सोमबार, १४ चैत, २०७३
OnlineKhabar.com

देशभर ७१ वटा स्मार्ट पेट्रोलपम्प खुल्ने, १५ वटामा सरकार र साझाको स्वामित्व

सेना र प्रहरीले पम्प खोल्ने जग्गा नै पाएनन्

रविन्द्र घिमिरे

७ चैत, काठमाडौं । देशभर ७१ वटा सुविधासम्पन्न स्मार्ट पेट्रोलपम्प खुल्ने भएका छन् । नेपाल आयल निगमले साना पम्प चलाउने साधारण बिक्रेताका लागि नयाँ अनुमति नदिने निर्णय गरेपछि ७१ वटा ठूला पम्पका लागि प्रस्ताव परेको छ ।

नेपाल आयल निगमले निश्चित समय दिएर ठूला पम्प खोल्न चाहानेका लागि आवेदन मागेको थियो । तोकिएको अवधिमा १५ वटा ठूला सरकारी तथा सहकारी पम्पका लागि पनि आवेदन परेको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । ५६ वटा ठूला पम्पमा लागि व्यावसायिक फर्महरुले आवेदन हालेका छन् ।

पूर्वाञ्चलमा १२ वटा स्मार्ट पम्पहरु खुल्ने भएका छन् । मध्यमाञ्चलमा २६ वटा सुविधासम्पन्न पम्पका लागि स्वीकृति मागिएको छ । त्यसैगरी पश्चिमाञ्चलका लागि १६ वटा र मध्य तथा सुदूरपश्चिमाञ्चलका लागि १-१ वटा ठूला निजी पम्पको लागि निगमसँग स्वीकृति मागिएको छ ।

निगमले ठूला र आधुनिक प्रविधि तथा सुविधायुक्त नमूना पम्प सञ्चालन गर्ने गरी बिक्रेता विनियमावलीमा संशोधन गरिसकेको छ । अब खुल्ने पम्प ठूलो क्षेत्रमा फैलिएका अत्याधुनिक र सवारीमैत्री हुनेछ ।

अब स्थलगत रुपमा पम्प खुल्ने स्थानको अनुगमन गरेर पम्प खोल्न अनुमति दिइने निगमका प्रवक्ता पोखरेलले बताए । ‘अब तोकिएको जति जग्गा छ कि छैन भनेर हरिनेछ । त्यसपछि आवश्यक प्रक्रिया पुर्‍याएर पम्प निर्माणका लागि अनुमति दिइनेछ’, पोखरेलले भने ।

सरकारी पम्प पनि खुल्ने

ठूला पम्पहरु राख्न सरकारी संस्थान र सहकारीहरुले पनि आवेदन गरेका छन् । साझा सहकारीले देशभर ४ वटा ठूला पम्प खोल्न आवेदन दिएको प्रवक्ता पोखरेलले बताए ।

त्यसैगरी, साल्ट ट्रेडिङले पनि ४ वटा पम्प खोल्न अनुमति मागेको छ । नेशनल ट्रेडिङले प्रत्येक प्रदेशमा एक-एक वटा गरी ७ वटा पम्प खोल्ने भएको छ । यी पम्पहरु राजमार्ग क्षेत्रमा खुल्नेछन् ।

सरकारले अन्तर्राष्ट्रिय स्तरका पम्प खुल्ने गरी प्रस्ताव आह्वान गरेको थियो । ठूला पम्प खोल्न सेना, प्रहरी र सशस्त्रलाई पनि आग्रह गरिएको थियो । तर, सुरक्षा निकायहरुले भने जग्गा नभेटिएको भन्दै आवेदन नै गरेका छैनन् । निगमले लामो समयदेखि मुख्य राजमार्ग क्षेत्रमा पम्प खोल्न अनुमति दिन रोकेको थियो । अहिले १५ सय साधारण बिक्रेता छन् । यिनीहरुमा सानो लगानी छ भने सुविधा पनि खासै छैनन् ।

अब खुल्ने पम्प कस्ता ?

अब खुल्ने पम्पका लागि करोडौं लगानी आवश्यक हुनेछ । निगमले विभिन्न प्राविधिक शर्तहरु राख्दै मापदण्ड तोकेको छ । अब खुल्ने पम्पहरु अहिलेका जस्ता साँघुरा हुने छैनन् ।

ठूला पम्पहरुले राजमार्गको शोभा पनि बढाउनेछ । अब तराई क्षेत्रमा यस्तो पम्प खोल्न न्यूनतम एक बिगाह जमिन चाहिनेछ । योभन्दा कम जग्गा राखेर पम्प चलाउन नयाँ अनुमति नै दिइने छैन ।

पहाडी तथा हिमाली जिल्लामा पम्प खोल्न कम्तीमा ५ रोपनी जग्गा चाहिनेछ । भित्री मधेसका जिल्लाहरु उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, दाङ र सुर्खेत जिल्लामा पनि यही जग्गाको मापदण्ड तोकिएको छ ।

पहाडी क्षेत्रमा ५ रोपनीभन्दा कम जग्गा राखिएका नयाँ पेट्रोल पम्पलाई अब सञ्चालन अनुमति नदिइने पोखरेलले बताए । पम्पमा पुरुषका लागि दुई वटा शैचालयसहित ६ वटा युरिनरी र महिलाका लागि ४ वटा शौचालय तथा एउटा अपांगमैत्री शौचालय अनिवार्य गरिएको छ ।

पम्पभित्र सुरक्षित पिउने पानीको व्यवस्था अनिवार्य हुनेछ । पम्पमा आकस्मिक अवस्थामा सोलार बिजुलीको व्यवस्था पनि हुनुपर्नेछ । अब पम्प छिर्ने र निस्कने सडक अनिवार्य रुपमा कालोपत्रे, कंक्रिट वा ट्यालिङ गरिएको हुनुपर्ने व्यवस्था गरिएको छ । पम्पभित्र एप्रोच रोड, ट्यांक फार्म, बिक्री कक्ष, पार्किङ एरिया छुट्याउनुपर्नेछ  ।पम्पलाई पर्खालमार्फत सुरक्षित राख्नुपर्नेछ ।

अहिले देशभर अधिकांश पेट्रोलपम्पहरुमा पुरानै प्रविधिका मेसिन छन् । धेरै पम्प त डिजिटल प्रविधिमा पनि गएका छैनन् । तर, अब स्थापना हुने ठूला पम्पले अनिवार्य रुपमा अटोमेटिक पेट्रोलपम्प जोड्नुपर्नेछ ।

पम्पभित्रै एटीएम सुविधा हुनुपर्ने पनि नयाँ विनियमावलीमा व्यवस्था गरिएको छ । जसको मद्दतमा एटीएमबाटै ग्राहकले सहजै तेल किन्न सक्नेछन् । सुरक्षाका लागि अग्नि प्रतिरोधी सिस्टम जोड्नुपर्ने र पम्पलाई सफा राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

अहिले सञ्चालनमा रहेका पम्पहरु एकदमै अव्यवस्थित छन् । थोरै नोजल भएकाले पम्पमा दुई वटाभन्दा बढी सवारी साधन आउनासाथ पालो कुर्नैपर्छ । तर, अब खुल्ने नमूना पम्पहरुमा धेरैवटा नोजल राखिने भएकाले धेरै संख्यामा सवारी एकैपटक पम्प पुगे पनि पालो कुरिरहनुपर्ने छैन ।

यी पम्पमा न्यूनतम आठ वटा सवारीले एकैपटक तेल भर्न सक्ने हुनुपर्ने अनिवार्य गरिएको छ । एकपटकमा ४ वटा पेट्रोल र चार वटा डिजेल नोजल हुनुपर्ने ब्यवस्था छ । इलोक्ट्रोनिक कार्डबाट समेत भुक्तानी गर्न मिल्नेगरी कार्ड स्वरुप सुविधा पनि यस्ता पम्पमा रहनेछन् । यसले तेल किन्न रकम खल्तीमा बोक्नैपर्ने र जोखिम मोल्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

यस्ता पम्पमा सवारी रोक्दा यात्रुले त्यहाँ फाष्टफुड पनि किन्न पाउनेछन् । बिक्री स्थलमा भेन्डिङ मेसिनसहित किराना पसल पनि हुनेछन् । यस्ता पसलमा यात्रु तथा चालकले आफूलाई आवश्यक खाजाहरु किन्न सक्नेछन् ।

यस्तै पम्पमा न्यूनतम १० जनाले आरामपूर्वक खान मिल्ने रिफ्रेसिङ हाउस हुनेछ । यति मात्रै होइन, कफीसप सहित रेष्टुरेन्ट पनि पम्पमै हुनेछ । विनियमावलीले नमूना पम्पका लागि यो सुविधा तोकेको छ ।

पम्पमा न्यूनतम सान २० वटासम्म गाडी पार्किङ गर्ने सुविधा हुनुपर्नेछ । सवारीमा केही समस्या आएमा मर्मतका लागि पनि यस्ता पम्प सहयोगी हुनेछन् । गाडी धुने, टायरमा हावा भर्ने र सामान्य मर्मत गर्ने केन्द्र पनि पम्पभित्रै हुनुपर्ने गरी विनियमावलीले मापदण्ड तोकेको छ । पम्पमा २४सै घण्टा सुरक्षा गार्ड राख्नुपर्नेछ ।

पम्पको तेल स्टोर गर्ने ट्यांकी पनि अत्याधुनिक सिस्टमको हुनेछन् । यसका लागि विभिन्न मापदण्ड तोकिएका छन् ।

२०७३ चैत ७ गते १२:०९ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
९ प्रतिकृयाहरू प्राप्त
  • गाेधुली लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ११:२१

    गफै त हाे सम्धि ।
    बनेछ भने पत्याम्ला ।

    22
    0
    Share

  • namaraj sapkota लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ११:५०

    good news.

    0
    0
    Share

  • namaraj sapkota लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते ११:५३

    oil ko price Nepal ra India ma same hunuparchha.

    1
    0
    Share

  • Kushal Baral लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १२:३०

    we can easily appreciate and accepted the government purposal planning on this project but the main reason is not success of this planning is unstable political conditions and lack of importing the petroleum easliy. so it is a day dream of the government.

    1
    0
    Share

  • Uttam Karki लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १२:५१

    Pump kati KL ko hunecha ?

    0
    0
    Share

  • visnu gm लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १४:०७

    Electric bus ko pani chhitai news sunna paye ramro.

    0
    0
    Share

  • Rashmi लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:०२

    १० लि हाल्दा रु २० बराबर कम दिन पल्केकाको भाँड्भैलो सुरु भएन भने मरिजानु!

    4
    0
    Share

  • Raju लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १५:३०

    करोडौ लगानी गरेर हजाराँ कमाई नहुने हो कि भन्ने चिन्ता होला जस्त छ…

    0
    0
    Share

  • devraj regmi लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १६:५१

    samdhijiu Thailand pugera gaf diyejastoxa ni ,bhaye dherai khusiko kura nabhaye gaf matrai bhanne thannuparla

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this