Comments Add Comment

तानसेनको ‘करूवा’ परिवारको चिन्ता- अब केही वर्षमै यो कला लोप हुन्छ

पाल्पाको तानसेन नगरपालिका पुग्ने जो कोहीको रहर हुन्छ,कार्यालय प्राङ्गणमा रहेको ठूलो करूवाको अगाडि बसेर फोटो खिचाउने । नहोस् पनि किन, पाल्पाको पहिचान नै यहाँको करुवा हो । हातैले हप्तौं लगाएर बनाइने पाल्पाली करुवा निकै गुणस्तरीय मानिन्छ ।

राणाकालमा काठमाडौं उपत्यकाका नेवार कालिगढहरूलाई टक (सिक्का) छाप्नका लागि तानसेन लगिएको थियो ।

तिनै परिवारहरूले शहरको एउटा टोलको नाम ‘टक्सार’ राखे र करुवा बनाउने काम पनि गर्न थाले । तर, अचेल न त टक्सारमा सिक्का छापिन्छ, न त पहिले जस्तो धेरै घरहरूमा करुवा नै बन्छ ।

कुनै बेला तानसेनको २०-३० घर-परिवारले करुवा बनाउँथे । पछिल्लो समय भने व्यवसाय चलाउन धौधौ भएपछि करुवा बनाउनेहरु घट्दै गएका छन् ।

‘अहिले जम्मा तीन घर मात्र यो काममा छन्’, टक्सार-५ का प्रदीप बज्राचार्य भन्छन् । काँसको महँगिँदो भाउ, कालिगढको अभाव, पानीको चरम दु:ख र मेसिनबाट बनेका करूवाको उपलब्धताका कारण व्यवसाय धान्नै नसक्ने अवस्थामा पुगेको उनको अनुभव छ ।

उनले भने, ‘हामीले पाउने काँस भनेको गाउँघरका मानिसले आफ्नो भाँडाकुँडा स्टिलसँग साट्दा आउने काँस हो । यसको एक किलोको मात्रै १२०० रुपैयाँसम्म पर्छ ।’

काँसको करुवा हातले बनाउने प्रक्रिया निकै लामो हुन्छ । पहिले मैनको फर्मा बनाउनुपर्छ अनि पटक-पटक माटोले लिपेर सुकाउनुपर्छ । ‘एउटा राम्रो करुवा बनाउन करिब एक महिना लाग्छ’, बज्राचार्य बताउँछन् ।

बज्राचार्यको  परिवारमा एक समय २०-२५ जना थिए र सबै करुवा बनाउने काममा जुट्थे । तर, अहिले परिवारमा सदस्य संख्या घटेसँगै बाहिरबाट कालिगढ ल्याएर काम गराउनुपर्ने भएको छ । कालिगढ अभावसँगै अर्को दुःख छ, पानीको ।

‘पानीको त कुरै नगरौं । कम आउन थालिसक्यो । अब ट्याङ्करबाट मगाउनुपर्ने अवस्था छ । हाम्रो सबै खेल भनेकै पानी नै हो’, उनले सुनाए ।

यति धेरै समस्याका बीच पनि बज्राचार्यालाई करुवा बनाउनमै आनन्द महसुस हुन्छ । दुःखमा पनि सुख भेट्ने आफ्नो बानीको परिचय दिए, ‘अहिलेसम्म त करुवा बेचेर खान पुगेकै छ ।

तर, पैसाभन्दा पनि करुवासँग जोडिएको नाम र इज्जत मलाई राम्रो लाग्छ । तानसेन आउने जो कोही पनि एउटा करुवा लिएर जाऊँ भन्ने सोच्छन् ।’

उनले एउटा करुवा सरदरमा दुई हजारदेखि चार हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । बज्राचार्यको घरमा पाँच लाख रुपैयाँ पर्ने एउटा ठूलो करूवा पनि छ । तर, त्यो अहिलेसम्म बेचेका छैनन् ।

करुवा बनाउने कलामै रमाउँदै आए पनि बज्राचार्यलाई घरिघरि चिन्ताले सताइरहन्छ, अब एक-दुई वर्षमा यो कला नै लोप हुन्छ ! यद्यपि उनलाई छोरा प्रसनले बिँडो थाम्ला कि भन्ने झिनो आस पनि छ ।  छोरालाई देखाउँदै उनले भने, ‘यसलाई पढ्न मन लाग्दैन । करुवा बनाउँछु भन्छ ।’

‘हो त प्रसन ? तिमी करुवा बनाउँछौ ?’

‘होला’, प्रसनले टाढाबाटै भने ।

बाबु चाहिँले चिन्ता मिश्रित ठट्टा गरे, ‘खोइ के गर्ने हो यसले, करुवा बनाउला कि मेरो सम्पत्ति मात्रै सिध्याउला !’

बाबु-छोरा दुवै हाँसे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment