बुधबार, १६ चैत, २०७३
OnlineKhabar.com

कविता: फाटकमा घाम

कविता राई गाउँले

जब ओर्लिन्छ घाम आकाशबाट
तब मानेडाँडा छेउमा फुलेको
चाँपको फूलबाट खसेर हावा
यता जाऊँ कि उता जाऊँ हुन्छ
हाम्रो फाटकमा !

एकाबिहानै-
आँखा तन्काउन घरका धुरीहरू खोजिहिँड्ने
घामका मधुरा किरणहरू
प्रत्येक बिहान यसरी नै अल्मलिन्छन्
घरि यता घरि उता घरका चिसा धुरीहरूमाथि
हाम्रो फाटकमा !

शीतले कक्रक्क कक्रिएका
घरका छानाबाट चिप्लिएर
फेरि अल्मलिन्छ घाम-
पहिला आनीका आँखामा खसूँ कि
कि,  मेरा यी चिम्सा आँखामा खसूँ हुन्छ
हाम्रो फाटकमा !

जहिल्यै घाम अल्मलिइरहने यो ठाउँमा
यदि तपाईं नै आउनुभयो भने पनि
पक्कै अल्मलिनुहुनेछ
कि, इतिहासले कोरिदिएको यो सिमानामा
म कहाँनिर उभिएको छु भनेर !

हो, तपाईंका दुई आँखाले मात्रै
कहिल्यै छाम्न सक्दैन सिमाना
हाम्रो फाटकमा !

आफ्नै लयमा धरतीले
जब चाल्छ सुस्तरी पाइला
तब त्यही लयमा घामको छाया बोकेर
भ्रमित दौडिरहन्छ घामसँगै घामको छायाँ
आनी र मेरा दुई जोर चिम्सा आँखालाई
नाघेर, उछिनेर, छिचोलेर…
अनि कोर्छ अर्को रेखा
तब म देख्छु- उही सिमाना
अदृश्य रूपमा सरिरहेको छ
हाम्रो फाटकमा…!

पशुपतिनगर, इलाम ।  

२०७३ चैत ४ गते १२:२५ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • Rishi Bung Rai लेख्नुहुन्छ    |   २०७३ चैत ९ गते १६:२९

    Ramro laygoo

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this