Comments Add Comment

राष्ट्रिय दल बन्न समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्षमा एक सिट अनिवार्य

राजनीतिक दलसम्वन्धी विधेयक पास

फाइल फोटो

९ चैत, काठमाडौं । व्यवस्थापिका संसदले तीन प्रतिशत थ्रेस होल्ड राख्ने व्यवस्थासहित राजनीतिक दलसम्वन्धी विधेयक बहुमतले पास गरेको छ ।

मधेसी मोर्चा र साना दलहरुको विरोधका बीच संसदको बुधबारको दोस्रो बैठकले विधेयक बहुमतले पास गरेको हो । राज्य व्यवस्था समितिले बुधबार मात्रै थ्रेसहोल्डबारे सहमति जुटाउँदै विधेयक संसदमा पेश गरेको थियो ।

थ्रेसहोल्डबारे विवादकै कारण विधेयक लामो समयदेखि लामो समयदेखि राज्य व्यवस्थामा अडि्कएको थियो । निर्वाचन आयोगले बनाएको मस्यौदामा तीन प्रतिशत थ्रेस होल्ड राख्ने प्रस्ताव गरेपछि विवाद भएको थियो ।

तर, बुधबार विहान उपसमितिले एकाएक प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन समानतुपातिकतर्फ ३ प्रतिशत मत पाउनु पर्ने थ्रेसहोल्डका साथै प्रत्यक्षतर्फ एक सिट जित्नु पर्ने प्रस्ताव अघि सार्‍यो । साना दलहरुको विरोधका बीच आएको प्रस्ताव राज्य व्यवस्था समितिले अघि मात्र बढाएन, बुधबार नै संसदले विधेयक अनुमोदन गरेको छ ।

गृहमन्त्रीका तर्फबाट भौतिक योजना तथा पूर्वाधारमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि छलफलमा उठेका विषयबारे स्पष्ट पार्दै मन्त्री लेखकले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्न, दललाई जिम्मेवार बनाउन तथा आर्थिक व्यवस्थापन पारदर्शी बनाउन यो व्यवस्था गरिएको बताए ।

यो विधेयकलाई रोक्न माग गर्दै सत्तारुढ साना दलहरुले प्रधानमन्त्री प्रचण्डलाई दबाव दिए । विपक्षमा भएका साना दलहरुले एमाले नेतृत्वलाई ९ दलीय गठवन्धनबाट अलग हुने चेतावनी दिए । तर, सुनुवाई भएन ।

आफ्नो माग सुनुवाई नभएपछि मधेसी मोर्चाका साथै साना दलका सांसदहरुले संसद बहिस्कार गरेका थिए । नेमकिपाका ३ सांसदले भने संसदमै बसेर विधेयकको विरोध गरे र ध्वनीमतका आधारमा निर्णय हुँदा विपक्षमा मत दिए ।

किन आत्तिए साना दलहरु ?

राजनीतिक दलसम्वन्धी विधेयकमा राखिएको ३ प्रतिशतको थ्रेसहोल्ड र प्रत्यक्षमा कम्तिमा एक सिट जित्नै पर्ने व्यवस्था राष्ट्रिय दलको मान्यता पाउन हो ।

यदि कुनै पनि दलका उम्मेदवारले प्रत्यक्षमा जित्यो तर, समानुपातिकमा ३ प्रतिशत मत पाएन भने उक्त दलले प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउँदैन । प्रत्यक्षमा जितेका सांसदले प्रतिनिधिसभामा स्वतन्त्र सांसदको हैसियत मात्र पाउँछन् ।

साथै कुनै दलले प्रत्यक्षमा एक सिट पनि जितेन तर, समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड पास गर्‍यो भने पनि प्रतिनिधिसभामामा उपस्थिति हुन्छ तर, दलीय होइन, स्वतन्त्रको हैसियतमा । साथै प्रतिनिधिसभाको ११० समानुपातिक सांसदमा कति मत बराबर एक सांसद भन्ने तय गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्वन्धी विधेयकले तय गर्नेछ ।

यो अहिले बनेकै छैन । तर, साना दलहरुको डर छ कि अहिले राजनीतिक दलसम्वन्धी ऐनमा राखेको थ्रेसहोल्डकै वरिपरि रहेर त्यो विधेयक आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment