Comments Add Comment

कृष्ण धरावासीको नजरमा प्रिय पाँच नारी पात्र

कृष्ण धरावासी महिलाको पक्षमा कलम चलाउने लेखकको रुपमा चिनिन्छन् । उनका २६ वटा कृतिमध्ये अधिकांशमा महिलालाई नै केन्द्रमा राखेर लेखेको उनी बताउँछन् । समाजलाई महिलामैत्री बनाउन र महिला-पुरुषमा समानताको भावना पैदा गर्ने उद्देश्यले उनले साहित्य सिर्जना गर्दै आएका छन् । अहिलेसम्म आफूले लेखेका कृतिहरुमा आएका विभिन्न पात्रमध्ये विशेष मन पर्ने पाँच नारी पात्रलाई धरावासीले यसरी चर्चा गरेः

राधा (‘राधा’ उपन्यास)

‘राधा’ उपन्यासकी शीर्ष पात्र राधा मलाई निकै मन पर्छ । उपन्यासभित्र राधा स्थिर प्रेमको विम्ब भएर आएकी छिन् । उनले विद्रोह गरेकी छिन् । तर, त्यो विद्रोह सम्बन्ध तोड्ने र ध्वंश गर्ने खालको नभई रचनात्मक छ । उनको विद्रोहले समाज, घर-परिवार र व्यक्तिलाई निराशाबाट आशामा डोर्‍याउँदै जीवनवादी बनाएर लैजान्छ । त्यही भएर मलाई राधा पि्रय र शक्तिशाली लाग्छ । राधा पात्रको माध्यमबाट प्रेम जसरी प्रस्तुत भयो, त्यो त खासमा लेखकको हैसियतले मैंभित्रको कुरा हो । मेरो मनको प्रतिनिधित्व गरेकोले पनि उनी प्रिय पात्र लाग्छ ।

जयमाया (‘शरणार्थी’ उपन्यास)

इन्द्रबहादुर राईको ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ भन्ने कथाबाट मैले जयमायालाई ‘शरणार्थी’ उपन्यासमा ल्याएँ । त्यो कथा पहिलो पटक पढ्दा नै म एकदम प्रभावित भएको थिएँ । बसाइँ सरेर परिवार र सिंगो बस्तीसँगै हिँडेकी जयमाया त मनमै बसी । एक समय हामी पनि पहाडबाट बसाइँ सरेर शरणार्थीकै हैसियतमा मधेस झरेकाले जयमायामा मैले आफ्नो विम्ब पाएँ हुँला । घर, खेत, अन्नपात र बस्तुभाउ त्यत्तिकै छाडेर दुइटा ढाक्रेले बोक्न सक्ने सामानको साथमा चार सन्तानलाई अघि-पछि लाएर मेरी आमा र अपांग बुवा रुँदैरुँदै हिँडेका थिए । म उतिबेला सात वर्षको थिएँ ।

जयमायाहरु पनि त्यसैगरी थातबास छोडेर हजुरबाको देशतिर फर्केका छन् । सात वर्षको उमेरमा म जसरी बसाइँ सरेर परिवारसँग हिँडेँ, जयमायाहरु त्यसरी नै हिँडेको जस्तो लागेर मलाई छोयो । आईबी राईको कथामा टकाव तरेपछि जयमायाको कथा सकिन्छ । तर, मैले टकाव पारिबाट पनि जयमायालाई सिंगो उपन्यासमा ल्याएँ ।

पछिल्लो पटक गत वर्ष प्रकाशित ‘ग्रेट फल्स’ उपन्यासमा पनि मैले जयमाया र जयबहादुरलाई ल्याएको छु । उनीहरु ‘ग्रेट फल्स’ झापाको खुदुनाबारी शरणार्थी क्याम्पबाट तेस्रो मुलुक पुनर्वास योजना अन्तर्गत अमेरिका पुगेका छन् । जयमायाको सबभन्दा मन परेको पाटो उनको संयम हो । उनी जीवनप्रति जहिल्यै सकारात्मक र आशावादी छिन् । जयमायाको यात्रा हेर्दै जाँदा हामीलाई संघर्षसँग जुध्दै बाँच्न प्रेरित गर्छ ।

उमा (‘टुँडाल’ उपन्यास)

‘टुँडाल’ मा सुस्मिता मूल पात्र भए पनि मलाई भने अर्की पात्र उमा उल्लेखनीय लाग्छ । उसको बोल्डनेस मलाई मन पर्छ । सुरुमा सुस्मिता संघर्षशील देखिए पनि पछि उसको जीवन एउटै गतिमा बगेर गएको छ । बरु बीचमा आएकी उसकी साथी उमामा ठूलो विद्रोह भाव देखिन्छ । ऊ लजालु र लाटी-सोझी जस्ती छे । तर, पछि कुमारी आमा हुन्छे । समाजमा छोराछोरी पाउन बिहे नै गर्नुपर्छ भन्ने सिद्धान्तलाई भत्काइदिन्छे । एकछिन एउटा लोग्नेमान्छे भए आमा बन्न सकिन्छ भन्ने साहसी कुरा उसले भन्छे ।

तर, कुमारी आमा बन्न साहस गरेकी उमा आखिरमा झलेन्द्रलाई त्यो बच्चाको बाउ बन भनेर प्रस्ताव गर्छे । अन्ततः पुरुषको अडेसो लिन पुग्ने उमा कसरी सशक्त भई त भन्ने प्रश्न पनि पाठकहरुबाट आयो । नारीवादी चेतनाको सशक्त विद्रोह गर्ने उमाको यो मनोवैज्ञानिक मोड हो ।

मनोविज्ञानले भन्छ, जुन दिन एउटा बच्चाले आफू जन्मिनका निम्ति एउटा बाउको पनि भूमिका छ भनेर थाहा पाउँछ, त्यो दिन आफ्नो बाउ को होला भनेर उसको दिमागमा प्रश्न उठ्छ । त्यो मनोवैज्ञानिक पाटो सबै सिद्धान्त, नारा, गोष्ठी, सेमिनारभन्दा निकै परको कुरा हो । बच्चाले जब उत्तर माग्छ, आमाको तेरो बाउ कोही थियो भनेर भन्दिनुपर्ने कर्त्तव्य हुन्छ । उमाले गरेकी त्यही हो ।

आमा (‘आधा बाटो’ उपन्यास)

आमा मेरो जीवनमै आधारित ‘आधा बाटो’ उपन्यासकी पात्र हुन् । उनी मेरै आमा हुन्, अम्बिकादेवी भट्टराई । मैले यो किताब आमा बितिसकेपछि वर्षान्तसम्मको एक वर्षमा ०५८ सालमा लेखेको हुँ । हाम्रो परिवारको संघर्षमा सबैभन्दा ठूलो भूमिका आमाको भयो । ४८ वर्षको उमेरमा बुवा बित्दा आमा ४२ वर्षको हुनुहुन्थ्यो । हामी ६ जना छोराछोरीमध्ये गरिबीका कारण बुबाले दुई छोरीको बिहे १६ र १४ वर्षकै उमेरमा गरिदिइसक्नुभएको थियो । बुबा बित्दा म १६ वर्षको थिएँ । साहिँली बहिनी ११ वर्ष, भाइ कुमार साढे दुई वर्ष र कान्छी बहिनी नानु दुई महिनाकी थिई ।

हाम्रो घरायसी आर्थिक अवस्था निकै दयनीय थियो । त्यस्तो परिस्थितिमा आमाले हामीलाई पालनपोषण गरेर कसरी हुर्काउनुभयो होला ! कहिले मकै भुटेर ख्वाउनुहुन्थ्यो, कहिले कनिकाको खोले ख्वाउनुहुन्थ्यो, कहिले भात नै ख्वाउनुहुन्थ्यो । जीवनमा त्यत्रो संघर्ष गर्ने मेरी आमा उपन्यासकै पात्र हुनुभयो । उपन्यासको पात्र हुँदा उहाँको भोगाइ लेखकले कल्पनाबाट दुःख खडा गरिदिए जस्तो भयो । धेरैको आमाको प्रतिनिधित्व त्यो पात्रले गर्छ । त्यस कारण ‘आधा बाटो’ की आमा अब मेरी आमा होइन, त्यो एउटा पात्र हो ।

जयकला (‘झोला’ कथा)

‘झोला’ कथाकी पात्र हुन् जयकला । मैले कथा लेख्दा उनको कुनै नाम दिइएको थिएन, यसलाई फिल्म बनाउँदा भने हामीले जयकला नाम राख्यौं । ती पात्र मलाई किन मन पर्छ भने, चन्द्र शमशेरले १९७७ सालमा सतिप्रथा अन्त्य गर्नु अगाडिको समयमा उनले जसरी कष्टपूर्ण जीवन बाँचिन्, त्यो निकै पीडादायी थियो ।

महिलाको कुनै इच्छा नसुनिने र विकल्प नहुने त्यो समयमा आफूभन्दा ४० वर्ष जेठो मान्छेसँग उनको बिहे भएको छ । तर, उनलाई थाहा छ, आफूभन्दा निकै पाको यो मान्छे छिटै मर्छ र लोग्ने मर्दा सति जानुपर्छ । लोग्ने मरेकै दिन म पनि मर्छु भन्ने चेतना बोकेर उनले त्यो बूढो मान्छेलाई हावाहुरीबाट बत्ती निभ्नबाट जोगाए झैं बडो कष्टसाथ बचाउन कोसिस गर्नुपर्छ । त्यो भनेको बूढोको हरेक साससँग उनको पनि सास चलेको हो । त्यो कष्टपूर्ण मनोविज्ञान बोकेर त्यो महिला कसरी बाँचेकी होला ! त्यही कल्पना गर्दा पनि जयकलाप्रतिको सहानुभूति र प्रेम उर्लिएर आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment