Comments Add Comment

कता हराए भँगेरा ?

सन्दर्भः अन्तर्राष्ट्रिय भँगेरा दिवस

भँगेरा र भँगेरी
कुरा गर्छन् कसरी
चुरचुर गर्छ भँगेरो
चिरचिर गर्छे भँगेरी …

राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रिय बाल कवितासँगै हुर्किएको हाम्रो पुस्ताले आँखै अगाडि भँगेराहरु हराउँदै गएको पनि देखेको छ । चरा संरक्षण र अनुसन्धानको क्षेत्रमा काम गर्छु भनेर मैले कुनै भेटघाट वा कार्यक्रममा आफूलाई परिचित गराउँदा एउटा आम प्रश्न आएकै हुन्छ, ‘भँगेराहरु हाम्रो ठाउँबाट हराए, कारण के होला ?’

बालापनमा हामी स्वरमा स्वर र काँधमा काँध मिलाएर उक्त कविता वाचन गरिरहँदा आँगनको बिस्कुनमा भँगेराले धानबाट चामल खोस्ट्याएर खाइरहेको हुन्थ्यो । म सम्झन्छु, आजभन्दा करिब २० वर्षअघि पश्चिम नेपालको अर्घाखाँची जिल्लास्थित मेरो घरको खोपा र बतासीमा ‘घर भँगेरा’को गुँड र तिनको संख्या उल्लेख्य थिए ।

कालान्तरमा ती भँगेराहरु मेरो घर, आँगन र अन्तत: गाउँबाट नै हराएर गए । मेरै गाउँमा भँगेरा देखिन छाडेको दस वर्ष जति भयो । यो विश्वभर व्याप्त भँगेरा लोपको एक प्रतिनिधि परिघटना मात्र हो ।

मानव विकासको कालखण्डमा जब घर बनाएर बस्ने र खेतीपाती गर्ने क्रमको थालनी भयो, सम्भवतः त्यसै बेलादेखि भँगेरा र मान्छेहरुको बसाइ सँगसँगै अघि बढ्यो । आज पनि भँगेरा मान्छेको सबैभन्दा नजिकको पंक्षी मानिन्छ ।

लेखक

यसरी करिब एक दशक अघिसम्म तपाईं-हाम्रो घर, गाउँ र बजारमा सहजै र प्रशस्त भेटिने ती भँगेराहरु पछिल्लो समय विरलै र छिटफुट मात्र देखिन्छन् । तपाईं-हाम्रो घर-आँगनको साथी, यत्रतत्र पाइने भँगेराहरु आज हाम्रा क्षेत्रहरुबाट हराउँदै जाँदा निकट भविष्यमा नै धर्तीबाटै लोप नहोलान् भन्न सकिन्न ।

विश्वमा पाइने ३२ प्रजातिका भँगेरामध्ये नेपालमा घर भँगेरा, रुख भँगेरा, कैलो भँगेरा, पीत कण्ठे भँगेरा र स्पेनिस भँगेरा गरी पाँच प्रजातिका भँगेरा पाइन्छन् । यी मध्ये घर र रुख भँगेरा तपाईं-हाम्रो घर, बस्ती र करेसाबारी वरपर बस्न रुचाउँछन् । घर भँगेराले खासगरी मानवनिर्मित घर र मठमन्दिरमा गुँड बनाएर बच्चा कोरल्छ भने बाँकी प्रजातिले घरबाहिर नै गुँड बनाउने गर्छन् ।

भँगेराहरु घर-आँगनमा पोखिएका र छरिएका अन्नहरु खाने, अन्नबालीमा लाग्ने कतिपय हानिकारक कीरा-फट्याङ्ग्रा र लार्भालाई खाइदिने र घर वरपरको पर्यावरणीय स्वच्छताको सूचकको रुपमा थिए । ती भँगेरा एकसाथ ग्रामीण, शहरोन्मुख र शहरी क्षेत्रमा हराउँदै जानु दुःखद परिघटना र प्रकृति संरक्षणको क्षेत्रमा खोज तथा चिन्ताको विषय बनेको छ ।

भँगेराहरु नाशिँदै जानुमा मूलतः बासस्थान विनाश र आहाराको अभाव कारक हुन् । पुराना र परम्परागत घर-गोठहरुमा भँगेराका लागि बस्न उपयुक्त प्वालहरु हुन्थे । तर, अहिले बनेका शहरका आधुनिक घरहरुमा मात्र होइन, ग्रामीण क्षेत्रका नवनिर्मित घरहरुमा पनि त्यस खालका संरचनाको अभाव छ । प्रदुषण, कृषिमा अत्यधिक किटनाशक औषधि र विषादीको प्रयोगले भँगेराहरु पनि प्रभावित भएका छन् । धान, कोदो जस्ता अन्न उत्पादनमा कमी र भण्डारण तथा खपतमा आएको परिवर्तन जस्ता कारणले त्यस्ता काँचो अन्नमा भँगेराको पहुँच हुन नसक्दा उनीहरु विस्थापित र अन्तमा लोप हुन बाध्य छन् ।

घर-भँगेरो

बेल्जियमको ‘रिसर्च इन्स्टिच्यूट फर नेचर एण्ड फरेस्ट’ र बेलायतको ब्रिस्टल विश्वविद्यालयका अनुसन्धान प्रतिवेदनले मोबाइलको विकिरण’इलेक्ट्रोम्यागनेटिक रेडिएसन’ बाट पनि भँगेराहरुको जीवन र प्रजननमा असर गरिरहेको उल्लेख गरेको छ ।

यसरी दिन-प्रतिदिन घट्दै गएका भँगेराको संरक्षण अभियानलाई थप प्रभावकारी र आम सरोकारको विषय बनाउने उद्देश्यले हरेक वर्ष मार्च २० का दिन अन्तर्राष्ट्रिय भँगेरा दिवस मनाउने गरिन्छ । सन् २०१० बाट विश्वव्यापी रुपमा मनाउन थालिएको यो दिवस नेपालमा भने २०१२ देखि मनाउन थालिएको हो । यो दिवसको मुख्य उद्देश्य भँगेराको महत्व,अवस्था र संख्या घट्नुको कारणबारे जानकारी गराउँदै बासस्थान तथा सुरक्षित आहारको सुनिश्चितताको लागि जनचेतना जगाउनु नै हो ।

यसै अवसरमा नेपाल पंक्षी संरक्षण संघले चैत ७ गते सोमबार विभिन्न सरकारी निकाय, संरक्षणसम्बन्धी संघसंस्था, शिक्षण संस्थाहरु र स्वयंसेवक सदस्यहरुसँग सहकार्य गर्दै भँगेरा पहिचान तथा गणना,सचेतनामूलक र्‍याली, क्याम्पस तथा विद्यालय स्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरु, भँगेरा तस्बिर तथा चित्रकला प्रदर्शनी लगायत कार्यक्रम गर्दै छ ।

यस सन्दर्भमा आउनुस्, तपाईं-हामी पनि भँगेरा गणना तथा संरक्षण अभियानमा आ-आफ्नो पायक क्षेत्रमा सहभागी बनौं ।

नवनिर्मित घर तथा भवनहरु भँगेरा जस्ता घरेलु चरामैत्री बनाउनुका साथै घरका कौशी तथा बरन्डामा भँगेराको लागि आहार र पानीको व्यवस्था गरी संरक्षणमा टेवा पुर्‍याऔं । आशा गरौं, हाम्रो सानो र साझा प्रयासले भँगेरा संरक्षणमा ठूलो टेवा पुग्नेछ र हाम्रो घरमा फेरि भँगेरा चिरबिराउँदै चारो टिपेको भावी पुस्ताले पनि देख्न पाउनेछन् ।

अन्यथा भँगेरा हराउनुको कारक पुस्ता मानिनेछौं र एक सहजीवीको अस्तित्व केवल कथा, गीत र तस्बिरमा सीमित रहनेछ ।

(भुसाल नेपाल पंक्षी संरक्षण संघका संरक्षण अधिकृत हुन् ।)

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment