Comments Add Comment

साप्ताहिक टेलिभिजन कार्यक्रम लिएर आए मुसर्रफ, निशानामा भारत

८ चैत, काठमाडौं । पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफले एउटा नयाँ टेलिभिजन कार्यक्रम लञ्च गरेका छन् । अवकाशपछि टेलिभिजन कार्यक्रममा प्रस्तुत हुने मुसर्रफ पाकिस्तानका सबैभन्दा उच्च तहका सैनिक अधिकारी हुन् ।

उनको कार्यक्रम समसामयिक विषयहरुमा केन्द्रित छ । साप्ताहिकरुपमा प्रशारण हुने मुसर्रफको कार्यक्रमको नाम रहेको छ, ‘सबसे पहले पाकिस्तान विथ प्रेसिडेन्ट मुसर्रफ’ ।

अघिल्लो महिना पाकिस्तानी टेलिभिजन च्यानल ‘बोल’मा कार्यक्रम प्रशारण सुरु भएको थियो । अहिलेसम्म आफ्नो शोमा मुसर्रफले पाकिस्तानले अमेरिकासँग घनिष्ठता बढाउनुपर्ने पक्षमा वकालत गरिरहेका छन् ।

नवाज शरीफको सरकारलाई उनले आलोचनाको केन्द्र बनाएका छन् भने भारतमाथि निशाना साँधेका छन् । कार्यक्रममा उनले भारत पाकिस्तानको प्रमुख दुश्मन भएको तर, उसलाई सैन्य बलमा हराउन नसकिने मत व्यक्त गर्दै आएका छन् ।

सन् २०१३ मा जब उनले आफ्नो राजनीतिक पार्टी बनाए र आम चुनावमा भाग लिए, त्यो पनि कुनै पाकिस्तानी सैनिक जनरल राजनीतिमा उत्रेको पहिलो घटना थियो । तर, उनको चुनावी अभियान अधुरो रह्यो । कानूनको जालोमा परेर उनले चुनाव लड्न पाएनन् । अन्ततः उनी देश छोडेर एक वर्षका लागि दुबई गए ।

धेरै मानिसहरुको विश्वास छ कि मुसर्रफको यो टेलिभिजन शो राजनीतिप्रति आशक्तिकै प्रतिफल हो । ‘सबसे पहला पाकिस्तान’ भन्ने नारा मुसर्रफले सत्तामा रहेका बेला नै चर्चित बनाएका हुन् । अहिले यही नाममा कार्यक्रम चलाउन थालेका छन् । शेनाया सिद्दीकीले यस शोको सञ्चालन गर्छिन् ।

दुबईमा रहेका मुसर्रफ राजनीति, फौजि, अर्थव्यवस्था र यहाँसम्म कि मनोरञ्जनसँग जोडिएका विषयहरुमा पनि आफ्नो विचार राख्छन् । ‘बोल’ च्यानललाई सैनिक समर्थक, भारतविरोधी र उदारवाद विरोधी न्यूज च्यानलका रुपमा लिइन्छ ।

घर फर्किएलान् मुसर्रफ ?

सन् २००८ मा मुसर्रफलाई कुर्सी छोड्न बाध्य पारिएको थियो र उनी एक प्रकारले निर्वासनमा रहेका छन् ।

२०१३ मा स्वदेश फर्किएर उनले चुनावमा भाग लिए । तर, उनीमाथि बेनजिर भुट्टको हत्याको अभियोग लाग्यो । उनीमाथि सत्तामा रहँदा देशप्रति गद्दारी गरेको मुद्दा पनि चल्यो ।

अनि, अदालतले उनलाई चुनावमा लड्न अयोग्य ठहर गर्‍यो र उनलाई घरमै नजरबन्द गरियो । यसबाट मुसर्रफको पार्टी निश्त्रिmय बन्यो । तर, फेरि उनलाई आफ्नो उपचारका लागि दुबई जाने छुट दिइयो । र, उनी दुबईतिरै लागे ।

अहिले फेरि एक पटक उनी टेलिभिजनमार्फत राजनीतिमा फर्किन माहोल बनाइरहेको अनुमान गरिएको छ । मुसर्रफका सहयोगीहरुका अनुसार पाकिस्तानमा उनको ज्यानलाई खतरा छ र यदि उनको सुरक्षाको प्रत्याभूति गरिन्छ भने स्वदेश फर्किर राजनीतिमा उत्रिन तयार छन् ।

– बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment