Comments Add Comment

नेप्सेले भेट्यो १५ सय अंक, बजारको स्पष्ट दिशा देखिन बाँकी


९ चैत, काठमाडौं । नेप्सेले अन्तर दिनको कारोबारमा १५ सय अंक छोएको छ । गत पुस मध्य यता नेप्से पहिलो पटक यो स्थानमा आइपुगेको हो । नेप्से १८ अंकले बढेर बजार बन्द हुँदा १४८१ बिन्दुमा आइपुगेको छ ।

बजार एकोहोरो बढेपनि अवस्था भने मिश्रित देखिएको छ । बजारमा साता दिनमा नै ३० प्रतिशत बढि मुनाफा हुन थालेपछि पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ । अर्कोतर्फ चैत मसान्त नजिकिदै जाँदा बजारमा दखिने ऐतिहासिक चक्र (बढ्दो प्रवृत्ती) देखिएको हो कि भन्ने अपेक्षा लगानीकर्तामा रहेको छ । यसपटक बैंकहरुले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी बढाउने अवधि समाप्त (२०७४ असार) हुन लागेको र आगामी वर्ष दिने बोनस चालु आवको अन्त्यमा नै जोड्न सकिने छुट दिइएकोले पनि बजारमा आकर्षण बढेको हो ।

नेप्सेको रेखाचित्र बिश्लेषणले पनि उल्टो हेड एण्ड सोल्जर बनाएर बजार केही बढ्ने क्रममा रहेको देखाएको छ । बजार सरोकारवालाहरु भने यसअघि ‘पर्ख र हेर’ को अवस्थामा रहेका केही संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले कारोबार बढाएकोले कारोबार रकममा वृद्धि भएको बताउछन् । बुधबार मात्रै बजारमा १ अर्ब ३९ करोड रुपैयाँको करोबार भएको छ ।

यति हुँदा हुँदै पनि बजारमा केही समययता नकारात्मक पक्षहरु हावी हुन थालेका छन् । विशेष त बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिको हल्लाले पनि बजार बढेको हो कि भन्ने आशंका देखिएको छ । त्यस्तै, चैत मसान्तमा लगानीकर्ताहरुले कर्जाको व्याज बुझाउनु पर्ने हुन्छ ब्याज भुक्तानीको लागि केहीले बजारमा देखिएको क्रमश : सुधारलाई अस्त्रको रुपमा प्रयोग गरिएको हो कि भन्ने कुरा पनि उठ्न थालेको छ ।

हाल बोनस सेयर दिने र निकट विष्यमा नै हकप्रद जारी गर्ने भनेर रहेका कतिपय संस्था मर्जरको प्रक्रियामा समेत छन् । तत्काल हकप्रद र बोनस प्राप्त गर्न सक्ने अवस्था देखिएपनि असारसम्ममा ती संस्था मर्जरमा समेत गइसक्नु पर्ने भएकोले लगानी केही समय होल्ड हुने अवस्थामा पनि छ ।

बजारमा केही साता अघि नै सेयर किनेर मनग्य प्रतिफल पाएकाहरुले बिक्री समेत बढाइरहेकोले बुधबार मध्यमा बजार केही समय घटेको थियो । प्रतिफल सुरक्षित गर्ने क्रमले कत्तिको बिक्रीमा दबाब दिन्छ त्यसमा पनि आगामी दिनमा बजारको दिशा स्पष्ट हुनेछ ।
यस दिन बीमा बाहेक सबै समूहको परिसूचक बढेको छ । बिकास बैंक समूहमा सूचीकृत लघुवित्त कम्पनीहरुको मूल्यमा समेत वृद्धि हुँदा यो समूह सुचक सबैभन्दा धेरै ४० अंक (२.५१ प्रतिशत)ले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment