Comments Add Comment

जीर्ण टहरोमा पढाई, शिक्षक र विद्यार्थीको ज्यान जोखिममा

७ चैत, डोटी । ‘घाम लागेको दिन त ठीकै हुन्छ, पानी पर्‍यो भने विद्यार्थीहरुलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनु पर्छ । अब त भित्ता पनि चर्किसकेको छ, कक्षा कोठाभित्र जानै डर लाग्छ ।’

डोटी जिल्ला बडा केदार गाउँपालिका-२ बरउ (साबिकको बर्छैन गाबिस-२)मा रहेको शिशु दर्पण आधारभूत विद्यालयका प्रधानाध्यापक बेचन चौधरीको दुखेसो हो यो ।

२०४६ सालमा स्थापना भएको उक्त विद्यालयमा स्थापनाकालमै स्थानीय स्रोतबाट दुई कोठे टहरो तयार गरिएको थियो । अहिले त्यो पूर्णरुपमा जिर्ण भएपछि पठन पाठनमा बाधा भइरहेको प्रधानाध्यापक चौधरी बताउँछन् ।

अनलाइनखबरसँग कुरा गर्दै चौधरीले भने, ‘०४६ सालमै बनेको भवन त्यसैपनि पुरानो भएको थियो, गत वर्ष रुख ढलेर छतमाथी परेपछि त पुरै चुहिने भएको छ ।’

कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा ६४ विद्यार्थी अध्ययनरत छन् । भबन अभावका कारण विद्यालयको पठन पाठनमा समस्या भएको चौधरी बताउँछन् । ‘यसपाली त झन् पानी बढी परिरहेको छ,’ वार्षिक परीक्षा सञ्चालनको तयारीमा रहेका चौधरी भन्छन् ‘कतै वार्षिक परीक्षाकै दिन पानी पर्‍यो भने परीक्षा पनि प्रभावित हुन सक्छ ।’

हावाहुरीसँगै बादल गर्जिएको बेला परीक्षा कसरी सञ्चालन गर्ने भन्ने चिन्ता लाग्ने गरेको चौधरीले बताए ।

भबन माग्दा शौचालयको बजेट

२०४६ साल चैतमा स्वीकृति पाएको विद्यालयमा हालसम्म जिल्ला शिक्षा कार्यालयबाट दुई कोठे एक भवन मात्र निर्माण भएको चौधरीले बताए । उनले भने, ‘प्रत्येक वर्ष मैले विद्यालयको भबनका लागि स्रोतकेन्द्र मार्फत जिल्ला शिक्षा कार्यालयमा माग त गर्ने गरेको छु तर कार्यक्रम पर्दैन ।’

यस वर्ष पनि आफूले भबनको माग गरेको तर जिल्ला शिक्षा कार्यालयबाट शौचालयको कार्यक्रम परेको उनले बताए । ‘विद्यालयमा शौचालय पनि आवश्यक हो हुन त,’ चौधरी भन्छन्, ‘तर भबनको अति नै अभाव छ ।’

चौधरीले भने, ‘अब पुरानै भवन मर्मतका लागि भएपनि व्यवस्थापन समितिसँग छलफल गर्छु ।’

कक्षा कोठा अभावका कारण काठले बेरेर एउटा कोठा जोडिएको छ ।

जिर्ण भवनमा अध्ययन/अध्यापन गराउनु जोखिपूर्ण रहेको सामाजिक कार्यकर्ता मुना मटेली बताउँछिन् । उनी भन्छिन्, ‘त्यो भवनमा जानै पनि डर लाग्छ भने कसरी बालबालिकाहरुलाई राखेर पढाउने ?’

जिर्ण भवनका कारण शिक्षक विद्यार्थी सबैको ज्यान जोखिममा रहेको मुनाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment