Comments Add Comment

कथा: डर

आकाशमा डम्म बादल छ । पानी पर्ने निश्चित जस्तै  छ । घडी हेर्छु, ३:१७ भएको छ ।

घर अगाडिको सडकबाट घर हेरेँ । रङ उडिसकेको इँट्टाको घर आफ्नो जस्तो नलागे पनि माया लाग्यो । आँगन शान्त थियो, तर मन परेन ।

भान्छाघरको  गारो ठाउँठाउँमा उप्किएको थियो, हत्केलाको छाला उप्के झैं । धुरीबाट धुवाँ निस्किरहेको थियो ।

सोचेँ, ‘के गर्दै होलिन् बूढी माउ, के पकाउँदै होलिन् एक्लो ज्यानलाई !’

आँगन टेक्न मन लागेन, मूल सडकतिर  हिँड्न थालेँ । धेरै घर थपिएका, थोरै  घर फेरिएका, बाटो ग्राभेल ।

गाने, जुल्फेको घर अगाडि पुगेँ । यी दुई विश्वकर्माका घर हुन्, विष्ट र बडुवालले कति गर्दा पनि यो ठाउँ छोड्न नमानेका ।

यो गाउँ पूरै हेर्ने हो भने त कुनै लेखकको निबन्ध जस्तो लाग्छ । उत्तर र पश्चिमपट्टि जङ्गल । उत्तरको जङ्गल तल डुम बाडा । डुम बाडासँगै जोडिएको बाहुन टोल । बाहुन टोल  र विष्ट-बडुवाल टोलको बीचमा खेत । यी दुई विश्वकर्माका घर  विष्ट र बडुवालका टोलको सिरानमा छन् । थारु गाउँ  यो गाउँको अन्तिम टोल हो, जुन ठूलो पनि छ । पूर्व र दक्षिणपट्टि सल्यानी नदी । सल्यानी नदीले यो गाउँलाई अरु गाउँसँग छुट्याएको छ ।

कथाकार

अगाडि एउटा महिला देखा परी । गुन्यु-चोलीमा छे, बच्चा बोकेकी । सामुन्नेमा पुगेर एकचोटि अनुहार हेरेँ । उसले मलाई नै एकटकले हेरिरहेकी रै’छ ।

सरासर अगाडि बढेँ । पछाडिबाट उसको आवाज सुनियो ।

‘मलिकुवा, मुहिन नै चिल्लो ? मै भ्याभ्ली ।’

‘भ्याभ्ली’ शब्द सुन्नासाथ पछाडि फर्केर हेरेँ ।

ऊ मतिर नै फर्केकी रै’छ ।

‘भ्याभ्ली, तँ कति बूढी देखिएकी होस् !’

भ्याभ्ली हाँसी । बल्ल पो भ्याभ्ली जस्ती देखिई ।

‘कब आइलो मलिकुवा ?’

‘भर्खर आएको, अनि यो के मालिक सालिक भनिरा !’

‘मलिकुवा छावा मलिकुवा टो बा, नै टो मेघुवा कहु ?’

फेरि हाँसी, फेरि भ्याभ्ली जस्ती देखिई ।

‘चली हमार घर’ भन्दै ऊ मेरो अगाडि लागी ।

‘तँ त माथितिर पो जाँदै थिइस् त ।’

‘अब काल जाइम ।’

 

स्कूलको छेउछेउ हिँड्दै गर्दा मैले सोधेँ, ‘भ्याभ्ली, स्कूल कतिसम्म छ अहिले ?’

‘मैइन का पता ! मै स्कूल नै जाइटु ।’

फेरि हाँसी । यी थारुहरुले भानुभक्तको श्लोक नसुनेकाले हाँस्दा र पाद्दा चाहिँ निर्धक्क  हुन्छन् ।

 

ऊ अघि-अघि छे, म पछि-पछि छु ।

‘भ्याभ्ली यति बूढी कसरी भइस् नि ?’ सोधेँ ।

‘टुहर मर्दन जैसी जिउ कहाँ रहिठ जन्निन जिउ !’ उसले भनी ।

फेरि हाँसी ।

त्यसपछि केही नबोली उसको पछि लागेँ ।

 

उस्तै छ थारु गाउँ  । उस्तै छन् लामा घरहरु । उस्तै छन् असोजका सफा आँगन । उस्तै छन् बडन, बेलौतीका रुखहरु ।

‘हेर टो को आइल बा’, भ्याभ्लीले भनी ।

बडनको रुखमुनि सान्नी काट्दै गरेको थारुले मलाई हेर्‍यो । उसले सकेजति आँखा ठूलो पारेर भन्यो, ‘ए डाइ, मेघुवा !’

बालापनमा जस्तो मोटोघाटो नरहे पनि बर्जङलाई चिन्न त्यति गाह्रो भएन ।

 

‘कब आइले, कैसिन बा ?’, ऊ हतारहतार उठ्यो । गोरु  बाँधेको गोठभित्र गयो । डोरे खटियाब लिएर आयो । आफूले सान्नी काटिरहेको ठाउँ अगाडि बिछ्यायो ।

‘अब बैठ’, ऊ बोल्यो ।

‘जा, पानी नान टो’, भ्याभ्लीतिर हेर्दै ऊ बोल्यो । भ्याभ्लीले कतिखेर काखको बच्चालाई कतै राखिसकिछे ।

म र बर्जङ आमनेसामने भएर बस्यौं ।

 

‘मिझ्नी का खाइबो ?’, भ्याभ्लीले सोधी ।

‘जे मन लाग्छ ख्वा न’, म बोलेँ ।

‘सिर्दा रोटी कैसन लागटा ?’, बर्जङ बोल्यो ।

‘जेसुकै बनाए हुन्छ । तर नेपाली बोल् है, मलाई थारु आउन्न ।’

‘हा, अब टो टै बजारिया होइगिले’, भ्याभ्ली बोली ।

‘नेपालीमा बोल् भन्दै छु’, आँखा तर्दै भनेँ ।

 

बर्जङ फेरि सान्नी काट्न थाल्यो । म ऊ तिरै हेरिरहेको थिएँ ।

सोध्यो, ‘बजैलाई लिन आ होस् ?’

‘हो यार’, मैले भनेँ ।

‘जान्नन् बूढी, यतै मर्ने कुरा गर्छिन् ।’

‘बुवाले भनेर लिन आ’को म त ।’

केही समय हामी दुवै चुपचाप रह्यौं ।

एकछिनमा सोधेँ, ‘बर्जङ, हाम्रो खेती अहिले कसले गर्छ ?’

सान्नी काट्न छोडेर उसले मतिर अनौठो तरिकाले हेर्‍यो अनि सोध्यो-

‘किन ?’

‘त्यसै, जान्न मन लागेर ।’

‘मैले ।’

फेरि चुपचाप भयो ऊ ।

धन्न भनिनछु ‘हाम्रो खेत लगाउनेले हामीलाई अधियामा ठग्छ रे । त्यै भएर खेत पनि अर्कालाई दिनु छ ।’

म हिँड्न लाग्दा बुवाले भनेको सम्झिएँ, ‘आमा नआए पनि त्यो खेत चैं अर्कालाई दिएर आउनू । त्यो थारु बदमास छ । धान चोर्छ । तेत्रो खेतको ११/१२ क्विन्टल मात्र दिन्छ । आमा लाटी परिन् । थारुले समेत ठगेको चाल पाउँदिनन् ।’

 

बर्जङलाई हेरेँ- काती परेको मैलो टिसर्ट, सिकागो बुल्स प्रिन्ट भएको कट्टु । पातलो जिउ, कसिला पाखुरा । साना तर गहिरा आँखा ।

बा लाई सम्झेर उदेक लाग्यो । बर्जङको घरतिर आँखा डुलाएँ । छानामा सुकेका लौकाका रलाहरु । छानाको पल्लो छेउमा सुप्पोमा साना माछा सुकाइएको । छेउको खाँबोमा माछा मार्ने ढडिया र जाल टाँगिएको । वल्लो किनारमा बीउ उखेल्दा प्रयोगमा आउने साना तीन ओटा खटौली । भित्तामा घोडा  र जिराफ जस्तै लाग्ने माटोका बुट्टा । कतै-कतै माटोले टाँसिएका ऐना ।

दुई पल्लाको ढोका खुल्लै छ । ढोकाको छेउमै हुक्का र ढोकामा अडेस लागेर हाम्रा कुरा सुन्दै गरेकी भ्याभ्ली । रातो र फिक्का नीलो रङको सारी, रातो ब्लाउज । गाजल नपुगेका आँखा, लाली नपाएका ओठ ।

 

त्यसै-त्यसै चुरोटको तलतल लागेर आयो । हुक्कामा फेरि नजर फालेँ ।

‘भ्याभ्ली, हुक्का ल्या त’, अह्राएँ ।

उसले सोधी, ‘का करे ?’

‘तान्न मन लाग्यो ।’

बर्जङ बोल्यो, ‘के रे ?’

‘हुक्का तान्न मन लाग्यो के’, मैले हाँस्दै भनेँ ।

‘छोड्दे, शहर बसेको मान्छे, गाह्रो होला ।’

‘केही गाह्रो हुन्न ।’

‘नान टो भ्याभ्ली ।’

बर्जङको अगाडि हुक्का राखेर भ्याभ्ली घरभित्र पसी । एकमुठी तमाखु र अर्को हातमा चिम्टाले आगो च्यापेर बाहिर आई । हुक्काको मुखमा तमाखु हालेर आगो राखिदिई ।

बर्जङ सु… सु…. गर्दै हुक्का तान्न थाल्यो । मजैले एक फाँको आएपछि भन्यो, ‘ले !’

 

भक्तपुरमा कहिलेकाहीँ साथीहरुसँग बसेर एप्पल फ्लेवरको हुक्का तान्ने मेरो लागि यो हुक्का अलि कडा थियो, तैपनि तानेँ ।

मुखभरिको धुवाँ बिस्तारै छोड्दै बालापन सम्झिन थालेँ ।

एक समय थियो, बर्जङको बुवा प्रतुवान छोड्को चन्द्राको घरमा काम गर्थ्यो । भ्याभ्लीको बुवा स्याउल्यान माइलो हाम्रो घरमा काम गर्थ्यो । आशाराम उषाको घरमा काम गर्थ्यो । पृतिराम  नविनको घरमा काम गर्थो । यसरी नै धेरै जसो थारुहरु बाहुन र विष्ट बडुवालहरुको घरमा काम गर्थे ।

त्यसबेला हाम्रो गाउँमा स्कूल थिएन । हामी पढ्न खोलापारि जान्थ्यौं । हामीसँगै थारुका छोराछोरी पनि केही समय त स्कूल धाउँथे । तर, कहिले स्कूल ड्रेस त कहिले कापी-कलम नभएको कारण उनीहरु खुब गोदाइ खान्थे र बिस्तारै स्कूल जान छोड्थे ।

भ्याभ्ली र म चाहिँ सधैं जान्थ्यौं । भ्याभ्ली नगए म पनि नजाने भएकाले बा ले भ्याभ्लीलाई पनि ड्रेस सिलाइदेका थिए ।

 

खोला तर्दा म खुब डराउँथेँ, र त भ्याभ्ली अघि-अघि लाग्थी । भ्याभ्ली स्कर्ट अलि माथी सार्थी, म प्यान्ट अलि माथि सार्थेँ । खोलाको मझधारतिर बढ्दै जाँदा पानी अलि माथि सर्थ्यो, फेरि भ्याभ्ली स्कर्ट अलि माथि सार्थी, म प्यान्ट अलि माथि सार्थेँ ।

यसैगरी खोला आधी तरेपछि पानी अलि तल सर्थ्यो, भ्याभ्ली स्कर्ट अलि तल सार्थी, म प्यान्ट अलि तल सार्थेँ । बिहान-साँझ सधैं यस्तै हुन्थ्यो ।

बिहान खोलामा खासै मान्छे हुन्थेनन् । साँझ भने स्कूल नजाने केटाकेटीहरु कोही पानीमा डुम खेलिरहेका हुन्थे त कोही मट्याङ्ग्रा बनाइरहेका हुन्थे ।

भ्याभ्ली पनि लुगा फुकालेर खेल्न थाल्थी । तर, म प्रायः त्यसरी खेल्दिनथेँ । किनकि जुन दिन पानीमा खेलेर आउँथेँ, त्यो दिन आमा वा बाको झापड खानुपर्थ्यो ।

 

‘ले मिज्जी, खा’, भ्याभ्लीको आवाजले म झस्किएँ । हुक्काको तमाखु सकिइसकेको रै’छ । माछाको सिद्रा र गहुँका रोटी थिए, साना दुई वटा थालमा ।

‘जा पानी नान टो’, भ्याभ्लीले बर्जङलाई अह्राई ।

बर्जङ उठेर जानै लाग्दा मैले भनेँ, ‘मैं जान्छु । हातखुट्टा पनि धुनु छ ।’

म नलतिर लागेँ, बर्जङ मेरो पछि-पछि लाग्यो । उसले नल चलाइदियो  । मैले हातखुट्टा धोएँ । भाँडा सुकाउन राखेको मेचबाट बर्जङले लोटा टिप्यो र पानी भरेर खाट छेउकै भुइँमा राखिदियो ।

 

म रोटी र माछा खान थालेँ । बर्जङ भुइँमा बसेर मतिर हेरिरह्यो ।

सोध्यो, ‘के गर्छस् काठमाडौंमा ?’

‘पढ्छु’, मैले भनेँ ।

‘कतिमा पढ्छस्, १५ सकियो ?’

‘सकियो ।’

‘बिहे गर्दैनस् ?’

‘केटी खोजिदे न त !’

हामी दुवै हाँस्यौं । हाम्रो कुरा सुनिरहेकी भ्याभ्ली पनि हाँसी ।

फेरि बर्जङ बोल्यो, ‘जुत्ता त खत्रा छ तेरो ।’

‘लिन्छस् ?’ मैले सोधेँ ।

फेरि सबै जना हाँस्यौं ।

‘हुक्का मात्रै खान्छस् कि जाँड पनि खान्छस् ?’

‘बेलुका खुवाउने हो र ?’

‘धान नै पाकेको छैन यार ।’

ऊ हाँसेन, भ्याभ्ली हाँसिन । मात्र म अलिकति मुस्कुराएँ ।

 

टायर गुडाउँदै एउटा बच्चा आँगनमा आइपुग्यो ।

‘यो कसको छोरो बर्जङ ?’ मैले सोधेँ ।

‘हामर टो हो’, हाँस्दै भ्याभ्ली बोली ।

‘अघिको तेरो काखको कसको बच्चा नि ?’

‘ओ फिन हामार टो हो ।’

बर्जङतिर आँखा झिम्काउँदै जिस्क्याएँ, ‘अरु काम क्यै छैन है !’

ऊ गाह्रो मान्दै हाँस्यो ।

अनि भ्याभ्ली तिर हेर्दै भनेँ, ‘तँ पनि बलियो छस् है ।’

‘अब्बे मुहाइ डिम !’

बर्जङले भन्यो, ‘ल तँ खाँदै गर है, म गोरुलाई सान्नी हाल्छु ।’

भ्याभ्ली अहिले आएको छोरातिर हेर्दै बोली, ‘हातमुख डोइ के आइजा मिज्नी खा ।’

 

आँगन खाली भो, तर दिमाग भारी भो । पूरै बालापन दिमागभरि आउन थाल्यो ।

पुस-माघको महिनामा कुनै घरको आँगनमा जम्मा हुन्थ्यौं केटाकेटी । कोही चुङ्गी खेलिरहेका हुन्थे । कोही भुसको आगोमा मकै फुराइरहेका हुन्थे । कोही भात पोलेर खाइरहेका हुन्थे ।

मैले बा को डरले पोलेको भात कहिल्यै खान पाइनँ ।

 

दिउँसोतिर म, बर्जङ, सीता, भ्याभ्ली, कल्लु, हसिना पिसाब फेरेर को टाढासम्म पुर्‍याउन सक्छ भन्ने खेल खेल्थ्यौं ।

रोडको एक किनारमा बसेर लडियाका चक्काको छाप कटाउनुपर्थ्यो । जो अन्तिम हुन्थ्यो, त्यो अर्कोपल्ट खेल्न पाउँथेन । यसरी क्रमश: संख्या घट्दै जान्थ्यो । अन्तिममा जो बच्यो, त्यही प्रथम हुन्थ्यो । त्यसैले आफ्नो पालो सकियो कि पानी खान नलतिर दौडिहाल्थ्यौं ।

यस्तो खेलमा प्राय: सीता नै प्रथम हुन्थी । ऊ खुट्टा फारेर बस्थी र दाँतहरु कस्दै उ… उ… गर्दै कनेर  पिसाब फेर्थी । पिसाबलाई  जहिल्यै सडकको पल्लो छेउ पुर्‍याउँथी । हामीलाई लाग्थ्यो, ऊ हामीभन्दा अलि ठूली र मोटी छ, पानी बढी पिउन सक्छे र सधैं जित्छे ।

 

‘का के हासटे ! पग्लाइगिले ?’

हाँसिरहेको रै’छु, भ्याभ्लीले भनेपछि चाल पाएँ ।

‘के हो, हुक्का लाग्यो कि क्या हो ? नतान् भनेको मानेन’, पछाडितिर बर्जङको आवाज सुनेँ । फर्केर हेरेको त कुखुराको भाले भुत्ल्यारहेको रै’छ ।

मैले भनेँ, ‘क्यै हैन यार, पहिलेको कुरा सम्झेर हाँसो उठ्यो ।’

खै, कति रोटी खाए चाल पाइनँ । सिद्रा चाहिँ लगभग सकिन लागेका थिए ।

 

बर्जङ गोरुको गोठमा खै के गर्दै थियो । उसलाई भनेँ, ‘बर्जङ हुक्का बनाइदे न !’

‘फेरि खान्छस् ? गाह्रो होला’, उसको आवाज बाहिर आइपुग्यो ।

‘हुन्न के, म चुरोट खाने मान्छे हुँ ।’

‘भ्याभ्ली, एक घची आवर बनाइ डे ।’

भ्याभ्ली पहिले जसरी नै आई । एकमुठी तमाखु, अर्को हातमा चिम्टाले च्यापेको आगो ।

मेरो अगाडि टुक्रुक्क बसी ऊ । तमाखुमा आगो हालेर बर्जङले झैं सु… सु… गर्दै तान्न थाली । मज्जैले धुवाँ आएपछि मेरो हातमा पाइप थमाई, ‘ले मर मेघुवा ।’

 

उसले सोधी, ‘कैसिन बा काठमाडौं ?’

म- ‘तँ जस्तै फोहोर ।’

उसले आँखा तरेर भनी, ‘मुहा डेम !’

म- ‘हो के ।’

ऊ- ‘मेघुवा, कोरिया !’

म- ‘थरुनी ! कोरिया भन्छस् ?’

ऊ ओठ लेप्य्राएर हिँडी ।

 

एकपल्ट हामी केटाहरु पिसाबले क, ख, ग लेख्ने खेल खेलिरहेका थियौं । भ्याभ्ली म पनि खेल्छु भन्दै आई । हामीले झैं कम्मर हल्लाएर लेख्न के खोजेकी थिई, पूरै पिसाब उसकै तिघ्रामा लाग्यो । ‘क’  पनि राम्ररी लेखिएन  ।

त्यो दिन मैले ‘क पनि लेख्न जान्दिन, जिउमै पिसाब फेर्ने फोहोरी थरुनी’ भनेर उसलाई खुब जिस्काएको थिएँ । भ्याभ्ली रिसले हो या लाजले, केही दिन मसँग भेट्न आइन ।

बच्चामा भ्याभ्ली कहिल्यै बर्जङको पक्षमा भएको मलाई याद छैन । स्कूलदेखि आँगनसम्म होस् या सडकदेखि ठाटीसम्म, मेरा प्रत्येक गल्तीमा उसको आधा सेयर हुन्थ्यो । गल्तीको पुरस्कार भने म मात्र पाउँथेँ, आमा-बुवाको गाली र थप्पड ।

त्यो दिनपछि केही समय भ्याभ्ली र मेरो भेट भएन । ऊ मलाई भेट्नै आइन । चार कक्षाको जाँच भर्खर सकिएकाले स्कूल पनि थिएन ।

माओवादीको बिगबिगी बढ्यो भन्दै पछि आमा, म र बहिनीलाई लिएर बा काठमाडौं जानुभयो । पुर्ख्यौली सम्पत्ति थारुको जिम्मा दिएर हजुरआमाले जान मान्नुभएन । हामी काठमाडौं हिँड्ने दिन भ्याभ्लीलाई देखेको थिएँ, बर्जङ र कल्लुसँग सिन्की खेलिरहेको । म बुवासँग भएकाले भ्याभ्लीसँग नबोली गाउँ छोडेको थिएँ ।

आकाशबाट पानीका केही थोपा झर्न थाले । बर्जङ घरभित्र थियो । म कराएँ, ‘बर्जङ, पानी  पर्न लाग्यो यार !’

मेरो बोली सुनेर ऊ हतारिँदै बाहिर आयो र आकाशतिर हेर्न थाल्यो । भ्याभ्ली पनि आकाशतिर हेर्दै बोली, ‘मेघुवा, आइतो पानी आइजाइट ।’

बर्जङले मतिर हेर्दै भन्यो, ‘पाकेको धान खत्तम हुने भो !’

‘असोजको पानी कति टिक्ला र, नआत्ति न  !’ मैले ढाडस दिएँ । तर, कसैले सुनेन । पानी दर्किएर आवाज छोपियो ।

भ्याभ्लीले मेरो हात तानी, ‘चल भिटर, बर्बार पानी प्रता ।’

लगत्तै बर्जङलाई पनि अह्राई, ‘खाट भितर नान ।’

 

चुलोको तीनतिर भ्याभ्ली, बर्जङ र म बस्यौं । भ्याभ्लीको आँखा चुलो वरिपरि छ । बर्जङको आँखा घरबाहिर छ । आजको आकाशभन्दा उसको अनुहार अँध्यारो छ । मेरो आँखा घरि भ्याभ्लीमा छ, घरि बर्जङमा छ ।

बर्जङ रुन्चे स्वरमा बोल्यो, ‘हेर न, पानी झन् बढ्यो ।’

मैले सान्त्वना दिने प्रयास गरेँ, ‘नआत्ति न, थामिन्छ ।’

बर्जङ बोल्यो, ‘पोहोर बाजेले तँ धान चोर्छस्,अब तँलाई खेत दिन्न भनेका थिए । तँ खेत अर्कालाई दिन पनि आ’को होस् है !’

मैले ‘हैन’ मात्र भनेँ ।

टुकीको धिपधिपे उज्यालोमा उसका आँखा भरिएको देखिरहेको थिएँ । भ्याभ्लीले मतिर यसरी हेरी, मानौं म कुनै अपराधी हुँ । मेरा आँखा झुकिरहे । अनौठो डर लागिरह्यो ।

 

‘अब खाना खाऔं’, बर्जङ बोल्यो ।

भ्याभ्लीले एउटा भाँडा ल्याएर मेरो अगाडि राखिदिई अनि हात धुन पानी हालिदिई । बर्जङ र भ्याभ्लीले पनि हात धोए । दुई वटा थालमा मास्री भात थियो । अर्को छुट्टै थालमा भात अनि एक कचौरा मासु थियो, जुन मेरो लागि थियो ।

म खाना खान थालेँ । उनीहरुले पनि खान बसेँ । बर्जङ पटकपटक बाहिर हेरिरहन्थ्यो । उसको हेराइलाई भ्याभ्लीका आँखाले पनि साथ दिइरहेका थिए । उनीहरुको ध्यान खानामा कम र बाहिरको पानीमा बढी  थियो । खेत हाम्रो थियो, तर घाम-पानीको डर हामीलाई भन्दा उनीहरुलाई बढी छ ।

भ्याभ्ली बोली, ‘मेघुवा तै खेत औरेहन लगाइ डेहटे !’

मैले सकेसम्म कुरा लुकाउने प्रयास गरेँ, ‘हैन भ्याभ्ली, म हजुरआमालाई लिन आ’को हुँ ।’

 

म मेरो लागि बिछ्याइएको खाटमा बसेँ । बर्जङ हुक्का तान्न थाल्यो । प्रत्येक एक सर्को धुवाँ छोड्दा ऊ बाहिर  हेरिरहन्थ्यो । उनीहरुका दुवै छोरा निदाइसकेका रहेछन् । भ्याभ्ली उनीहरुलाई खाना ख्वाउन उठाउँदै थिई । उसको मसिनो स्वर डेहेरी पर्तिरबाट आइरहेको थियो- “चुनु-चुनु, चुनु-चुनु !’

बर्जङले तानिरहेको हुक्काको पाइप मतिर बढायो, ‘तान्छस् ?’

म तान्न थालेँ ।

उसले भन्यो ‘मेघराज, खेत निकै राम्रो छ, तर समय राम्रो भैदिँदैन ।’

म अपराधी झैं  टाउको झुकाएर बसिरहेँ । भ्याभ्ली छोराहरुलाई खान खुवाउँदै थिई ।

‘मेघुवा- भ्यागुतो’ थारुहरुले मलाई जिस्काउने नाम । यस्तै सोच्दासोच्दै राति कतिखेर निदाएछु ।

बिहान निद्रा खुल्दा ४ बजेर १२ मिनेट गएको थियो । नल गएर हातमुख धोएँ । उनीहरु सुतिरहेका थिए । ढोकानिर मेरा एक जोर जुत्ता र उनीहरुका दुई जोर चप्पल थिए । एक जोर चप्पलको फित्ता पहेँलो रङको थियो भने अर्कोको रातो । पहेँलो फित्ता भएको चप्पलको  कुर्कुच्चा बस्ने ठाउँमा प्वाल परेको थियो ।

त्यही चप्पल लगाएर मैले एकाबिहानै त्यो घर छोडेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment