्थिति रहृयो ।

निर्णयहरु गोजीबाट आउँछ । लोकतान्त्रिक विधिमा त छलफल गरेर मात्र निर्णय हुन्छ । दिनभरि चार/पाँच घण्टा छलफल गर्‍यो, अन्तिममा निर्णय गोजीबाट खुर्लुक्क झरेर अर्कै आउँछ । त्यहाँ साथीहरुले माओवादी हुँदादेखि नै चलेको चलन हो, बोल्न सबैले पाउँछ, निर्णय अर्कै आउँछ भन्ने गर्थे । यस्तो संस्कार छोडौं भन्दा उहाँहरु त्यो छोड्न पनि तयार हुनुभएन ।

नयाँशक्तिमा माओवादी स्कुलिङभन्दा बाहिरबाट आएका अरु पनि तनावमा छन् कि ?

धेरैले छाडिसके । पछिल्लो समय अध्ययन गरेका, बाहिरबाट आएका, कुनै विषयमा दक्षता हासिल गरेका व्यक्तिहरुलाई नयाँ शक्तिमा प्रवेश निषेध जस्तै भयो । किनभने उनीहरुलाई हाम्रो शक्ति पर्याप्त भयो, हामीलाई नयाँवाला चाहिँदैन भन्ने निष्कर्षमा करिब पुगेको आभाष भएको थियो । त्यसपछि नयाँलाई स्पेस नै दिइएन ।

के सपना बोकेर जानुभएको थियो तपाई नयाँ शक्तिमा ?

खासमा म रहरले गएको हुँदै होइन । मलाई त करै गरेर अन्तिम घडीमा कुर्सीमा लगेर राखेका हुन् । कर र स्वेच्छाले प्रवेश गरेकाहरु जो थिए, तीमध्ये अधिकांश निष्कृय भइसकेका छन् । कतिपयले अस्ति भर्खर छोडे । कांग्रेस, एमाले, माओवादीबाट क्षेत्रीय स्तरमा प्रवेश गरेका अधिकांशले छाडिसकेका छन् ।

(यो पनि पढ्नुहोस्- ०७५ सालमा नयाँशक्ति सरकारमा पुग्छ: खनाल)

माओवादीबाट नयाँशक्तिमा आएकाहरुको स्वाभाव कस्तो पाउनुभयो ?

खासमा माओवादीबाट आएका एक तहका कार्यकर्ता निकै इमान्दार पनि देखेँ । माओवादीको तलको कार्यकर्ता त राम्रा रहेछन्, वास्तवमै केही परिवर्तन हुन्छ कि भनेर लागेकाहरु । नेता र नेतृत्वको गतिविधिका कारण उनीहरु पनि विस्तारै पछि हट्न थाले । कतिपय अझै निष्कृय भएर बसेका छन् । कतिपय अर्को पार्टीमा रहँदा भूमिका नपाएकाहरुले त्यहाँ आएर हाली मुहाली चलाएका छन् ।

पार्टी छाड्नुभयो, अब के गर्नुहुन्छ ?

मैले मेरा बाँकी दिनहरु शान्त तरिकाले बिताउने निधो गरेको छु ।

रवीन्द्र मिश्रले खोलेको ‘साझा पार्टी’मा नजाने ?

म त राजनीतिमा लाग्दिनँ । रवीन्द्रजीलाई शुभेच्छा छ । तर, नेपालमा नयाँ राजनीतिक संस्कार भएको पार्टी नै चाहिन्छ । पुराना पार्टीले केही गर्दैनन् । खास गरी विभाजनकारी, गुटगत संस्कार हाम्रो राजनीतिक पार्टीहरुमा छ, त्यसबाट उहाँ बच्न सक्नुपर्छ । स्वच्छ प्रतिस्पर्धा विनाको राजनीति, पैसाको राजनीति, चरित्रहीन राजनीतिबाट मुक्त हुन नयाँ राजनीतिक संस्कारको पार्टी चाहिन्छ । तर, मैले चाहिँ राजनीति छोडेँ ।

किन ?

किनभने, मेरो बुझाइमा नेपाली समाज पूरै विकृत भइसकेको छ । तलका भोटरसमेत पैसा नभई भोट नै हाल्दैनन् । नेपालमा भोटरले पनि पैसा नभई भोट नदिने, धेरै भोटर कार्यकर्ता मात्र छन् । तल्लो तहमै गलत संस्कार हावी भइसकेकाले नयाँ संस्कार बोकेर कुनै पार्टी आयो भने पनि मतदाताले पत्याउने अवस्था मैले देखिनँ ।

राजनीतिक दलहरुमा परिवर्तन सम्भव छैन त ?

एक-दुई ठाउँमा परिवर्तन आउला तर नेपालका गाउँहरुबाट मतदाताले असल राजनीतिक संस्कार भएका दलहरुलाई अगाडि बढाउलान् भन्नेमा विश्वास लाग्न छाडेको छ । त्यसैले मेरो बाँकी जीवन शान्त तरिकाले बिताउने निधो गरेको छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment