Comments Add Comment

वैदेशिक रोजगारीको ‘पीडा’ लाई कसरी अवसरमा बदल्ने ? शेष घलेका चार टिप्स

क्वालालम्पुर । परिवार र मुलुक छाडेर विदेशी भूमिमा श्रम गर्न जानु कसैको पनि रहर हुँदैन । नौलो परिवेशमा जोखिमयुक्त काम, अर्कै भाषा र अर्कै कानुनका बीच वैदेशिक रोजगारीको यात्रा पीडादायी यथार्थ हो ।

देशमा रोजगारीको अवसर नहुँदा अहिले ३० लाखभन्दा बढी नेपालीहरुले विदेशमा पसिना बगाइरहेका छन् । दुई दशकअघि अष्ट्रेलियामा विद्यार्थीका रुपमा शून्यबाट संघर्ष गरेका शेष घले अहिले त्यहाँको धनी व्यक्तिहरुको सूचीमा पर्छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष समेत रहेका घलेले वैदेशिक रोजगारीको पीडालाई अवसरमा बदल्ने केही सूत्र दिएका छन् ।

मलेसियामा जारी गैरआवासीय नेपाली संघको पाँचौं क्षेत्रीय सम्मेलनमा उनले राखेका विचारका केही अंश विदेशमा कार्यरत नेपालीहरुका लागि खर्चिएका थिए । त्यसमध्ये उनले दिएका टिप्स यस्ता छन्ः

१. मलेसियामा कार्यरत लाखौं नेपाली दाजुभाइलाई मेरो एउटै अनुरोध छ, परदेशिनुको यो पीडालाई अवसरमा बदल्नुहोस् । हरेक समस्याले नयाँ-नयाँ सम्भावनालाई सँगै लिएर आएको हुन्छ । यहाँको भौतिक विकास, पद्धति र तपाईंले गरेको कामको अनुभवलाई नेपालमा लगेर प्रयोग गर्नुहोस् ।

२. तीन वर्ष मलेसियामा बस्दा तपाईंले कमाएको केही लाख रुपैयाँ नेपालमा साना व्यवसाय सुरु गर्न बीउ पुँजी हुनसक्छ । त्यसैले विदेशमा पसिना बगाएर कमाएको एक-एक पैसा तपाईंले नेपालमा आयमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाउनुहोस् ।

३. एक्लै सकिँदैन भने आफू जस्तै मन मिल्ने साथीहरुको समूह बनाउनुहोस् । कृषि, साना उद्योग, पर्यटन लगायतका क्षेत्रमा सामूहिक लगानी गर्ने योजना बुन्न थाल्नुहोस् । घर फर्किएपछि के काम गर्ने भन्नेबारेमा छलफल गर्नुहोस् । कुनै देशबाट फर्किएपछि केही महिना नेपाल बस्ने क्रममा कमाएको पैसा सकिने र फेरि अर्को देश जान म्यानपावर कम्पनी धाउने अवस्था नआओस् ।

४. दुई-तीन वर्ष विदेशी भूमिमा पसिना बगाउँदा तपाईंहरुले आफ्नै जीवनलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन पाउनुहुनेछ । त्यस क्रममा हातमा केही लाख पुँजी हुनेछ, तपाईं जस्तै पुँजी भएका साथीहरुको समूह हुनेछ । यही बलले तपाईंले नेपालमै केही गर्न सक्नुहुन्छ । किनकि नेपालमा अवसर नभएको हैन, त्यसलाई पहिचान गर्न नसकिएको मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment