Comments Add Comment

ओलीले भने- एमाले विरुद्ध मोर्चाबन्दी हुँदै छ !

दुई नम्बर प्रदेशको अभियान दुई दिनभित्रै घोषणा हुने

८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले मोर्चाबन्दी गरेको बताएका छन् । ओलीले आउने चुनाव एमालेले जित्ने देखेर आतंकित भएकाहरुले मोर्चाबन्दी गरेको दाबी गरेका छन् ।

मेची महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयंसेवक, कलाकार तथा स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई धन्यवाद दिन मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भने- एक-एक किलोका चारवटा ढक एकातिर भएका छन् । एमाले एक्लै पाँच किलोको ढक भएकाले उनीहरुको वजन सबै मिलाउँदा पनि हाम्रो जति हुँदैन ।

ओलीले एमालेलाई एक्ल्याउन केही अन्तर्राष्ट्रिय शक्ति पनि लागेको दाबी गरे । अहिलेको संसद मुुलुकको विकासका लागि उपयुक्त नभएकाले आउने चुनावमा एमालेले सुविधाजनक बहुमत ल्याउनैपर्ने अवस्था रहेको ओलीले बताए । उनले भने-आयातीत एजेण्डा बोक्ने, अर्काले बनाइदिएको मोर्चा अहिले सरकारमा छ । अर्को चुनाव संसदको उपयुक्त बनोट निर्माण गर्नेछ । एमालेको सुबिधाजनक बहुमतका लागि जनता तयार छन्, हाम्रो अभियान त्यसैमा लक्षित हो ।

ओलीले कांग्रेसको चर्को आलोचना गरे । एमालेले चुनाव जित्ने देखेर आत्तिएपछि कांग्रेस बेइमानीको बाटोमा अघि बढेको भन्दै ओलीले एमाले विरुद्ध मोर्चाबन्दी गर्न खोजेको बताए । उनले भने-एमाले तपाईहरुका चुनौति र मोर्चाबन्दी स्वीकार गर्न तयार छ । खेलाडीले खेलमा अर्को पक्षलाई लौ आऊ भनेर मुकाबिलाका लागि बोलाए जस्तै एमालेले उनीहरुलाई बोलाउनुपर्ने भएको छ ।

सोही कार्यक्रममा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मेची महाकाली अभियानले एमालेको जित सुनिश्चित गरेको भन्दै अब पार्टीको सम्पूर्ण शक्ति स्थानीय चुनाव जित्नका लागि परिचालन हुने बताए । उनले भने-हाम्रो बिजय कसैले रोक्न सक्दैन, हामी अब सबै त्यसैमा केन्दि्रत हुन्छौं ।

दुई नम्बर प्रदेशमा चाँडै प्रभावकारी अभियान

यसैबीच नेकपा एमालेले प्रदेश नम्बर २ मा छुटेको मेची-महाकाली अभियान सञ्चालन गर्ने बताएको छ । अध्यक्ष ओलीले २ नम्बर प्रदेशमा कसैको फर्मान स्वीकार नहुने भन्दै अझ प्रभावकारी ढंगले अभियान सञ्चालन हुने बताए ।

महासचिव ईश्वर पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै ढीलोमा विहीबारसम्म २ नम्बर प्रदेशमा हुने अभियानको कार्यक्रम सार्वजनिक गरिने बताए । सप्तरीको गोलीकाण्डपछि एमालेले २ नम्बर प्रदेशका कार्यक्रम स्थगन गरेर पश्चिमतर्फ लागेको थियो ।

यो पनि पढ्नुहोस् 

महान्यायाधिवक्ता श्रेष्ठ पदमा बस्न अयोग्यः ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment