Comments Add Comment

नवयुगको अनुपस्थितिमा फिलिपिन्सविरुद्ध नेपालको परीक्षा

कप्तान बिराज भन्छन्ः जितका लागि खेल्छौं

८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय खेलतालिका अनुसार सन् २०१६ को सुरुवातमै बंगबन्धु कप खेलेको नेपाली राष्ट्रिय फुटबल टोलीको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ को अन्तिममा बंगलादेशमा हुने दशौं साफ मात्रै थियो ।

तर एसियाली फुटबल महासंघ एएफसीले विश्वकप छनौटबाट बाहिरिएका तथा फिफा बरियतामा तल्लो क्रममा रहेका एसियाली टोलीहरुबीच एएफसी सोलिडारिटी कपको आयोजना गर्‍यो । त्यही प्रतियोगिताको बिजेताको रुपमा नेपालले एसियन कप २०१९ को लागि छनौट प्रतियोगिता खेल्ने अवसर पायो । नत्र नेपाल छनौटको प्लेअफबाटै बाहिरिइसकेको थियो ।

सोही छनौट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले अर्को साता फिलिपिन्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । त्यसका लागि नेपाली टोली पाँच सातादेखि बन्द प्रशिक्षणमा छ । प्रशिक्षक ग्योतोकु कोजीले सुरुवाती छनौटमा परेका खेलाडीहरुलाई दुई चरणमा फिल्टर गरेर २० जनाको राष्ट्रिय टोली बनाएका छन् ।

नवौं साफमा समूह चरणबाटै बाहिरिएको नेपाली टोली त्यसयताका सबै खेलमा अपराजित छ । बंगबन्धु कपको उपाधि जितेर २३ बर्षको उपाधि खडेरी टारेको नेपालले त्यसयता सोलिडारिटी कपको उपाधि तथा केहि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण गरी १२ खेलमा पराजयको मुख हेर्नुपरेको छैन । तीमध्ये सात खेलमा नेपाल विजयी भयो भने पाँच खेल बराबरीमा टुंगिए ।

२०१६ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्ति पाएका जापानी प्रशिक्षक कोजीको प्रशिक्षणमा अपराजित रहेको नेपाली टोलीले अहिलेसम्मकै बलियो टोली फिलिपिन्ससँग आगामी चैत १५ गते एसियन कप छनौट अन्तर्गत पहिलो खेल खेल्दैछ ।

‘तयारीको लागि हामीले धेरै समय पाएका थियौं । राम्रो प्रशिक्षण भइरहेको छ,’ प्रशिक्षक कोजीले भने, ‘केहि खेलाडीहरु माइनर चोटमा छन्, तर सिरियस केस छैन । अपेक्षा गरौं नतिजा हाम्रै पक्षमा आउनेछ ।’

फिफा बरियातामा नेपालभन्दा ४६ स्थान माथि रहेको फिलिपिन्ससँगको खेल नेपालका लागि पक्कै कठिन हुनेछ । त्यसमा पनि मनिलाको रिजाल मेमोरियल स्टेडियममा घरेलु दर्शकसामु फिलिपिन्सले नेपाललाई दवावमा राख्न सक्नेछ ।

‘व्यवसायिक खेलाडीहरु सम्मिलित् फिलिपिन्सले बल पोसेसनमा नियन्त्रण गर्ने प्रयास गर्नेछ । त्यसैले हामीले रक्षात्मक खेल्नुपर्ने अवस्था पनि आउनसक्छ,’ प्रशिक्षकले भने, ‘रणनीति कस्तो बनाउने भन्नेबारे निर्णय गर्दैछौं ।

नवयुगको अनुपस्थितिले धक्का

नेपाललाई बंगबन्धु, सागमा स्वर्ण र सोलिडारिटी कप जित्दाका मूख्य स्ट्राइकर नवयुग श्रेष्ठ चोटका कारण अहिले टिम बाहिर छन् । यसले नेपाललाई ठूलो धक्का लागेको छ । उनी पछिल्ला अन्तर्राष्ट्रिय म्याचहरुमा नेपालका तर्फबाट सबैभन्दा बढी गोल गर्ने स्ट्राइकर हुन् ।

त्यस्तै नियमित कप्तान अनिल गुरुङ पनि ड्रप गरिएका छन् । घरेलु फुटबलमा राम्रो छाप छोडेका स्ट्राइकर कर्ण लिम्वुले तीन बर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् भने चोटग्रस्त स्टार खेलाडी रोहित चन्द पनि करिव डेढ बर्षपछि टिममा फर्किएका छन् ।

प्रशिक्षक भन्छन्, ‘पक्कै पनि टिममा केहि फेरबदल भएको छ । हामीले सकेसम्म राम्रो टिम बनाउने प्रयास गरेका छौं,’ उनले थपे, ‘यो टिमले एउटा पनि खेल खेलेको छैन, कस्तो हुन्छ भन्ने खेलेपछि मात्रै थाहा हुनेछ, अभ्यासमा त राम्रो भइरहेको छ ।’

जितका लागि खेल्छौंः कप्तान

नेपालका कप्तान बिराज महर्जनले पनि एक बर्षदेखिको आफ्नो टोलीको लयलाई खस्कन नदिने प्रतिबद्धता व्यक्त गरे । युवा खेलाडीहरुको जोस सकारात्मक नतिजामा परिवर्तन हुने अपेक्षा उनको छ ।

‘गएको बर्षमा हामीले धेरै उपलब्धी हासिल गरेका छौं, टिम पनि दिनानुदिन राम्रो भइरहेको छ,’ बिराजले भने, ‘मोफसलमा भएका प्रतियोगिताका कारण खेलाडीहरु फिट छन्, नवयुगबाहेक ठूलो समस्या देखिएको छैन । एक महिनादेखिको अभ्यास पनि राम्रो भइरहेको छ ।’

फिलिपिन्ससँगको खेल निक्कै प्रतिस्पर्धात्मक हुने र त्यसअनुसार तयार रहन उनले टिममेटलाई सतर्क गराएका छन् । टिम गेम भएको नाताले टोलीका सबै सदस्यले शतप्रतिशत खेले हराउन सकिनेमा भने उनी ढुक्क छन् ।

बिराजले फिलिपिन्सबिरुद्ध जितका लागि खेल्ने बताए । ‘हामीलाई थाहा छ, व्यवसायिक खेलाडीले भरिएको फिलिपिन्स बलियो छ, तर हामी जितका लागि खेल्नेछौं,’ उनले भने ।

एसियन कप २०१९ को छनौटमा नेपाल समूह एफमा छ । यस समूहमा नेपाल र फिलिपिन्सका अलावा यमन र ताजिकिस्तान छन् । प्रत्येक टोलीले होम एण्ड अवेका आधारमा ६ खेल खेल्नेछन् । समूहको उत्कृष्ट दुई टोलीले प्रतियोगिताको अन्तिम चरणमा प्रबेश पाउनेछन् ।

नेपालले आफ्ना होम म्याचहरु सातदोवाटो मैदानमा खेलाउने तयारी गरेको छ ।

नेपाल र यमनले सोलिडारिटी कपको बिजेता र उपबिजेता टोलीको रुपमा प्रतियोगिताको तेस्रो चरणमा रि-इन्टि्र पाएका हुन् । प्रतियोगिता अन्तर्गत नेपाल प्ले अफबाट र यमन पहिलो चरणबाटै बाहिरिएका थिए ।

छनौट अन्तर्गत नेपालले १३ जुनमा यमनसँग काठमाडौंमा, १० अक्टोवरमा ताजिकिस्तानसँग उसकै मैदानमा, १४ नोभेम्बरमा फिलिपिन्ससँग काठमाडौंमा र २०१८ को मार्च २७ मा यमनसँग सनामा प्रतिस्पर्धा गर्नेछ ।

तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment