Comments Add Comment

फेसबुकबाट ठगीः नक्कली पाइलटको प्रेममा ५० लाख चट्

ठगीको शिकार हुनेमा बढी महिला

फाइल तस्वीर

२ चैत, काठमाडौ । फेसबुकमार्फत ठगिएको विषयमा एकपछि अर्को उजुरी प्रहरीमा आउन थालेका छन् । ठगिनेमा महिलाहरुको संख्या धेरै छ ।

सामान्य पृष्ठभूमिका महिलादेखि सम्भ्रान्त वर्गका सम्म फेसबुके ठगीको शिकार बनिरहेको पाइएको छ । पछिल्लो समय प्रहरीले अनुसन्धान गरेका घटनाहरु यस्ता छन् ।

‘पाइलट’ को प्रेममा ५० लाख चेट

महानगरीय प्रहरी अपराध महाशाखामा मंगलबार ४० वर्ष नाघेकी एक महिला डराउँदै-डराउँदै उजुरी लेखाइरहेकी थिइन् । घरानिया परिवारकी उनलाई कसैले देख्ला कि भन्ने डर थियो । यो घटनाको विषयमा चिनेजानेका कसैले सुईंको पाए भने उनको परिवार तहसनहस हुनसक्थ्यो ।

यी महिला फेसबुकमार्फत एक ठगको फन्दामा परेकी रहिछन् । करिब १ वर्षअघि आफूलाई म्याक्स भन्ने व्यक्तिसँग उनको फेसबुकमा चिनजान भएको थियो ।

सुरुमा सामान्य कुराकानी भयो । तर बिस्तारै उनले म्याक्सको गफमा आफूलाई भुलाउन थालिन् ।

फेसबुकमा चट्ट परेको प्रोफाइल पिक्चर हालेका म्याक्सले आफूलाई एयर अरेबियाको पाइलट भनेर चिनाएका थिए । त्यो पनि स्वीटजरल्याण्डमा बस्ने । यी महिला चाँडै नै म्याक्सको मायाजालमा फसिन् । यतिसम्म कि उनीहरुबीच विवाह गर्नेसम्मको कुरो भएको थियो ।

आपसी विश्वास चुलिँदै गएपछि म्याक्स आफ्नो इरादा पुरा गर्नतर्फ लागे । उनले आफ्नो एटिएम हराएको र निकाल्न केही दिन लाग्ने भन्दै महिलासँग दुई लाख रुपैंया मागे । महिलालाई दुई लाख रुपैयाँ ठूलो कुरा थिएन । कुनै आशंका नगरी उनले ‘स्वीजरल्याण्डबाट’ म्याक्सले दिएको नेपाली एकाउन्टमै २ लाख रुपैंया जम्मा गरिदिइन ।

त्यसपछि अनेक बहाना गर्दै म्याक्सले पैसा माग्दै गए, महिलाले बुझाउँदै गइन् । प्रहरीका अनुसार महिलाले एक पटकमा १० लाखसम्म बुझाएको बताएकी छिन् । कहिल्यै नभेटेका पुरुषको खातामा आफूले कुल मिलाएर ५० लाख रुपैयाँ बुझाएको उनको भनाई छ ।

तर उनले यति विश्वास गरेका व्यक्ति न स्वीट्जरल्यान्डमा थिए न त पाइलट नै थिए । उनी थिए एक ठग जसले फेसबुकमार्फत ठगी धन्दा चलाउँदै आएका थिए ।

५० लाख बुझाएपछि महिला सिताङ्ग भएर प्रहरीमा पुगेकी हुन् । उनलाई अझै पनि विश्वास लागिरहेको छैन आफू ठगिएकोमा । तर उनले उनले जसको एकाउन्टमा पैसा हाल्ने गरेकी थिइन् ती व्यक्ति प्रहरी हिरासतमा आइसकेका छन् ।

उपहारका नाममा ठगी

सामान्य लेखपढ गर्न जान्ने एक युवती प्रहरीको शरणमा आएकी छिन् । उनको पनि फेसबुकबाट ठगिएको गुनासो छ ।

पढाई खासै नभए पनि फेसबुकको म्यासेज भने कनिकुथी पढ्न सक्छिन् उनी । त्यही फेसबुकमा उनको एक ‘बेलायती लाहुरे’ सँग चिनजान भएको थियो । केही महिनाअघि ति लाहुरेले उनलाई ‘उपहार पठाइदिएको छु है’ भन्दै एसएमएस गरे । बेलायतदेखि उपहार आउने भएपछि युवती त्यसै-त्यसै मख्ख परिन् । सामान पठाएको भनिएको केही दिनपछि उनलाई भारतको नम्बरबाट एउटा फोन आयो ।

फोन गर्नेले भने, ‘तपाइँको सामान आइपुगेको छ, भन्सार क्लिएर गर्न ५० हजार रुपैयाँ तिर्नुपर्छ ।’

आफ्नो उपहार छुटाउन ५० हजार खोजखाज गरेर युवतीले फोनबाट भनिएको एकाउन्टमा हालिदिइन् । तर सामान आएन । फेरि उही नम्बरबाट फोन आयो र भनियो कि सामान महंगो देखिएकाले थप ८० हजार पठाउनुपर्‍यो । युवतीले त्यो पैसा पनि जोरजाम गरिन् र खातामा हालिन् ।

तर त्यसपछि पनि सामान नआएपछि उनले थाहा पाइन्, फेसबुकमा भेटिएको व्यक्ति बेलायती लाहुरे नभएर एक ठग थियो । आफु ठगीएको थाहा पाएपछि उनी अपराध महाशाखा पुगिन् । उजुरी गरिसकेपछि उनले भनिन्, ‘अलि-अलि फेसबुक चलाउन आउँथ्यो, त्यसैले यसरी डुबायो । अब परिवारलाई के भन्नु ?’

कटवालको धन्दा पर्दाफास

एसपी श्याम ज्ञवाली अपराध महाशाखामा भर्खरै गएका थिए । ठगी तथा मानव वेचविखन लगायतका घटना हेर्ने जिम्मेवारी लिएर गएको केही दिनपछि फेसबुकबाट ठगिएको गुनासो लिएर एक हुल महिलाहरु महाशाखामा आए । तर घरकाले थाहा पाउने डरले उनीहरु उजुरी नगरी फर्किए ।

महिलाहरुको गुनासोलाई सुरुमा त एसपी ज्ञवालीले सामान्यरुपमा लिएका थिए । तर पिडितहरु आउने क्रम रोकिएन । उस्तै गुनासो लिएर एकपछि अर्का पिडित आउन थालेपछि उनले यसलाई गम्भीररुपमा लिए ।

उजुरी गर्न आएकी एक महिलाले फेसबुकमा चिनजान भएका एक व्यक्तिले आफुलाई बेलायतबाट सामान पठाएको छु भन्दैे ठगी गरेको बताएकी थिइन् । एसपी ज्ञवालीले यहीँबाट अनुसन्धान सुरु गरे । ती महिलाले सामान छुटाउन भनेर आफुले क्रिष्टिना गुरुङको नामको एकाउन्टमा पैसा जम्मा गरेको बताएपछि महाशाखाले तत्कालै उनलाई पक्राउ गर्‍यो ।

त्यस्तै उजुरी गर्न आएका अरुले सपना ढुंगाना नाम गरेकी महिलाको एकाउन्टमा पैसा हालेको बताए । सपना पनि पक्राउ परिन् । तर उनीहरु सबैको नेता रहेछन् वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्ष पे्रम कटवाल ।

फेसबुकमा महिलाहरुलाई फसाउने र पैसा असुल गर्ने डिजाइनर कटवाल भएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार पीडितहरुबाट असुल गरेको पैसा विभिन्न एकाउन्टमा जम्मा भएको देखिए पनि अन्तिममा कटवालकै नाममा गएको देखिएको छ । कटवालसँगै उनको सञ्जालमा रहेका ७ जना पक्राउ परिसकेका छन् ।

महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार अहिलेसम्म कटवालको खातामा ८२ लाख रुपैंया जम्मा भएको देखिइसकेको छ ।

‘कसैलाई प्रेमीका बनाउने त कसैलाई सहयोग गर्ने बहानामा ठगेको भेटिएको छ । अरुको एकाउन्टमा पैसा पठाउन लगाएर पछि आफुले लिने कटवालको शैली देखिएको छ,’ एसएसपी अमात्यले भने ।

त्यसो त भारत र अन्य मुलकमा समेत कटवालका एजेन्टहरु हुन सक्ने उनको आशंका छ । एसएसपी अमात्य थप्छन्, ‘भारतको भन्सारका कर्मचारी बनेर भारतबाटै फोन गर्ने, बेलायतबाट सामान पठाएको छु भन्दै उतैको नम्बरबाट फोन गरेको देखिन्छ । यसको सञ्जाल विभिन्न देशमा हुन सक्छ ।’

फेसबुकबाट ठगिनेहरुमा बढी महिलाहरु रहेको प्रहरी तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment