Comments Add Comment

आइसफल पदमार्गमा पूर्वाधार थप गरिँदै


७ चैत, मुस्ताङ। म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ ।

चार वर्षअघि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र स्थानीय पर्यटन व्यवसायीले पहिचान गरेको यो पदमार्गमा तीन वर्षदेखि भौतिक पूर्वाधार निर्माण काम भइरहेको छ । धौलागिरि आइसफल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष धुव्र पाइजाले तीन वर्षमा रु तीस लाख बराबरको काम गरिएको जानकारी दिए ।

“१५ किलोमिटरभन्दा बढी पदमार्गको ट्रयाक खोलेका छौँ । सोवाङधुरीसम्म जान सकिने भएको छ । कालीबराह पु¥याउन सकियो भने पदमार्गको सबै काम सकिन्छ”, उनले भने । उनका अनुसार, यो काम यसै वर्ष सकिनेछ ।

पदमार्गको अन्तिम बिन्दु त्यही कालीबराह नै हो । त्यहाँबाट धौलागिरि, मानापाथीलगायतका हिमालबाट निरन्तर हिउँ झरेको देख्न सकिन्छ । कालीबराहबाट कुइनेमङ्गलेको छरीखानी झर्ने र मुस्ताङको लेते निस्कन पनि सकिन्छ । “समुद्री सतहदेखि ५५२५ मिटर उचाइ अवस्थित धौलागिरि आइसफल दहबुकी डाँडासँग जोडिएको छ । कालीबराह पुगेपछि माथि जान सक्ने अवस्था छैन”, उनले भने ।

बेनीनगरपालिका–९ गलेश्वरबाट सुरु हुने पदमार्गले जिल्लाका पिप्ले, भगवती, वेग, दोबा, दग्नाम, चिमखोला र कुइनेमङ्गले र मुस्ताङको लेते र कोबाङलाई समेटेको छ ।

विदेशी पर्यटकका लागि कालीबराहबाट मुस्ताङ निस्कने गरी सात दिनको प्याकेज तथा आन्तरिक पर्यटकका लागि तीन दिनको प्याकेज बनाउन लागिएको उपभोक्ता समितिका सल्लाहकार देवेन्द्र केसीले जानकारी दिए । “ट्रयाक नभएको ठाउँ खोल्ने, विभिन्न स्थानमा पर्यटकका लागि पदचिह्न बनाउने काम भइरहेको छ ।”

घनाजङ्गलमा भेटिने घोरल, चितुवा, मृग, डाँफे मुनाल, थरीथरी रङका लालीगुराँस, भेडागोठ, अग्लाअग्ला नाङ्गा पर्वत, दहब्की ताल, धौलागिरि र अन्नपूर्ण हिमालको रेञ्ज र बहुमूल्य जडीबुटी यार्सागुम्बा पदमार्गको मुख्य आकर्षण हुन् । पदमार्गले समेटिएको राखु र भगवती क्षेत्रका स्थानीयले पदमार्गलाई लक्षित गर्दै होमस्टे (घरबास) सञ्चालनको तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment