Comments Add Comment

चीनबाट आउन लागेको इन्टरनेटलाई पर्‍यो बाधा, कहिलेसम्म जोडिएला ?


९ चैत, काठमाडौं । चीनबाट ल्याउन लागिएको इन्टरनेटको लागि हिउँ अवरोध बनेको छ । नेपाल टेलिकमले रसुवा नाका भएर ल्याउन लागेको इन्टरनेटलाई हिउँले अवरोध सिर्जना गरेको हो ।

चीनतर्फ मर्मत गर्नुपर्ने इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएपछि यतिबेलासम्म आइपुग्नुपर्ने चिनियाँ इन्टरनेट अनिश्चित भएको छ । चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको ४ महिना बित्नै लाग्दा पनि चिनियाँ इन्टरनेट जोडिएको छैन ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिइसकेका छन् । तर, इन्टरनेट भने नेपाल आइपुगेको छैन । तर, सम्झौताअनुसार यसैमहिना जोडिनुपर्ने इन्टरनेट चीनतर्फ गेटवेलाई असर पर्ने गरी पुरिएकाले समस्या भएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

‘मार्चभित्रै जोडिनुपर्ने हो । तर, बाक्लो हिउँ नै समस्या बनेकोले अब मे महिनासम्म लाग्ने भनिएको छ’ बैद्यले भनिन्,’प्राकृतिक कारण नै यो काममा थोरै ढिलाइ हुने अवस्था आएको हो । तर, मेसम्म चीनको इन्टरनेट नेपाल आइपुग्ने चिनियाँ अधिकारीले बताएका छन् ।’

अप्टिकल भयो ब्रेक

टेलिकमका सह प्रवक्ता शोभन अधिकारीले चीनतर्फको भागमा रहेको अप्टिकल ब्रेक भएको बताए। ‘सो अप्टिकल फाइबर रि-स्टोर गर्नुपर्ने अवस्थामा छ ।

बाक्लो हिउँ जमेपछि रि-स्टोरको काम गर्न सकिएको छैन । यस्तो अवस्थमा ब्यान्डवीथ ल्याउन सकिँदैन’ अधिकारीले भने ।

उनले उच्च हिमाली क्षेत्र भएकाले अझै हिउँ परिरहँदा चीनले फाइबर मर्मतको कमा गर्न नसकेको बताए । टेलिकमले रसुवा हुँदै धादिङको गल्छीदेखि अप्टिकल फाइबर बिच्छ्याएको छ ।

टेकिलमले चीनबाट इन्टरनेट ल्याउन नेपालतर्फको सबै काम सकिएकाले अब हिउँ पग्लिन सुरु भएपछि चीनतर्फको प्राविधिक काम सकेर इन्टरनेट जोडिनेछ ।

भारतीय एकाधिकार तोडिने

चीनबाट आउने इन्टरनेट नेपाल टेलिकमको नेटवर्कमा जोडिएपछि इन्टरनेटमा भारतीय एकाधिकार समाप्त हुनेछ । चिनियाँ इन्टरनेट टेलिकको केन्द्रीय नेटवर्कमै जोडिएर उपभोक्तामाझ पुग्नेछ ।

ब्यवसायिक रुपमा भारतीय सेवा प्रदायकसँग भन्दा चीनबाट ल्याइने इन्टरनेट थोरै महंगो हुनेछ । तर, चीनमार्फत तेस्रो मुलकका सेवा प्रदायकसँग जोडिने मौका भने यसबाट मिल्नेछ ।

यसकोमार्फतबाट चीन हुँदै टेकिलमको इन्टरनेट नेटवर्क अब हङकङसम्म नै जोडिने सहप्रवक्ता अधिकारीले बताए । टेलिकमले भारतका टाटा, एयरटेल, बिएसएनएल, भारत पन्जाव र रिलायन्सबाट २२ जीबी भोल्इुमको इन्टरनेट ल्याइरहेको छ । मेपछि भारतको यो एकाधिकार नेटवर्क सकिनेछ ।

के फाइदा ?

चीनसँग स्थल मार्ग हुँदै फाइबर जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने अपेक्षा छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय कनेक्टिभिटीको लागि यो अर्को महत्वपूर्ण विकल्प हो । अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भइसकेको छ । यसअघि भारतीय मार्गबाट मात्र सो सम्भव थियो ।

नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन लागेको हो ।

चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ । चाइना टेलिकमले हिमालय क्षेत्रमा आˆनो रुट विस्तार कार्य गरिरहेको छ । चीनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment