Comments Add Comment

नेपालका लागि अष्ट्रेलियन राजदूतमा पिटर बड नियुक्त

९ चैत, काठमाडौं  । नेपालका लागि अष्ट्रेलियन राजदूतमा पिटर बड नियुक्त भएका छन् । हालका राजदूत ग्लेन ह्वाइटको कार्यकाल सकिनुभन्दा ९ महिना अघि नै पिटर बडलाई नेपालका लागि नयाँ राजदूत तोकिएको हो ।

अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएकी छन् र पिटर बडको कार्यकालमा नेपाल-अष्ट्रेलिया सम्बन्ध अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेकी छन् ।

नवनियुक्त राजदूत पिटरले यसअघि बग्दाद, प्रिटोरिया र पोर्ट भिल्लामा काम गरिसकेका छन् । उनले क्यानबेरामा समेत उच्च कुटनीतिक पदमा रहेर काम गरिसकेका छन् ।

उनले फिजीको टास्कफोर्समा प्यासिफिक रिजनल सेक्सनको डाइरेक्टरको रुपमा पनि काम गरिसकेका छन् ।

पिटरले मेलवर्न विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् । उनी अष्ट्रेलिया सरकारका कर्मचारी हुन् तर राजनीतिकरुपमा नियुक्त गरिएको होइन ।

यसअघि अष्ट्रेलिया सरकारले ग्लेन ह्वाइटलाई सन् २०१३ मा नेपालका लागि राजदूत नियुक्त गरेको थियो । विदेशमन्त्री विशपले ग्लेन ह्वाइटले नेपालको विनाशकारी भूकम्पको बेला निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी छन् र हालसम्म पुर्‍याएको योगदानको सम्मान गरेकी छन् ।

उनले विज्ञप्तिमा १५ हजार नेपाली विद्यार्थीले अष्ट्रेलियामा अध्ययन गरिरहेको र २५ हजार अष्ट्रेलियन नागरिकले नेपाल भ्रमण गरेको तथ्यांकसमेत उल्लेख गरेकी छन् ।

विदेशमन्त्री विशपका अनुसार अष्ट्रेलियाले नेपालमा सञ्चालित बिभिन्न परियोजनामा ३४ मिलियन डलर सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment