Comments Add Comment

भियना विश्वको सर्वोत्कृष्ट सहर, यी हुन् गुणस्तरीय जीवनयापन भएका सहरहरु


अष्ट्रियाको राजधानी भियना लगातार आठौँ वर्ष पनि विश्वको सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

कन्सल्टिंग र्फम मर्सरले गुणस्तरीय जिवनयापनका दृष्टिले तयार पारेको विश्वका उत्कृष्ठ २ सय ३१ शहरको सूचीमा भियना पुनः पहिलो स्थानमा परेको हो । भियनाले आफ्ना बासिन्दाहरुलाई सबैभन्दा गुणस्तरीय जीवनयापन प्रदान गरिरहँदा इराकको राजधानी बग्दाद भने फेरि पनि जीवनयापनका लागि सबैभन्दा खराब सहरको रुपमा सूचीकृत बनेको छ ।

राजनीतिक स्थिरता, स्वास्थ्य सेवा, शिक्षा, अपराध, मनोरञ्जन तथा यातायात लगायतका दर्जनौँ सूचकहरुलाई आधार मानेर सहरहरुकेा वर्गिकरण गरिएको हो ।

व्यवसायिक र्फम मर्सरले यो सर्भेक्षणबाट प्राप्त नतिजाले बहुराष्ट्रिय कम्पनी तथा संस्थाहरुलाई आफ्ना अन्तर्राष्ट्रिय कर्मचारीका लागि क्षतिपूर्ति तथा कठिनाई भत्ता निर्धारण गर्न सहयोग पुुग्ने विश्वास गरेको छ ।

लण्डन, पेरिस, टोकियो तथा न्युयोर्क यो सूचीको शीर्ष ३० भित्र पर्न सफल भएनन् र तिनीहरुलाई जर्मन, स्कान्डिनाभियन, क्यानेडाली, न्युजील्याण्ड तथा अष्ट्रेलियन सहरहरुले निकै पछि पारेका छन् ।

एसियाली सहरहरुमा सिंगापुर सबैभन्दा उत्कृष्ट रह्यो । सिंगापुर विश्वका उत्कृष्ट सहरहरुको सूचीमा २५ औँ स्थानमा रहेको छ ।

अझ रोचक कुरा त के भने विश्वको केन्द्र अमेरिकाका सहरहरु गुणस्तरीय जीवनयापनका दृष्टिले खासै उत्कृष्ट देखिएनन् । अमेरिकाको सर्वोत्कृष्ट सहरका रुपमा सनफ्रान्सिस्को २९ औँ स्थानमा छ उक्त सहरमात्रै विश्वका टप ३० उत्कृष्ट सहरमा पर्न सफल भएको छ ।

विश्वका उत्कृष्ट सहरमध्ये अफ्रिकी क्षेत्रबाट सबैभन्दा माथि पर्न सफल सहर चाहीँ दक्षिण अफ्रिकाको डर्बान हो जुन ८७ औँ स्थानमा छ ।

भियना कसरी बन्यो सर्वोत्कृष्ट ?

१८ लाख जनसंख्या रहेको भियना सहरका बासिन्दाहरु सहरको क्याफे कल्चर, म्युजियम, थिएटर तथा ओपेराहरुबाट समेत लाभान्वित छन् । इतिहासमा हब्सबर्ग साम्राज्यको केन्द्र रहेको भियनामा सार्वजनिक यातायात तथा आबास भाडादर अन्य पश्चिमा देशका राजधानीहरुमा भन्दा सस्तो छ ।

टप फाइभमा को को परे ?

विश्वका सर्वोत्कृष्ट सहरमध्ये भियनापछि दोश्रो स्थानमा स्वीट्जरल्याण्डको ज्यूरिच छ । तेश्रोमा न्युजील्याण्डको अकल्याण्ड, चौथोमा जर्मनको म्युनिख र पाँचौँमा क्यानडाको भ्यानकुुभर रहेको छ ।

द्वन्दग्रस्त देश इराकको राजधानी बगदान विश्वको सबैभन्दा खराब सहरको रुपमा फेरि पनि सूचीकृत भएको छ ।

चाडको एन जामेना, सुडानको खार्तोम, हैटीको पोर्ट ओ प्रिन्स, यमनको साना तथा मध्य अफ्रिकी गणतन्त्रको बानगुुइ र सिरियाको दमास्कस पुछारको दोश्रोबाट क्रमशः सातौँ स्थानसम्म रहेका छन् ।

सूचीमा रहेका अन्य प्रमुख सहरहरु यी हुन्ः

सिड्नी दशौं, मेलबर्न १६औं, ओस्लो ३१ औं, बोस्टन ३५ औं, पेरिस ३८ औं, लण्डन ४० औं, न्युुर्योक ४४औं, टोक्यो ४७औं, वाशिंटन डिसी ४९औं, दुुबइ ७४ औं, क्वालालम्पुर ८६औं, दोहा १०८औं, बेइजिंग ११९औं, कोलम्बो १३२औं, मुुम्बइ १५४औं तथा नयाँ दिल्ली १६१औं स्थानमा रहेका छन् ।

यो सूचीमा नेपालका कुनैपनि सहर समावेश गरिएको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment