Comments Add Comment

विदेशमा सिकेको सीप नेपालमा खन्याउने बेला आयोः मन्त्री महत

क्वालालम्पुर । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीहरुले विभिन्न देशमा आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकासका लागि ठूलो सम्पत्ति भएको बताएका छन् ।

त्यस्तो सीप र पुँजी अब नेपालको विकासमा लगाउने बेला आएको उनले बताए । मलेसियाको क्लाललम्पुरमा आयोजित गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रको पाँचौं बैठकलाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो आग्रह गरेका हुन् ।

विगतमा राजनीतिक अस्थिरता, द्वन्द्व एवम् अन्य कारणले लाखौं नेपाली विदेशिएको प्रसंग जोड्दै महतले अब विदेशमा बटुलेको ज्ञान र पुँजी लगेर देशमा खर्चनुपर्नेमा जोड दिए ।

संसारमा छरिएर रहेका गैरआवासीय नेपालीलाई सम्बोधन गर्दै उनले अब जन्मभूमिको उन्नतिका लागि केही गर्नुपर्छ भनेर लाग्न आह्वान गरे ।

मन्त्री महतले संविधानको कार्यान्वयनसँगै नेपाल नयाँ संरचनासहित स्थिरता र विकासको मार्गमा अघि बढ्न लागेको र विभिन्न क्षेत्रमा लगानीको राम्रो अवसर रहेकोले सबै गैरआवासीय नेपालीलाई नेपालमा लगानीका लागि आग्रह समेत गरे ।

‘विगतको जस्तो लगानीको वातावरण नरहेको भन्ने अवस्था अब देशमा छैन, त्यसैले म सबैलाई नेपालको जलविद्युत्, सेवा क्षेत्र लगायतमा लगानी गर्न अनुरोध गर्छु’, उनले भने ।

महतले खाडी देशमा ठूलो संख्यामा रहेको नेपाली जनशक्तिको श्रमको सम्मान होस् र उनीहरुको अधिकार र सुविधाको संरक्षण होस् भनेर नेपाल सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए ।

गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय देशहरु, युरोप र अन्य देशहरुका अगुवाका साथै नेपालका उद्योगी-व्यवसायी समेत सहभागिता रहेको सो बैठकमा मलेसियाका लागि नेपाली राजदूत डा.निरञ्जनमानसिंह बस्नेत, संघका अध्यक्ष शेष घले, पूर्व अध्यक्षहरु जीवा लामिछाने र उपेन्द्र महतो लगायतले पनि सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment