Comments Add Comment

कालिञ्चोकमा हिउँसँग पौंठेजोरी (फोटो फिचर)

 

३ चैत, दोलखा । प्राकृतिक र धार्मिक यात्रा रुचाउनेहरुको लागि आकर्षक ठाउँ हो, दोलखाको कालिञ्चोक क्षेत्र । मनोरम हिमशृंखलाको अवलोकनसँगै कालिञ्चोक भगवतीको दर्शन पनि गर्न सकिने भएकोले धेरैका लागि एक पन्थ दुई काम हुने गर्छ ।

राजधानी काठमाडौं नजिकैको ठाउँ भएकाले आन्तरिक पर्यटकहरु सहजै यो ठाउँमा पुग्न सक्छन् । खासगरी हिउँदको बेला कालिञ्चोकमा हिउँसँग खेल्नेहरुको घुइँचो नै लाग्छ । चिसो याममा यस क्षेत्रमा दुई फिटसम्म बाक्लो हिउँ पर्छ । यसपालि पनि सबैतिर होली पर्वको रङ छाएको बेला कालिञ्चोक भने हिउँ परेर सेताम्मे देखियो ।

काठमाडौंबाट कालिञ्चोक पुग्न दोलखा सदरमुकाम चरिकोटसम्म पक्की सडक र त्यसपछि कच्ची सडकको यात्रा पार गर्नुपर्छ । करिब पाँच घण्टाको बसयात्रापछि चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्मको १७ किलोमिटर कच्ची बाटोमा जिपबाट जाने सुविधा छ । हिउँ परेको बेला भने जिपको यात्रा गाह्रो हुन्छ ।

कालिञ्चोक भगवतीको मन्दिर समुद्री सतहबाट तीन हजार आठ सय ४२ मिटर उँचाइमा छ । कुरी बजारदेखि एक घण्टा ठाडो उकालो हिँडेपछि मन्दिर पुगिन्छ । मन्दिर परिसरबाट रोल्वालिङ, लाङटाङ लगायत हिमशृंखला हेर्न सकिन्छ । मन्दिरमा जनै पूर्णिमा, दशैं तथा चैते दशैंमा कालिञ्चोकमा मेला लाग्छ ।

कालिञ्चोक क्षेत्रमा पर्यटकहरुको उल्लेख्य आगमनले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुगे पनि त्योसँगै केही समस्या पनि देखिएको स्थानीयले महसुस गरेका छन् । पर्यटकहरुले प्लास्टिकजन्य फोहोर यत्रतत्र फाल्ने क्रम बढेकोले तत्काल त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने पर्यटन व्यवसायी कुमार अधिकारीले बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment