Comments Add Comment

९ बुँदे घोषणापत्र जारी गर्दै एनआरएन एसिया प्यासिफिक भेला सम्पन्न

कल्याणकारी कोषमा २५ लाख संकलन

क्वालालम्पुर । ‘दक्ष जनशक्ति, उद्यमशीलता संमृद्ध नेपालको आवश्यकता’ भन्ने नाराका साथ क्वालालम्पुरमा सम्पन्न गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्यासिफिक भेला आईतवार ९ वुदे क्वालालम्पुर घोषणा जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा मध्यपूर्व र मलेसिया लगायतका देशमा बैदेशिक रोजगारमा भएका ठगी, अनियमितता, अपारदर्शीताको अन्त्य गरी कामदारहरुको अधिकार र सुविधाको संरक्षण गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र न्यायपूर्ण एवं सुविधायुक्त बनाउनु पर्ने उल्लेख छ ।

यसैगरी न्युनतम तलब, फ्रि भिसा फ्रि-टिकट लगायतका सरकारी निर्णयसहित मौजुदा कानुनको अक्षरसः कार्यान्वयन गराउन र दण्डहीनताको अन्त्य गरी पीडित कामदारहरुको शीघ्र उद्धार, न्याय र क्षतिपूर्तिको सुनिश्चिताको लागि आवश्यक कानुन (संशोधन), स्रोत र संयन्त्रको विकासमा नेपाल सरकारसँग संस्थागत सहकार्य गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गरिएको छ ।

मलेसिया, थाइल्याण्ड र म्यानमारमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मुलका बासिन्दाहरुलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने, वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई कतिपय नेपाली मूलका नागरिकहरुले नै गरिआएको शोषण र ठगी कम गर्न सम्बन्धित गन्तव्य मुलुकको नेपाली राजदूतावास र संघको सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फतपहल गर्ने उल्लेख छ ।

यसैगरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन गैरआवासीय नेपालीहरुले नेपालमा पैसा पठाउँदा बैंकिङ च्यानल मात्र प्रयोग गर्न अपील गरिएको छ । साथै भूकम्पपछिको पुनर्निर्माण शुरु भइरहेको अवस्थामा देशमा निर्माण क्षेत्रका दक्ष जनशक्तिको ठूलो खाँचो देखिएकोले उक्त क्षेत्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई नेपाल र्फकनको लागि प्रोत्साहन गरिएको छ ।

मलेसियावासी नेपालीहरुको अंग्रेजी भाषा तथा दक्षता विकासको लागि मलेसिया नेपाल बिजनेस काउन्सिलका अध्यक्ष दातो प्रदिप कुक्रेजाले मलेसियामा व्यक्तिगत रुपमा स्कूल संचालन गरी निःशुल्क पढाई कक्षा संचालन गर्ने निर्णयको स्वागत गर्दै योजनाको लागि राष्ट्रिय समन्वय परिषद मलेसिया र काउन्सिलबीच सम्झौतामा जोड दिइएको छ ।

थोरै कमाई भएका नेपालीहरुको सुरक्षित लगानीका निम्ति उपयुक्त क्षेत्र पहिचान गर्दै सामूहिक लगानीको प्रोत्साहन गरी साना, मझौला तथा ठूला उद्योगहरुमा साथै उत्पादनशील क्षेत्रहरुमा लगानी गर्न प्रोत्साहन गर्ने समेत घोषणा पत्रमा उल्लेख छ ।

रोजगारमा गएका व्यक्तिहरुलाई संचय कोष प्रदान गर्ने विधेयकको नेपाल सरकारको निर्णयलाई स्वागत गर्दै कर्मचारी संचय कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई संचयकोष प्रदान गर्न सहकार्य गर्ने समेत उल्लेख छ ।

क्वालालम्पुर घोषणापत्रमा मलेसियामा समस्यामा परेका नेपालीहरुको उद्धार, सहयोगका लागि राष्ट्रिय समन्वय समिति मलेसियाद्वारा स्थापना गरिएको कल्याणकारी कोषलाई स्वागत गर्दै उक्त कोषलाई प्रवर्धन र प्रभावकारी बनाउने उल्लेख छ ।

कल्याणकारी कोषमा करीव २५ लाख संकलन

दुई दिने सम्मेलनको अबसरमा उठेको रकम मध्येवाट बचेको रकम करीव २५ लाख रुपैयाँ मलेसियाको कल्याणकारी कोषमा जम्मा हुने भएको छ ।

सम्मेलनको अबसरमा विभिन्न राष्ट्रका प्रतिनिधिहरुले सम्मेेलनको लागि प्रायोजन गरेको करिब २ लाख २१ हजार रिङगेट मध्येवाट खर्च कटाएर करिब १ लाख ८ हजार रिंगेट वचत रहेको वताइएको छ । मलेसियामा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि यो रकम खर्च गरिनेछ ।

भेलामा विभिन्न १७ देशका करीव १ सय ५० प्रतिनिधिसहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment