Comments Add Comment

सिरियामा हवाई हमला, ४२ को मृत्यु


४ चैत, काठमाडौं । उत्तरी सीरियाको एक मस्जिदमा भएको हवाई हमलामा ४२ जनाको मृत्यु भएको छ ।

मस्जिदमा नमाज पढ्न धेरै व्यक्ति जम्मा भएकाबेला हवाई हमला भएको थियो ।

मानवअधिकारको क्षेत्रमा क्रियाशील संस्था सीरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार हवाई हमला अलेप्पो प्रान्तको अल जिनेहमा भएको हो । त्यहाँको मस्जिदलाई विद्रोहीहरुले कब्जामा लिएको भनिएको थियो ।

तर, आक्रमणमा मारिने अधिकांश सर्वसाधारण नागरिक छन् । आक्रमण भएको ठाउँ सिरियामा विद्रोहीहरुले कब्जामा लिएको प्रमुख क्षेत्रमा पर्दछ ।

तर, हवाई हमलामा कसको संलग्नता छ भन्ने नखुलेको बीबीसीले जनाएको छ । यद्यपि रुसी र सिरियाई सेनाका जहाजहरु सो क्षेत्रमा उडीरहेका थिए । अमेरिकी लडाकु विमानमार्फत पनि सो क्षेत्रमा जिहादी विद्रोहीलाई आक्रमण हुँदै आएको छ ।

सिरियामा पछिल्ला केही वर्षदेखि जारी गृहयुद्धमा राष्ट्रपति बसर अल असद सुरक्षित छन्, तर युद्ध अन्त्य हुने संकेत भने देखिएको छैन । एक दिनअघि राजधानी दमिश्कको एक अदालतमा भएको आत्मघाती बम आक्रमणमा ३१ जनाको मृत्यु भएको थियो ।

यो आक्रमण राष्ट्रपति असदविरुद्ध सुरु भएको विद्रोहको छैटौं वर्षगाँठमा भएको थियो । गृहयुद्धको कारण सिरियामा ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने एक करोडभन्दा बढी विस्थापित भइसकेका छन् ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment