Comments Add Comment

सद्दाम हुसेनसँग नाम मिल्दा ४० जागिरबाट ‘रिजेक्ट’

७ चैत, काठमाडौं । इराकका तानाशाह सद्दाम हुसेनलाई फाँसी दिइएको एक दशक बितिसकेको छ । तर, अहिले पनि एक भारतीय युवकले उनको नामको मूल्य चुकाउनु परिरहेको छ ।

सद्दाम हुसेन नामका २५ वर्षीय भारतीय मरीन इन्जिनियर अहिलेसम्म ४० वटा नोकरीबाट ‘रिजेक्ट’ भइसकेका छन् । उनको नामको हिज्जे इराकी नेताको भन्दा भिन्न छ र पनि उनको दुःख कम भएको छैन ।

हजुरबुवाले उनको नाम सद्दाम हुसेन राखेका थिए । तर उनी आफ्नो समस्यामा हजुरबालाई दोषि ठान्दैनन् ।

जागीर पाउनै नसक्ने अवस्था भएपछि उनले आफ्नो नाम फेर्ने निश्चय गरे तर यो प्रक्रियामा ढिलाई भइरहेको छ र उनको जागीर पनि झन्-झन् पछि धकेलिदैछ ।

झारखन्डको जमशेदपुरमा बस्ने सद्दाम हुसेनले तामिलनाडुको नुरुल इस्लाम युनिभर्सिटीबाट पढाई सकेको दुई वर्ष भइसकेको छ तर पनि उनी खाली हात छन् । उनका सहपाठीहरु आरामले जागीर खाएर बसिरहेका छन् । तर पढाईमा राम्रो अंक ल्याएर पास भए तापनि हुसेनलाई जागिर खुवाउन कुनै सिपिङ कम्पनी तयार छैनन् ।

आफ्नो नाम फेरेर साजिद राख्ने तयारी गरिरहेका सद्दामले हिन्दुस्तान टाइम्ससँग भने, ‘मलाई जागिर दिन मानिसहरु डराउँछन् । अन्तर्राष्ट्रिय सीमामा आप्रवासन अधिकारीहरुसँग मेरो सामना भयो भने के हुन्छ भन्ने डर उनीहरुलाई होला ।’

नयाँ नामबाट नयाँ पासपोर्ट, ड्राइभिङ लाइसेन्स लगायत अन्य कागजातहरु बनाएपछि आफूले राहत पाउने ठानेका छन् सद्दामले । तर नयाँ नामअनुसार स्कुलका प्रमाणपत्रहरु नमिल्ने कारणले उनको टाउको दुखिरहेको छ ।

शिक्षण विभागले माध्यमिक स्कुलका प्रमाणपत्रमा आफ्नो नाम फेरिदेओस् भनेर उनी अदालत गएका छन् र ५ मेमा उनको सुनवाई छ । स्कुलको प्रमाणपत्रमा नाम फेरिएपछि कलेजको प्रमाणपत्रको पालो आउनेछ ।

त्यसो त सद्दाम हुसेन नाम हुने व्यक्ति उनी एकमात्र होइनन् । इराकमा पनि यस्ता थुप्रै घटनाहरु उजागर भइसकेका छन् जहाँ सद्दाम हुसेन नाम हुनेहरुले अनेक प्रताडना खेप्नु परिरहेको छ । सद्दाम नामका एक पत्रकारका अनुसार उनका पितालाई छोराको नाम सद्दाम राखेको निहुँमा जागिरबाट निकालिएको थियो ।

अर्का एक सद्दाम हुसेनले शिया लडाकुहरुले आफूलाई समाएर बन्दुक सोझ्याएको तर बन्दुक जाम भएकाले पड्किन नसकेको बताएका छन् । समाचार एजेन्सी एएफपीका इराक ब्यूरो प्रमुख प्रशान्त राव भन्छन्- बगदादमा एक कुर्द स्कुले बच्चालाई उनले चिनेका थिए, जसको नाम सद्दाम हुसेन थियो । फुटबल खेल्दा साथीहरुले उनलाई भन्ने गर्थे, ‘हामी मात्र होइन, सिंगो इराक तिमीलाई घृणा गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment