Comments Add Comment

नेपालमा मोदीलाई बेइज्जत गरियो, चीनको प्रभाव घट्यो

बिहारका लालु यादवसँग मधेसी मोर्चाका यादवको तुलना

भारतको उत्तरप्रदेश राज्यमा योगी आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिइरहेका दिन बिहारका बीजेपी नेता गोपाल नारायण सिंह काठमाडौंमा थिए । बिहार राज्यका बीजेपी पूर्वअध्यक्ष सिंह हाल भारतको माथिल्लो सभाका सांसद छन् । काठमाडौं आएका उनी आइतबार साँझ पर्यटन मन्त्री दिलनाथ गिरीसँग भेट गर्ने प्रयासमा थिए ।

काठमाडौंमा भेटिएका छिमेकी देशका यी सत्तारुढ नेतालाई अनलाइनखबरले नेपाल आउनुको कारणबारे सोध्दा उनले आगामी अप्रिलमा हुन लागेको हरिहर मुक्तिनाथ तीर्थयात्राको तयारीका लागि आएको बताए ।

तीर्थयात्राको अभियानमा आएका सिंहलाई हामीले केही राजनीतिक एवं नेपाल भारत सम्बन्धबारे पनि केरकार गर्‍यौं । र, प्रश्नको सुरुवात गरियो, नेपाल आउनुको धार्मिक उद्देश्यबाटै

तपाई हरिहर मुक्तिनाथ यात्राको तयारीका लागि काठमाडौं आउनुभएको भन्ने सुनियो । के हो यो हरिहर मुक्तिनाथ यात्रा ?

हरिहरदेखि मुक्तिनाथसम्म यो एउटा विशुद्ध सांस्कृतिक कार्यक्रम हो । मुक्तिधाम धेरै उच्च श्रेणीमा पर्छ । पाण्डवहरु पनि मुक्तिनाथ धाम जान्थे । हिन्दुस्थान र नेपालमा कुनै अर्को त्यस्तो तीर्थस्थल छैन, जुन मुक्तिनाथमा छ । यसैले हामीले मुक्तिधामको यात्रा तय गरेका हौं । मेरा आमाबुबाले पनि मुक्तिधामको चर्चा गर्नुहुन्थ्यो ।

विहारमा धर्म जागरणको अभियान चलिरहेको छ । म २०१२ देृखि मुक्तिनाथ जान थालेको हुँ । मानिसहरुलाई मुक्तिनाथ जान प्रेरित गर्ने, उनीहरुलाई लिएर जाने गर्न थालें । पहिलो वर्ष १०/१२ जना लिएर गइयो, दोस्रो वर्ष ५०/६० जनालाई लगियो । चौथो वर्ष २ सय मानिसहरु लगियो । विस्तारै विस्तारै मानिसहरुको संख्या बढिरहेको छ ।

नेपालीहरुलाई आफ्नो क्षमता र संस्कृतिका बारेमा ज्ञानै छैन । हाम्रो हिन्दु धर्मका जति पनि ठूला ठूला शक्तिपीठहरु छन्, ती नेपालमै छन् । तपाई देख्नुहुन्छ, बराहक्षेत्र छ । जब दुनियाँ डुबिरहेको थियो, बराह अवतार लिएर भगवान यहाँ प्रकट भए । पशुपतिनाथ यहीँ छन् । मुक्तिधाम यहाँ छ । जानकीजीको जन्मस्थान यहीँ छ ।

हिन्दुस्थान र नेपाल मिलेर यसलाई अघि बढाउनुपर्छ । नेपालका मानिसहरुले यसलाई संगठित गर्ने हो भने यहाँको स्थिति सुधि्रन्छ । पर्यटन आउँछ । यहाँको व्यापार बढ्छ । सम्बन्ध बढ्छ । आउने जाने क्रम बढ्छ । दुई देश त हाम्रा लागि नाममा मात्रै छ, हाम्रो संस्कृति एउटै छ । हाम्रा भगवान पनि एकै छन् ।

नेपालमा यो अभियान लिएर म दुई चोटि आएँ । अब तेस्रोचोटि हुन्छ । काठमाडौंमा अघिल्लो वर्ष पनि आएको थिएँ । यहाँका मन्त्रीहरुसँग कुरा गरें । हामीलाई नेपालीहरुले सहयोग गरे । हामी गाडीमा आयौं, यहाँको सबै व्यवस्थापन, खाने सुत्नेका व्यवस्था नेपालीहरुले नै गरे । यसबाट हामी अनुग्रहित छौं । यसपछि हामीले नेपालमा थप गतिविधि बढाएका छौं । मुक्तिनाथको यात्रा अरु बढाइरहेका छौं ।

यो अभियान कहिलेबाट कसरी सुरु हुन्छ ?

म यो यात्राको व्यवस्थापनका लागि काठमाडौं आएको हुँ । अपि्रल ११ तारेखको साँझमा हामी गंगा र गण्डकको संगमस्थल हरिहर क्षेत्रबाट प्रस्थान गर्छौं । हरिरहमा विष्णु र शिव एकसाथ रहन्छन् । र, मुक्तिधाममा पनि दुबै भगवान एकसाथ रहन्छन् ।

बिहारको पूणिर्याबाट केही मानिसहरु ७/८ वटा गाडीहरु लिएर बिराटनगर आउँछन् । बिराटनगरबाट उनीहरु जनकपुर आउँछन् । गण्डकी किनारको पुरानो यात्रा पनि चलिररहन्छ । एउटा ग्रुप मुजफ्फरपुरबाट सीतामढी आएर रात्री विश्राम लिन्छ । त्यहाँबाट जनकपुर आउँछ । दुबै ग्रुप मिसिएर फेरि रात्री विश्राम नारायणघाटमा हुन्छ र त्यहाँ आरती हुन्छ । त्यहाँबाट हामी पोखरा पुगेर बास बस्छौं ।

पोखराबाट हामी लेते पुग्छौं । लेतेमा हामीलाई मन्त्री रोमी गौचन थकालीजीले गत वर्ष धेरै ठूलो सहयोग गर्नुभयो । राति खानापिना, सुत्ने सम्पूर्ण व्यवस्था गर्नुभयो । त्यहाँ हामी दुईरात बस्यौं । जाँदा एकरात । फेरि मुक्तिधाम पुगेर र्फकंदा अर्को रात पनि त्यहीँ बस्यौं ।

हामीले यो अभियानमा काठमाडौंस्थित भारतीय दूताबास मार्फत नेपाल सरकारसँग पनि सहयोगको आग्रह गर्यौं । दूताबासले नेपाल सरकारलाई मुक्तिधाम यात्रामा सहयोगका लागि चिठी लेख्यो ।

यसमा एउटा समस्या के छ भने एकै दिन दुई हजार मानिसहरु लिएर आउन सकिँदैन । दुईहजार मानिस एकै ठाउँमा बास बस्ने ठाउँ छैन । मैले दूताबासमार्फत नेपाल सरकारसँग भनेको छु कि यदि जहाँजहाँ आवश्यक पर्छ, नेपाल सरकारले जग्गा उपलब्ध गराइओस्, हामी त्यहाँ धर्मशालाहरु बनाइदिन तयार छौं । मैले रोमीजीलाई पनि भनेको छु । नारायणघाटमा पनि मैले धर्मशालाको कुरा गरेको छु ।

तपाई धार्मिक व्यक्तिमात्रै होइन, राजनीतिक नेता पनि हो । त्यसैले केही राजनीतिक कुराहरु सोध्न मिल्छ ?

मैले भारतीय जनता पार्टीलाई बिहारमा स्थापित गरें । म विहारको अध्यक्ष पनि रहें । अहिले माथिल्लो सभाको सांसद छु । तर, यो जुन यात्रा छ, यो पोलिटिकल होइन । यो हाम्रो सांस्कृतिक यात्रा हो । नेपालमा म राजनीतिको कुरै गर्न चाहन्न । तर, उठेका प्रश्नहरुको जवाफ दिन तयार छु ।

नेपाल र भारतवीचको सम्बन्धबारे के भन्नुहुन्छ ?

नेपाललाई हिन्दुस्तानबाट खतरा छैन । नेपाल र हिन्दुस्तान दुबैको संस्कृति, धर्म,, देवी देवता एकै छन् । पूजापद्दति, विवाह पद्दति सबै एक छ । तर, अब नेपालमाथि विदेशीको खतरा छ ।

विदेशी भन्नाले कोबाट ? पश्चिमा देशहरुबाट ?

पश्चिमी देश होइन, चीनबाट खतरा छ । चीनको तार्जेट नेपाल होइन, नेपालको माध्यमबाट हिन्दुस्तानलाई कन्ट्रोल गर्ने हो । पश्चिमी देशको चाहना के हो भने क्रिश्चियानिटीमार्फत् नेपालको संस्कृति समाप्त गर्ने । किनकि ऊ आफ्नो विचारधारा लिएर आउँछ र धर्म परिवर्तन गराउँछ । जस्तो माओवादीले यहाँको विचारधारा परिवर्तन गरायो । जो पश्चिमी देश आउँछन्, हाम्रा मानिसहरुको धर्म परिवर्तन गराउँछन् र हाम्रै मानिसहरुलाई हामीसँगै आपसमा लडाउँछन् ।

तपाईले नेपालमा चीनको प्रभाव बढ्यो भन्ने चिन्ता गर्नुभयो, तर भारत र चीनवीच राम्रो सम्बन्ध कायम हुँदैछ, व्यापारिक साझेदारी र सम्बन्ध विस्तार भइरहेको छ । यस्तो अवस्थामा नेपाललाई किन चीनसँग जोडेर भारतीयहरुले चिन्ता गरेको ?

व्यापारिक सम्बन्ध चलिरहेको छ । तर, कूटनीतिक सम्बन्ध पनि आफ्नै ढंगबाट अघि बढिरहेको छ । एकपटक नेपालमा माओवादी बढेका बेला मानिसहरु डराएका थिए । जहाँसम्म चाइना र भारतको कुरा छ, मेरो विचारमा दुई देशवीच टफ अफ वार चलिरहेको छ । उसले आफ्नो सैनिक शक्ति बढायो । हाम्रो विरोधमा पाकिस्तानसँग आफ्नो सम्बन्ध बनाएर हामीलाई दबाउने कोशिस गर्यो ।

जब नरेन्द्र भाइ मोदीको सरकार आयो, जति पनि चीनका विरोधीहरु थिए, जापान, भियतनाम, अमेरिका, रसियासँग भारतले सम्बन्ध बढायो । अरब देशसँग पनि भारतले सम्बन्ध बढायो । हाम्रोमा स्रोत साधनहरु बढी आउन थाले । यसले गर्दा चाइना डराएको छ । उसले जस्तो गर्छ, त्यसलाई जवाफ दिन हिन्दुस्तान तयार छ । त्यसैले अब चाइना ‘एग्रेसिभ’ छैन । पहिले थियो, अहिले छैन ।

वारफेयरमा हुने लेटेस्ट टेक्नोलोजी हिन्दुस्तानसँग छ । मेक इन इण्डियामा पनि हामीले बनाइरहेका छौं । अहिले मारक क्षमता पनि चीनको भन्दा हाम्रो बढी छ ।

तपाईहरुस्तै छिमेकी चीनले नेपाललाई सहयोग गर्दा भारतलाई यति धेरै चिन्ता किन ?

यहाँ रोड बनाउन चीन आयो भने यो तपाईहरुका लागि आउँदैन, तपाईहरुको माध्यमबाट भारतमा आफ्नो उत्पादनको स्मग्लिङ गर्नका लागि रोड बनाउन चाहन्छ । तपाईहरुलाई सुविधा दिनका लागि ऊ आउँदैन । उसले कहिल्यै दियो सुविधा ? हाम्रोमा जुन तस्करी भइरहेको छ, यो यहीँको माध्यमबाट भइरहेको छ । यसबाट नेपाललाई कुनै फाइदा छैन ।

नेपालको बारेमा भारतलाई किन यति धेरै चासो र चिन्ता ?

नेपालको राजनीतिमा जो सुधारको खाँचो छ, त्यो नेपालकै मानिसहरुको जिम्मेवारी हो, भारतको जिम्मेवारी होइन । भारतले क्रिश्चियानिटी लगभग समाप्त पारेको छ । बीजेपीले जितिरहेको छ, तपाईले युपीमा उत्तराखण्डमा देख्न सक्नुहुन्छ । त्यसैले भारतमा समस्या छैन । तर, समस्या नेपालमा छ । नेपालीहरुले भारतलाई गाली गरिरहेका छन् । विना कारण भारतलाई गाली गरिरहेका छन् । तर, यसमा हामीलाई केही पनि लिनुदिनु छैन, हामी यहाँका मानिसहरुसँग मिलेर अघि बढ्न चाहन्छौं ।

तपाईले नेपालीहरुले भारतलाई गाली गरिरहेको गुनासो गर्नुभयो, तर, भारतले लगाएको नाकाबन्दीले गर्दा यहाँ भारतविरोधी भावना बढेकोजस्तो तपाईलाई लाग्दैन ?

यसमा भारत कहाँ सहभागी भयो ? तपाई पत्रकार हो, तपाई मिडिया चलाइरहनुभएको छ । बताउनोस् कि यसमा भारत कहाँ संलग्न भयो ? मधेसीसँग लडाइँ भयो । नाकाबन्दी मधेसीहरुले गरे । भारतबाट सामान आउनमा मधेसीले रोके, जो नेपालीहरुले रोकेका हुन् । यसमा भारत कहाँ आयो ? म त यति जान्दछु कि जति पनि नाकाहरु छन्, त्यहाँ हजारौं ट्रक सामान रोकिए र यसबाट हिन्दुस्तानलाई घाटा भयो । जो सामान नेपालमा बिक्थ्यो र हाम्रो आम्दानी बढ्थ्यो, त्यो ५ महिनासम्म रोकियो ।

मैले आफैं देखेको छु कि रक्सौलदेखि छपुवासम्म ३० किलोमिटरसम्म ट्रकको लाइन थियो । इन्ट्री त तपाईहरुले नै रोक्नु भयो नि, भारतले रोकेन । भारत त सामान लिएर सडकमा खडा थियो । फारबिसगञ्जदेखि जोगवनीसम्म बाटो ब्लक थियो । सामान रोकेर राखियो । त्यसैले बोर्डर त नेपालले रोक्यो, भारतले कहाँ रोक्यो ?

जुन नाकाहरुमा मधेसी मोर्चाको धर्ना नै थिएन, त्यहाँबाट पनि भारतले सामान ल्याउन किन नदिएको ? आखिर धर्ना त वीरगञ्जमा मात्रै थियो, भैरहवामा कहाँ थियो धर्ना ?

भारतीय जनता पार्टीले पनि स्थगलत रुपमा हेरेको थियो । बोर्डरमा ट्रक जलाइएको थियो । यहाँसम्म आउने रोडको लिंक कहाँ थियो ? यसमा कसले रिस्क लिन्छ ?

त्यसबेला बिहारमा मधेसी नेतालाई बोलाएर खाना खुवाउने काम पनि त भएकै हो । मोर्चाका नेतालाई लालु यादवले घरैमा भेट पनि गरेकै हुन् । अनि भारतले नाकाबन्दीलाई सहयोग गरेन कसरी भन्न मिल्छ ?

यो गलत प्रचार हो । लालु यादवको कुरा छोड्नोस् । लालु यादव राष्ट्र होइन । लालु यादव एक जातिगत समीकरण, यादव समीकरण हुन् । उनले यादवको मात्रै भूमिका खेलिरहेका छन् । मधेसमा पनि यी यादवहरुले उत्पात गर्छन्, जति मधेसी पार्टीहरु छन्, सबै यादव छन् । उनीहरुको सम्बन्ध पहिल्यैदेखि थियो । उता लुटमार गरेर नेपालमा घुस्थे । यो त व्यक्तिगत चिज हो, राष्ट्रको होइन । यसमा हिन्दुस्तानलाई दोषी बनाउन मिल्दैन ।

बिहारको बोर्डरमा मिलेर उनीहरुले जुन गतिविधि गर्छन्, त्यो राजनीतिक होइन । भारत सरकारले यहाँ सामान आउन नदिएको भए त्यो राजनीतिक हुन्थ्यो । हामीसँग प्रमाण छ । हजारौं ट्रक रोकिएका थिए । तैपनि भारतबाट तेल आइरहेको थियो । तपाईहरुका गाडी चलिरहेका थिए ।

तर, तेल त रोकिएकै हो नि ?

तेलको ट्यांकर आउन नदिएकै कारण अब भारतले नेपाललाई पाइपलाइनबाट तेल दिन लागिरहेको छ । पाइपलाइन यसकारण ल्याइँदै छ कि तेलमा व्यवधान नहोस् ।

त्यो नाकाबन्दीले नेपाल भारत सम्बन्धमा नकारात्मक प्रभाव पारेको मान्नुहुन्छ कि मान्नुहुन्न ?

नाकाबन्दी त नेपालीले नै गरे नि । भारत सरकारले त नाकाबन्दी गरेकै होइन । यो त यहाँको राजनीतिक किचलो हो । यहाँको राजनीति जुन चलिरहेको छ, यहाँका केही मानिसहरुले भारतलाई बदनाम गर्ने मौका पाए । आपसमा तपाईहरुकै मानिसवीचमा लडाइँ भइरहेको छ, भारत यसमा कहाँबाट आयो ? म तपाईलाई तथ्य दिइरहेको छु कि हजारौं ट्रकहरु हाम्रो बोर्डरमा रोकिइराखेका थिए । रोकिएको त नेपालमा हो ।

म तपाईलाई अर्को पनि कुरा भन्छु, भारतबाट जब हामी नेपालमा आउँछौं, हाम्रो गाडीमा चेकिङ हुन्छ । प्राइभेट गाडी लिएर नेपाल आउँदा नयाँ रजिष्ट्रेसन गराउनुपर्छ । तर, नेपालबाट भारत जाँदा केही हुन्छ ? हामीले त तपाईहरुका लागि खुल्ला गरेका छौं । नेपाल हामीलाई रोक्छ, हामी नेपालीलाई रोक्दैनौं । हाम्रोमा कुनै चेकिङ छैन । तपाईकोमा आउँदा चेकिङ छ । भन्सार तिर्नुपर्छ । चेकिङ हुन्छ । हामी स्वतन्त्र गतिविधि गर्न पाउँदैनौं । तर, कोही नेपाली भारतमा जान्छ भने यस्तो हुँदैन । अनि कसरी भारतले नाकाबन्दी गरेको हुन्छ ?

भारतले नेपाल देशलाई होइन कि मधेसलाई मात्रै सपोर्ट किन गरेको ?

होइन । गलत हो । कसरी मधेसको सपोर्ट गर्‍यो ?

जस्तै, भारतले अहिलेसम्म संविधानको स्वागत गरेन….

संविधानको स्वागत होइन, संविधान बनाउनका लागि तपाईहरु नै लडाइँ लडिरहनुभएको छ । भारत सरकारले के बोलेको छ यसमा ?

उसले अहिलेसम्म नेपालको संविधानको स्वागत गरेको छैन…

स्वागत गरेन । भारतले भन्यो कि तपाईहरुको आफ्नो आन्तरिक मामिलासँग हाम्रो कुनै लेनादेना छैन । प्रधानमन्त्री नरेन्द्र मोदी खुल्ला दिलका साथ नेपालमा आएका थिए । मन्दिरमा गएर शीर झुकाए । तर, उनलाई जानकी मन्दिर जनकपुर जानमा कति व्यवधान गरियो ? बेइज्यत गरियो । सेक्युरिटीको कुरा गरियो । जबकि भारतका प्रधानमन्त्रीको सेक्युरिटी व्यवस्था अलग्गै हुन्छ । उनलाई जनकपुर जान दिइएन । के यसमा बेइज्यती भएन ? यसका बाबजुद पनि भारत तपाईहरुप्रति उदार छ र रहनेछ । भारतीय जनताले नेपालीहरुलाई आफ्नो परिवार सम्झन्छन् । जहाँ परिवारको सिस्टम हुन्छ, त्यहाँ विभेद हुँदैन ।

त्यसैले हामीमाथि कोही बाहिरी कुचक्रमा परेर गलत लाञ्छना लगाइँदैछ । यहाँ तपाईको सरकारले खेल गर्छ, तर दोष भारतलाई दिइन्छ । समस्या त यहीँ नेपालमै छ । यसैले मैले भनेको छु कि नेपाल अन्तरद्वन्द्वमा रुमलिइरहेको छ । यसको स्पष्ट नीति नै छैन कि कहाँसम्म जाने ?

नेपालमा गणतन्त्र आइसकेपछि पनि भारत सरकार र खासगरी बीजेपीले नेपालमा हिन्दु राष्ट्र हुनुपर्छ, अझ राजतन्त्र नै र्फकनुपर्छ भन्छन् रे नि ? किन ?

यो गलत कुरा हो । झूठमुठ कुरा हो । यहाँ प्रजातन्त्र रहन्छ कि राजतन्त्र भन्ने नेपालीले तय गर्ने कुरा हो । धर्मनिरपेक्ष शब्द यहाँका नेताले होइन, विदेशीले तय गरेका हुन् । यसबाट नेपालीलाई होइन, तिनै विदेशीलाई फाइदा हुन्छ । यस्तो हिन्दुस्तानमा पनि थियो कि धर्म निरपेक्षका नाममा यसले उत्पात गथ्र्यो ।

तपाईहरुको भारतमा अहिले पनि नेपालमा जस्तै धर्म निरपेक्षता नै छ नि हैन र ?

छ । तर, अब कम हुन लागेको छ । देशको परिस्थिति बदलिइरहेको छ ।

उसोभए के बीजेपीले भारतलाई पनि हिन्दु राष्ट्र घोषणा हुनुपर्छ भन्छ ?

होइन । हिन्दुराष्ट्रबाट हिन्दुस्तान हेरै अगाडि नै बाहिर आइसकेको छ । प्रजातन्त्र नै रहेको छ । प्रजातन्त्रमा नै हामी हाम्रो संस्कृतिलाई अगाडि लिएर जान्छौं ।

नेपाल पनि यसैगरी धर्म निरपेक्षताभित्रैबाट अगाडि जान सक्दैन ?

नेपालमा त झन सम्भव छ । तर, यस देशका नेताहरु विदेशीको कभरबाट बाहिर निस्कन सक्नुपर्छ । नेपाललाई त अगाडि बढाउन धेरै सजिलो छ । भारतमा यस्तो सजिलो छैन । हाम्रोमा त दुःख छ । नेपालमा सजिलो छ ।

बीजेपीका नेताले नेपालमा किन राजतन्त्रलाई सहयोग गरेको ?

बीजेपीले किन राजशाही चाहन्छ ? यहाँको स्थिति बिगार्नमा त तपाईको राजशाहीकै हात छ । दुई पिँढीसम्म चलेकै हो । यो सबै नेपालको परिस्थिति गडबड गर्ने उनै हुन् । त्यसैले भारतले कसरी चाहन्छ राजतन्त्र ? भारतले किन चाहन्छ ?

राजतन्त्र चाहने, हिन्दु राष्ट्र चाहने, प्रजातन्त्र चाहने, यो नेपाली जनताले नै तय गर्ने कुरा हो । यो भारतको समस्या होइन । नेपालको निर्णय नेपालले आफैं गर्ने कुरा हो ।

अर्को प्रशंगमा कुरा गरौं, युपीको चुनावी परिणामपछि योगी आदित्यनाथ मुख्यमन्त्री बनेका छन्, यसले नेपाललाई केही फरक पार्छ ?

नेपाल हिन्दुराष्ट्र हो । यहाँको जनमत हिन्दु छ । हिन्दुको लाइन हिन्दुस्तानसँग जोडिएको हुन्छ । आदित्यनाथ हाम्रा जोगी हुन् । हाम्रा धर्मगुरु हुन् । जब हाम्रा धर्मगुरु अघि बढ्छन्, त्यसबाट समाजका हरेक व्यक्ति खुशी हुन्छन् । त्यही उल्लास नेपालमा पनि आएको छ ।

हाम्रो भारत वर्षमा विगत ७० वर्षदेखि धर्म निरपेक्ष धर्म निरपेक्ष भन्दाभन्दै हिन्दुको अवस्था दयनीय बनेको थियो । नेपालका हिन्दुहरु पनि डराएका छन् । आफूले दबिएको महसुस गरिरहेका छन् । उनीहरुलाई लागेको छ कि हिन्दुस्तानमा जसरी हिन्दु प्रवृत्ति बढिरहेको छ, यसबाट हामीलाई पनि राहत मिल्छ । यसैले नेपालका जनता खुशी भएका छन् । यहाँका मानिसहरुलाई शान्त्वना मिलेको छ कि अब हाम्रो पनि रक्षा हुन सक्छ । यहाँका जनता खुशी छन्, तर नेताहरु खुशी छ्रैनन् ।

युपीको परिणामले नेपालको राजनीतिलाई केही फरक पार्छ ?

राजनीतिमा त केही फरक पार्दैन । नेपालमा अन्तरद्वन्द्व चलिरहेको छ । आपसमा क्ल्यास चलिरहेको छ । मधेसिया, पहाडिया, माओवादी, सबै जसरी आपसमा द्वन्द्व भइरहेको छ । स्थायित्व छैन । स्थायित्व ल्याउनमा नेपालकै जनता सक्रिय हुनुपर्छ । यसमा भारतको कुनै भूमिका छैन । हुनु हुँदैन । र, हुँदैन पनि ।

नेपालसँग भारतको यतिमात्रै चासो छ कि यहाँको आर्थिक प्रगतिमा, सांस्कृतिक प्रगतिमा तपाईहरुले भन्नुभएको अवस्थामा भारतले सहयोग गर्छ । सहयोग गरिराखेको पनि छ । हेर्नुहोस् भूकम्पका बेला सबैभन्दा धेरै सहयोग हिन्दुस्तानले नै दियो । हाम्रा रेलमन्त्री पनि यहाँ आए । नेपालमा रेलको सञ्जाल कसरी बिछ्याउने भनेर चिन्ता गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment