Comments Add Comment

मलेठको वेदनाः किन दंग छन् मधेसी मोर्चाका नेता ?

सप्तरी गोलीकाण्डमा मारिएकाहरुको शवयात्रामा सहभागीहरु

गत फागुन २३ गते सप्तरीको सदरमुकाम राजविराजको छेउमा रहेको मलेठस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा नेकपा (एमाले) ले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा ढुंगामुढा, लाठी र पेट्रोल बम प्रहार गर्न उक्साउने मधेसी मोर्चाका कारण पाँच जना नागरिकको ज्यान गुमेको छ ।

यसै पनि गरिबी र अशिक्षाबाट ग्रस्त मधेसका ती गरिब परिवारका कमाउन सक्ने सदस्य अनाहकमा मारिँदा परिवारको बिचल्ली भएको छ । मधेसी मोर्चाको स्वार्थपूर्तिका लागि शान्तिपूर्ण कार्यक्रममा आक्रमण गर्न उक्साएकै कारण गोली चल्दा सञ्जन मेहता, आनन्द साहहरुका स-साना नानीहरु टुहुरा भएका छन्, बुबाआमाहरुको बुढेसकालको सहारा गुमेको छ, श्रीमतीको सिउँदो पुछिएको छ ।

यो कारुणिक अवस्थालाई भजाएर राजनीतिको रोटी सेकाउन चाहने मधेसी नेताहरु बल्ल एउटा गतिलो मुद्दा पाइयो भनेर दंग छन् । उनीहरु यस घटनाबाट कति सन्तुष्ट छन् भन्ने कुरा शवयात्रामा उनीहरुका ओठमा देखिएको मुस्कानबाट बुझ्न सकिन्छ ।

मलेठ घटनालाई अतिरञ्जित बनाउने र त्यसैमा टेकेर आफ्नो साख फिर्ता गराउने कुत्सित उद्देश्य मधेसी नेता र तिनका वकिल बुद्धिजीवीहरुमा देखिन्छ । बस्तुतः आज मधेसी नेताहरु सम्पूर्ण रुपमा मुद्दाविहीन बनेका छन् । अर्काको लहलहैमा लागेर संविधान बनाउनै दिन्नौँ भने । त्यसमा उनीहरु सफल भएनन् ।

त्यसपछि संविधान कार्यान्वयन हुनै दिन्नौं भने । त्यसमा पनि सफल भएनन् । अहिले चुनाव हुनै दिन्नौं भनिरहेका छन् । तर, उनीहरुकै समर्थनमा बनेको सरकारले चुनाव घोषणा गरेको छ । दुई दशकदेखि नभएको चुनाव बल्लतल्ल घोषणा हुँदा मधेसमा थप उत्साह देखिएको छ । यसबाट मधेसी नेताहरु आत्तिएका छन् र आफ्नो अस्तित्व रक्षाका लागि मधेसी जनतालाई भड्काउने अन्तिम प्रयासमा छन् ।

लेखक

एक प्रत्यक्षदर्शीका रुपमा मलेठ घटनालाई आफ्नै आँखाले देखेका कारण यस विषयमा गर्ने अतिरञ्जना देख्दा मधेसी नेता र त्यहाँका बुद्धिजीवी हौं भनेर एनजीओको खेती गरिरहेका वकिलहरु कति धरातलमा उभिएका रहेछन् भन्ने महसुस गर्न पाइएको छ ।

एमालेको कार्यक्रम विल्कुल शान्तिपूर्ण थियो । मोर्चाको आवरणमा विभिन्न तत्वले रक्तपात मच्चाउने योजना बनाएका छन् भन्ने सूचना पाएकै कारण एमालेले अधिकतम संयम अपनाएको थियो ।

पूर्वनिर्धारित रंगशालाको कार्यक्रम बजारभन्दा तीन किलोमिटर उत्तरतिर सार्नु र हनुमाननगरको पूर्वनिर्धारित बाटो परिवर्तन गरी २० किलोमिटर घुमेर रुपनीतिरबाट जानु एमालेको रहर थिएन ।

त्यस दिन भारदहदेखि रुपनीसम्म ३ जनादेखि ४०/५० जनासम्मका काला झण्डाका समूहहरुले प्रदर्शन गर्दा एमालेका कार्यकर्ताले कुनै प्रतिवाद गरेनन् । शान्तिपूर्ण रुपमा कार्यक्रम चलिरहँदा विरोध प्रदर्शनका नाममा बाहिर वितण्डा मच्चाइयो र कार्यक्रममा आक्रमण गर्ने कोसिस गरियो ।

यसलाई रोक्न प्रहरीले चलाएको गोलीबाट पाँच जनाको मृत्यु भएपछि त्यसको दोष एमालेलाई दिएर पानीमाथिको ओभानो हुने कोसिस गरिएको छ ।

मधेसमा कार्यक्रम गर्न मोर्चाको स्वीकृति चाहिन्छ ?

एमाले पुस २२ गते काठमाडौंमा आयोजित सभाबाटै फागुन २१ बाट मेची-महाकाली अभियान चलाउने घोषणा गरेको थियो । पक्कै पनि मेची-महाकाली भन्नासाथ मधेस केन्द्रित अभियान हो भन्ने स्पष्ट भइहाल्छ । त्यही अनुरुप आमसभा हुने स्थान, हिँड्ने बाटो, बास बस्ने स्थान, जुलुस हुने स्थानहरु सबै तोकेर एमालेले आफ्नो पार्टी-पंक्तिमा सर्कुलर गर्नुका साथै सञ्चार माध्यममार्फत सार्वजनिक गरेको थियो । मधेसी मोर्चाका नेताहरुले एमालेको कार्यक्रम भाँड्ने कार्यक्रम राखेका कारण मलेठ घटना भएको हो, न कि एमालेको शान्तिपूर्ण कार्यक्रमका कारण ।

लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाइन्छ, मधेसी मोर्चाले पनि त्यस्तो गर्न पाउँछ । तर, त्यस्तो प्रदर्शन सामान्यतः सरकारका विरुद्धमा हुन्छ अथवा राज्यसँग हुन्छ, राजनीतिक दलका विरुद्ध होइन । राजनीतिक दलसँग त प्रतिस्पर्धा हुन्छ । एउटा दलले शान्तिपूर्ण रुपमा आयोजना गरेको कार्यक्रम बिथोल्ने घोषणाका साथ आक्रमण हुन्छ, अनि सुरक्षाका लागि प्रहरीले गोली चलाउँछ भने त्यस्तो अवस्थामा दोष कसको हुन्छ ?

मधेसमा एमालेका कार्यकर्तामाथि आक्रमण भएको छ, कार्यालयहरुमा आगजनी गरिएको छ । सप्तरीमै कार्यक्रमका दौरान शम्भु यादव र प्रतापनारायण चौधरीमाथि कालोमोसो दलियो, सांसद रञ्जु झाको गाडीमा प्रहार गरियो । पार्टी कार्यालयमा आक्रमण गरियो । लाहानमा पार्टी कार्यालय जलाइयो, बारामा पनि त्यस्तै गरियो । के यी लोकतान्त्रिक गतिविधि हुन् ? बहुदलीय प्रतिस्पर्धामा विपक्षी दलका नेता कार्यकर्ताको अनुहारमा मोसो दलेर मोर्चाले वस्तुतः आफ्नै लोकतान्त्रिक छविमाथि कालो पोतेको छ ।

मधेसमै जितेर देखाऊ

मधेसी नेताहरु मधेसी जनताबाटै तिरस्कृत र बहिस्कृत छन् । राजेन्द्र महतोलाई मधेसी जनताले सर्लाहीबाटै हराइदिएका छन् । कांग्रेसमा रहँदा आजीवन पदमा रहेका र कहिल्यै चुनाव नहारेका महन्थ ठाकुरलाई मधेसवादको सिद्धान्त सिर्जना गरेर चुनाव लड्न गएपछि सर्लाहीका जनताले दुवै पटक हराइदिएका छन् । अघिल्लो पटक दुबै क्षेत्रबाट भारी मत ल्याएका उपेन्द्र यादवलाई यस पटक मोरङका जनताले हराइदिए भने सुनसरीबाट झिनो मतले जितेका छन् ।

प्रजातन्त्र आएपछि कहिल्यै नहारेका हृदयेश त्रिपाठीलाई नवलपरासीका जनताले अस्वीकार गरेका छन् । तर, एमालेका शीर्ष नेताहरुले चाहिँ मधेसबाटै जितेका छन् । माधवकुमार नेपाललाई मधेसीहरुको पूर्ण बाहुल्य रहेको रौतहटका जनताले जिताएका छन् । केपी ओली, वामदेव गौतम, विष्णु पौडेलहरु पनि मधेसी मोर्चाका नेताहरुले मधेस भन्ने गरेको क्षेत्रबाटै चुनिएका छन् । एमालेले मधेसबाट मात्रै ४० स्थानमा विजय हासिल गरेको छ ।

घटना भएको सप्तरीमै पनि मधेसी मोर्चाका सबै घटक जनताबाट अस्वीकृत छन् । एमालेले कमसेकम एक स्थान त जितेको छ, तर मधसी दलका कुनै नेताले त्यहाँबाट जितेका छैनन् । अनि कसरी उनीहरुले मधेसी जनताको मसिहा भनेर दाबी गर्न मिल्छ ? पहिला चुनाव गरौं, आफ्नो क्षेत्रमा जितेर देखाऊ अनि मधेसको कुरा गर्न मिल्छ ।

संविधानको भ्रम चिरिने डर

मधेसी दलका नेताहरु अहिले मुद्दाविहीन छन् । संविधानले मधेसी जनतालाई विभेद गर्‍यो, अधिकार दिएन भनेर उनीहरुले हल्ला मच्चाइरहेका छन् । संविधान संशोधन भएमा मात्र मधेसीलाई अधिकार प्राप्त हुन्छ भन्ने भ्रम बाँडिरहेका छन् । एमाले मेची-महाकाली अभियानमार्फत एमालेले यो भ्रम चिर्न चाहेको थियो, जसबाट मधेसी नेताहरु र कथित अधिकारवादीहरु आफ्नो व्यवसाय संकटमा पर्छ भन्ने निष्कर्षमा पुगे र एमालेको कार्यक्रम भाँड्न पुगे ।

संविधानले मधेसीलाई पहिचान दिएको छ, अधिकार दिएको छ, आत्मसम्मान दिएको छ । हिजोसम्म विविध कारणले मधेसी भन्न हिच्किचाउने, त्यसो भनेर हेपिने र अपमानित महसुस गर्ने मधेसीहरुलाई गर्वका साथ मधेसी भनेर संविधानले चित्रण गरेको छ । समानुपातिक प्रतिनिधित्व र समावेशिताको सिद्धान्तलाई संविधानले आत्मसात् गरेको छ । राजनीतिक प्रतिनिधित्वमा मात्र होइन, निजामती, सेना, प्रहरी र गुप्चतरमा समेत समावेशिताको सिद्धान्त अपनाइएको छ । के यो मधेसीमाथिको विभेद हो ? मधेसमाथिको अपमान हो ? संविधानले गरेको अपराध हो ?

मधेसीले अधिकार पाएनन् भनेर वकालत गर्ने कसैले बताइदिए हुन्छ, अहिलेको संविधानले पहाडीलाई दिएको कुन चाहिँ अधिकारबाट मधेसीलाई वञ्चित गरेको छ ? संविधानको कुनचाहिँ प्रावधानले मधेसी जनताको आत्मसम्मान, पहिचान र स्वाभिमानमाथि प्रहार गरेको छ ? त्यस्तो भेटिएमा त्यो प्रावधान च्यात्ने ल्याकत अरु कसैले होइन, नेकपा (एमाले) नै राख्छ र च्यात्छ ।

मधेसमा संविधान पढ्न दिइएको छैन, पढाइएको छैन । कागले कान लग्यो भनेर कसैले हल्ला पिटाइदियो भने आफ्नो कान नछामेर उडिरहेको कागतिर दौडिने प्रवृत्तिका कारण मधेसकै ठेकेदारबाट मधेसी जनता ठगिइरहेका छन् ।

जनता मराउने क्रम कहिलेसम्म ?

नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन थालेपछि आक्रान्त भएका तत्वहरुको योजनामा चलाइएको मधेस आन्दोलनका क्रममा जनताको सहभागिता नदेखिएपछि मधेसी मोर्चाका नेताले घोषणा गरेः ‘आन्दोलनमा मरेमा शहीदका परिवारलाई ५० लाख रुपैयाँ दिन्छौं ।’

जनतालाई मर्नका लागि उनीहरुले यसरी उक्साउनुका पछाडि खास कारण छ । ०६३ सालमा सिरहाको लाहानमा माओवादी नेता राम कार्कीको अंगरक्षकले चलाएको गोलीबाट रमेश महतोको मृत्यु भएपछि त्यसैमा टेकेर मधेस आन्दोलन उठाइएको झझल्को उनीहरुलाई आइरहेको छ । यस पटक पनि एमालेको कार्यक्रममा आक्रमण गर्न लगाएर बढीभन्दा बढी मान्छेलाई मराउने अनि त्यही आधारमा आन्दोलन उठाउने उनीहरुको रणनीतिले काम गरेको छ । मधेसमा अहिलेसम्म मधेसी मोर्चाका कारण करिब ४ सय मानिसको ज्यान गइसकेको छ ।

प्रहरीमाथि भाला, ढुंगामुढा र पेटोल बम प्रहार गरेपछि प्रहरीले चाहिँ मुस्कानसहितको सेवा भन्दै नमस्कार गर्दैन भन्ने मधेसी नेता र उनीहरुको उक्साहटमा उत्रिएका दुबैथरीलाई थाहा छ । तीन जना पूर्वप्रधानमन्त्री रहेको र हजारौं सहभागी कार्यक्रममाथि आक्रमण गर्दा के हुन्छ भन्ने आकलन सुरक्षा संयन्त्रले पक्कै गरेको हुनुपर्छ ।

एउटै चिहानमा २७ जनासम्मलाई मार्न पछि नपर्ने मधेसी दलका नेताहरुलाई त्यसले फरक नपारे पनि एमाले चाहिँ एक जना मानिसको ज्यान पनि तलमाथि नपरोस् भनेरै कार्यक्रम गर्दा अत्यन्त सचेत देखिएको थियो ।

मधेसमा जति रगत बग्छ, त्यति आफ्नो राजनीतिको बाली सप्रिन्छ भन्ने विश्लेषण मधेसी नेताहरुको छ । त्यही भएर उनीहरुले मधेसी जनता, खासगरी युवाहरुलाई हिंसात्मक बनाउँदै गइरहेका छन् । तर, उनीहरुलाई थाहा होस्, यदि यो कार्यनीति कायम गरिरहने भने अन्ततः त्यसको लगाम उनीहरुको हातमा हुने छैन, कुनै राष्ट्रद्रोहीका हातमा पुग्नेछ ।

मोर्चाको मोहरामा क-कसले पछाडिबाट रिमोट कन्ट्रोल चलाइरहेका छन्, मोर्चाका नेताहरुले हेक्का राख्दा हुन्छ ।

(रिजाल नेकपा एमाले प्रचार विभागका सचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment