Comments Add Comment

प्रमुख निर्वाचन आयुक्तले प्रधानमन्त्रीलाई भने– यथास्थितिमा मधेसमा चुनाव गर्न गाह्रो छ

४ चैत, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अहिलेकै अवस्थामा तराई-मधेसका जिल्लाहरुमा निर्वाचन गर्न गाह्रो हुने बताएका छन् ।

मधेसी मोर्चाले आन्दोलनको घोषणा गरे लगत्तै प्रमुख आयुक्त यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिने वातावरण बनाउन आग्रह गरेका हुन् । बालुवाटारमा भएको भेटमा यादवले मधेसी मोर्चासहित संसदमा भएका र नभए पनि चुनावमा भाग लिन चाहने सबै दललाई निर्वाचनको स्वामित्व ग्रहण गर्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।

भेटपछि यादवले भने, ‘अहिले पनि समस्या समाधान गरेर सबै दल चुनावमा जाने वातावरण बनाउने समय छ । निर्वाचनको स्वामित्व सबै राजनीतिक दल र जनताले लिने अवस्था बनाउनुपर्छ ।’

प्रमुख आयुक्त यादवले आयोगले अहिले चुनावका लागि कर्मचारीहरु खटाउने सहितका काम गरिरहेको बताए । यस क्रममा मधेसका जिल्ला लगायत कतिपय ठाउँमा अप्ठ्यारो हुन सक्ने देखेर छलफल गर्दै अगाडि बढिरहेको उनको भनाइ थियो ।

२१ हजार मतदाता शिक्षा स्वयंसेवक खटाउने

प्रमुख आयुक्त यादवले निर्वाचनमा उत्प्रेरणा जगाउने उद्देश्यले देशभर २१ हजार मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको पनि जनाएका छन् । उनले निर्वाचन आचारसंहिता पालना गर्न सरकार र राजनीतिक दलहरुलाई सचेत गराउँदै आएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment