Comments Add Comment

भैरहवा विमानस्थल निर्माणमा झलनाथका छोराको अवरोध


७ चैत, भैरहवा । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ठप्प भएको छ ।

विमानस्थलको निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालबीच रकम लेनदेनको विवादका कारण विमानस्थलको निर्माण कार्य ठप्प भएको हो ।

नर्थ वेस्ट इन्फ्रा नेपाल कम्पनीको कर्ताधर्ता नेकपा एमालेका नेता झलनाथ खनालको छोरा निर्भिक खनाल र नेकपा एमाले सम्वद्ध युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष राजु गुरुङ हुन् ।

०७१ सालमा विमानस्थलको निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएको थियो । तर, स्वयम आफूले निर्माण कार्य नगरी उसले नेपालको नर्थ वेस्ट इन्फ्रा नेपाल नामक कम्पनीलाई निर्माण कार्यको जिम्मा दिएको थियो । यी दुवै कम्पनीबीच अहिले रकम विवादको कारण विमानस्थल निर्माणको काम चार दिनदेखि रोकिएको छ ।

गौतमवुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका निर्देशक ओम शर्माले चिनियाँ र नेपाली कम्पनीबीच लेनदेनको विवादका कारण विमानस्थलको निर्माण कार्य रोकिएको अनलाइनखबरलाई जानकारी दिए ।

‘विवाद मिलाउनका लागि छलफल भइरहे पनि विवाद मिल्न सकेको छैन,’ शर्माले भने ।

नेपाली र चिनियाँ कम्पनिबीच आरोप-प्रत्यारोप

चिनियाँ कम्पनीले आफूले काम अनुसारको रकम नेपाली कम्पनीलाई उपलब्ध गराएको दावी गरेको छ । तर, नेपाली कम्पनीले भने आफूलाई चिनियाँ कम्पनीले कामअनुसारको रकम उपलब्ध नगराएको आरोप लगाएको छ ।

दुवै कम्पनी आरोप प्रत्यारोपमा उत्रिएका बेला स्थानीय पेटी ठेकेदारहरुले पनि आफूहरुले विमानस्थलको लागि उपलब्ध गराएको निर्माण सामग्रीको बक्यौता रकम नपाएको गुनासो गरेका छन् । बक्यौता रकम धेरै भइसकेकाले आफूहरुले थप निर्माण सामग्री उपलब्ध गराउन नसकेको स्थानीय ठेकेदारको भनाइ छ । निर्माण सामग्री उपलब्ध नगराइदिँदा पनि विमानस्थलको निर्माणकार्य प्रभावित भएको छ ।

निर्भिक खनाल

स्थानीय पेटी ठेकेदारहरुलाई नेपाली कम्पनीले रकम दिनुपर्ने हो । तर, निर्भिक खनालको कम्पनिले चिनियाँ ठेकेदार कम्पनिबाट रकम लिए पनि स्थानीय ठेकेदारलाई नदिएको स्रोत बताउँछ ।

खोला फर्काउने काम सम्पन्न 

विमानस्थल निर्माण कार्य सुरु भएदेखि घाघर खोला फर्काउने काम मात्र पूर्णरुपमा सम्पन्न भएको छ । विमानस्थलमा तीन हजार मिटरको धावनमार्गमा ग्राभेलिङ्ग, स्थानिय तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण, प्रशासकीय भवन, कन्ट्रोल टावर, उद्धार तथा अग्नि नियन्त्रण भवनको काम सुस्त गतिमा भैरहेको छ ।

सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने गरी सुरु गरिएको विमानस्थल निर्माण कार्य गत वर्षको भूकम्प र मधेस आन्दोलनको अवरोधले सन् २०१८ को जुनसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर विमानस्थलमा बढेको बेथितीको कारण सन् २०२० सम्म पनि विमानस्थल निर्माण कार्य सम्पन्न नहुने स्थानीयहरुले आशंका गर्दै आएका छन् ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ ।

एसियाली विकास बैंक -एडीबी) को ऋण सहयोगमा २०७१ माघ महिनादेखि अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment