Comments Add Comment

विश्वका अर्बपतिको सूचीः जान्नुस् ७ मुख्य कुरा


अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अरबपतिहरुको सूची सार्वजनिक गर्दा नेपालीका पनि कान ठाडा हुन्छन् । आफ्नो देश जतिसुकै गरिब किन नहोस्, धनीहरुको विषयमा जान्ने कौतुहलता सबैलाई हुन्छ । यही कौतुहलतामा मेट्न हामी यहाँ प्रस्तुत गर्दैछौं, विश्वका धनाढ्यहरुको सूचीबाट केही हाइलाइट्सः

२३ वर्षमा १८ पटक विल गेट्स

अमेरिकी धनाढ्य विल गेट्स लगातार चौंथो वर्ष विश्वका सर्वाधिक धनी व्यक्ति ठहरिए । उनी विगत २३ वर्षमा १८ औं पटक धनाढ्यहरुको सूचीको पहिलो नम्बरमा परेका हुन् ।

अघिल्लो वर्ष उनको सम्पत्ति ७५ अर्ब डलर रहेकोमा यो वर्ष बढेर ८६ अर्ब डलर पुगेको छ ।

बेजोसले सबैभन्दा बढी सम्पत्ति थपे

अघिल्लो वर्ष सबैभन्दा बढी सम्पत्ति थप्नेमा एमेजानका जेफ बेजोस रहेका छन् । उनले एक वर्षमा २७ अर्ब ६० करोड डलर आफ्नो हिसाबमा थपेका हुन् ।

यो वर्ष उनको सम्पत्ति ७२.८ अर्ब डलर पुगेको छ र उनी विश्वका धनीहरुको सूचीमा पहिलोपटक टप ३ मा परेका छन् । अघिल्लो वर्ष उनी पाचौं नम्बरमा थिए ।

जुकरबर्ग पहिलोपटक टप ५ मा

फेसबुकका संस्थापक मार्क जुकरबर्ग केही वर्षयता धनाढ्यहरुको सूचीमा लगातार पर्दै आएका छन् ।

यो वर्ष उनी पहिलोपटक टप-५ मा उक्लिए । यो १२ महिनामा उनको सम्पत्तिमा ११.४ अर्ब डलर बढोत्तरी भएको छ । उनले कुनै समय विश्वकै धनी व्यक्तिका रुपमा रहेका मेक्सिकोका कार्लोस स्लिम हेलुलाई छैठौं स्थानमा धकेलेका छन् ।

नवधनाढ्यहरु सबैभन्दा धेरै चीनमा

यो वर्षको सुचीमा १ सय ९५ नयाँ अनुहार थपिएका छन् । थपिनेमध्ये सबैभन्दा बढी चिनियाँ छन् । दश अंकका सम्पत्ति जोड्ने नव धनाढ्यमा चीनका ७६ जना रहेको फोब्र्सले जनाएको छ । दोस्रो स्थानमा अमेरिका रहेको छ, जहाँ २५ जना नवधनाढ्य थपिएका छन् ।

१०१ वर्षीय वृद्ध र ९९ वर्षीया वृद्धा

पक्कै पनि अर्बपतिको सूचीमा पर्न उमेरले कुनै छेकबार गर्दैन । त्यसैले एक सय वर्ष नाघिसकेका बयोवृद्ध डेभिड रकफेलर पनि सूचीमा अटाएका छन् । सूचीको पाँच सय ८१ औं नम्बरमा रहेका उनी अमेरिकी नागरिक हुन् । उनको सम्पत्ति ३.३ अर्ब डलर छ ।

यसैगरी दोस्रो बृद्ध व्यक्तिको रुपमा रहेकी छिन् इटलीकी मारिया फ्रान्सा फिसोलो । २५.२ अर्ब डलर सम्पत्ति भएकी उनलाई समग्र सूचीको २९ औं नम्बरमा राखिएको छ ।

विश्वकै धनी महिला

विश्वका धनाढ्यहरुको सूचीमा महिलाको उपस्थिति पातलो छ । धनी महिलाहरुमा सबैभन्दा अगाडि छिन् फ्रान्सकी लिलियाने बुटेनकोर्ट । उनी समग्र सूचीको १४ औं स्थानमा छिन् ।

उनी ९२ वर्षकी वृद्धा हुन् । महिलाहरुमध्ये दोस्रो नम्बरमा अमेरिकाकी एलिस वाल्टन र अमेरिकाकै ज्याकलिन मार्स रहेका छन् । उनीहरु समग्र सुचीमा क्रमश १७ औं र २६ औं नम्बरमा रहेका छन् । विश्वकै सबैभन्दा वृद्धा अरबपति मारिया प|mान्सा फिसोलो महिलाको सुचीमा चौंथो नम्बरमा छिन् ।

२० वर्षकी युवती अर्बपति

यो वर्ष ४० वर्षभन्दा कम उमेरका ५६ जना फोर्ब्सको अर्बपति सूचीमा परेका छन् जबकि अघिल्लो वर्ष ६६ जना थिए ।
अलेसान्ड्रा एन्ड्रेसेन विश्वकै सबैभन्दा कम उमेरकी अर्बपति बनेकी छिन् । मात्र २० वर्षकी उनको सम्पत्ति एक अर्ब २० करोड डलर बराबर छ ।

अलेसान्ड्राकी एक वर्ष जेठी दिदी क्याथारिना दोस्रो नम्बरमा रहेकी छिन्, जसको सम्पत्ति समान १.२० अर्ब डलर रहेको छ । उनीहरु दुवै समग्र सूचीको १६ सय ७८ औं नम्बरमा छन् ।

अलेसान्ड्रा र क्याथारिनालाई उनीहरुका बाबु जोहान एन्ड्रेसेनले पारिवारिक स्वामित्वको इन्भेस्टमेन्ट कम्पनी फेर्डको ४२ प्रतिशत सम्पत्ति बराबरी बाँडेका थिए । यद्यपि अलेसान्ड्रा र क्याथारिना दुवैले कम्पनीका लागि काम गर्दैनन् ।

अहिलेसम्म पनि उनीहरुका बाबु जोहानले कम्पनी चलाइरहेका छन्, जसको ७० प्रतिशत भोटमाथि नियन्त्रण छ । अलेसान्ड्रा नर्वेमा घोडचढीकी तीन पटककी जुनियर च्याम्पियन पनि हुन् ।

यी पनि पढ्नुस्

विश्वका अर्बपतिहरुको सूची सार्वजनिक, विनोद चौधरी १५६७ औं स्थानमा

अर्बपतिहरुको सूचीमा १०१ भारतीय, मुकेश अम्बानी सबैभन्दा अगाडि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment