Comments Add Comment

सप्तरीमा दुई फिटसम्म असिना खस्यो, गहुँबाली र आँप नष्ट

स्थानीय भन्छन्- ३० वर्षयताकै बढी असिना पर्‍यो

७ चैत, सप्तरी । सप्तरीमा वर्षासँगै भारी असिना परेको छ । यसले सप्तरीको जनजीवन प्रभावित भएको छ । जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा ठूलो मात्रामा असिना खसेको छ ।

पूर्व-पश्चिम राजमार्गमा समेत खसेको असिना दुई फिटसम्म जमेको छ । करिब एक घण्टासम्म लगातार असिना खसेको स्थानीयहरुले बताएका छन् । जिल्लाको जण्डौल, बकधुवा गाविसका साथै कञ्चनरुप नगरपालिकामा व्यापक असिना खसेको छ । जिल्ला सदरमुकाम राजविराजसहित दक्षिणी क्षेत्रमा वर्षा भएपनि सामान्य असिना खसेको छ ।

पछिल्लो तीन दशकभन्दा बढी समयपछि यत्रो असिना खसेको बताउँछन् वृद्धवृद्धाहरु । कञ्चनरुप नगरपालिकाको बेंगरी निवासी बृद्वा खडानन्द आचार्यले यस्तो असिना विक्रम सम्वत् २०४२ सालमा खसेको स्मरण गर्छन् । उनले भने, ‘त्यसयता यत्रो ठूलो असिना खसेको हालसम्म देखेको थिएन ।’

कञ्चनरुप नगरपालिकाकै रुपनगर टोल निवासी हुतराज रेग्मी एक्कासी यत्रो असिना खस्नु र वर्षा हुनुले ३० वर्षअघिको स्मरण गराएको बताए ।

सबै बाली नष्ट, किसान मर्कामा

अत्यधिक असिना र भारी वर्षाले जिल्लाको उत्तरी पूर्वी क्षेत्रमा लगाइएको बिघौंको गहुँबाली नष्ट गरेको छ । गहुँ पाक्ने बेलामा खसेको असिनाले सम्पूर्ण लगानी डुबाएको कृषकहरुले बताएका छन् । रुपनगरका किसान बिष्णु मुरारी पोखरेलका अनुसार सम्पूर्ण गहुँबाली असिनाले ढाकिएको छ ।

गहुँका साथै आँप लगायतका फलफूल समेत असिनाले नष्ट भएको छ । भर्खर फल बन्न थालेको आँपको सम्पूर्ण मजरलाई असिनाले नष्ट गरेको छ । सप्तरीको सबैभन्दा बढी आँप फल्नेमध्ये कञ्चनरुप नगरपालिका र बकधुवा गाविस पनि एक हो ।

यस्तै किसानहरुले लगाएको मुँगको दाल, बिभिन्न किसिमका तरकारीसहितका बालीहरु पनि असिनाले नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment