Comments Add Comment

कञ्चनपुर पुगेर ओलीले भने- गोविन्द गौतम हत्यामा भारतले माफी माग्नुपर्छ

३ चैत, महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको आनन्दबजारमा भएको गोविन्द गौतम हत्या प्रकरणमा भारतले नेपाल र नेपाली जनता समक्ष माफी माग्नुपर्ने बताएका छन् ।

महेन्द्रनगरमा आयोजित मेची-महाकाली अभियानको अन्तिम सभालाई सम्बोधन गर्दै ओलीले यो घटनामा नेपाल सरकारले लटर पटर गर्न नपाउने बताए । उनले भने, ‘मैले प्रधानमन्त्रीलाई भेटेर भनिसकेको छु, यो घटनामा भारतले नेपाल र नेपाली जनतासमक्ष क्षमायाचना गर्नैपर्छ । त्यसको लागि सरकारले अडान लिनुपर्छ ।’

उनले गौतम परिवारलाई भारतबाट क्षतिपूर्ति भराउन सरकारले पहल गर्नुपर्ने समेत बताएका छन् । साथै सिमानाको रक्षाका लागि कञ्चनपुरबासीले देखाएको विरताप्रति सलाम गर्ने ओलीले बताए ।

गौतमको परिवारलाई ५ लाख रुपैयाँ राहत

ओलीले पार्टीको तर्फबाट शहीद गोविन्द गौतमको परिवारलाई ५ लाख रुपैयाँ राहत रकमको घोषणा गरे । पार्टीको तर्फबाट घोषणा गरिएको सहयोग रकमको चेक ओलीले गौतमका परिवारले पाउने गरी जिल्ला अध्यक्ष तारा लामालाई हस्तान्तरण गरेका छन् ।

उनले गोविन्द गौतमका परिवारको भरणपोषण तथा छोरा छोरीको शिक्षा दीक्षाको जिम्मा राज्यले नलिएको खण्डमा एमालेले जिम्मा लिने घोषणा गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भने- सरकारले गरेन, कसैले हेरेनन् भने एमाले छ, एमालेले जिम्मा लिन्छ ।’

कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले कञ्चनपुर घटनामा घाइते भएका टिकाराम चापागाईँको उपचार खर्च पनि एमालेले व्यहोर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment