Comments Add Comment

तातोपानी नाका खुलाउन चिनियाँ राष्ट्रपतिसँग कुरा गर्छु: प्रचण्ड

अरनिको राजमार्ग बिस्तार पनि भ्रमणको एजेण्डा

९ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले तातोपानी भन्सार नाका पुनः सञ्चालन गर्न चिनियाँ राष्ट्रपतिसँग छलफल गर्ने बताएका छन् । उनले अरनिको राजमार्ग बिस्तार पनि चीन भ्रमणको एजेण्डामा परेको जानकारी दिए ।

नेपाल ट्रक तथा कन्टेनर व्यवसायी संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ लगायतको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा प्रचण्डले आफ्नो चीन भ्रमणको एजेन्डाबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबारबाट चीनको भ्रमण गर्दैछन् । भ्रमणको पूर्वसन्ध्यामा कन्टेनर व्यवसायीले वैशाख १२ को भूकम्पपछि बन्द रहेको तातोपानी नाका पुनः सञ्चालन गराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रचण्डले तातोपानी नाका खुलाउन आफूले पटक- पटक पहल गरिरहेको भन्दै आफ्नो चीन भ्रमणपछि नाका खुल्ने विश्वास व्यक्त गरेका थिए ।

चीन भ्रमणका क्रममा तातोपानी भन्सार नाका खुलाउन र अरनिको राजमार्ग विस्तार गर्ने सम्झौता कार्यान्वयन गर्न चिनियाँ राष्ट्रपति समक्ष नै कुरा गर्ने प्रतिवद्धता प्रचण्डले व्यक्त गरेको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जनबहादुर सापकोटाले जानकारी दिए ।

सो अवसरमा कन्टेनर व्यवसायीहरुले तातोपानी नाका ठप्प हुँदा चीनसँगको व्यापार ठप्प भएको र त्यसैमा आश्रित १५ सय भन्दा बढी कन्टेनर व्यवसायीहरु बिस्थापित हुने अवस्था आएको गुनासो गरेका थिए ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि तातोपानी भन्सार नाका बन्द भएको छ । तातोपानी भन्सार नाका नेपाल र चीनबीचको प्रमुख व्यापारीक नाका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment