Comments Add Comment

लाहान पुगेर बाबुरामले भने- गोरु पछाडि, गाडा अगाडि नपारौं !

पहिले संविधान संशोधन गरौं, त्यसपछि चुनावमा जाऔं

९ चैत, सिराहा । एमालेले मेची-महाकाली राष्ट्रिय अभियान सम्पन्न गरेको केही दिनमै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले दुई नम्बर प्रदेशको लाहानबाट हिमाल, पहाड, तराई मधेस राष्ट्रिय अभियानको शुरुवात गरेको छ ।

अभियानको उद्घाटन गर्दै भट्टराईले देश जोड्नका लागि सबैलाई समान व्यवहार गरेर सबै जातजाति भाषाभाषीलाई बराबर अधिकार दिनुपर्ने बताए । उनले यसकै निम्ति अभियान प्रारम्भ गरिएको बताए । डा. भट्टराईले संघीयताको मुद्दा टुंगोमा पुर्याएर मात्र चुनाव गर्नुपर्ने समेत बताए । ‘अहिले निर्वाचन पहिले कि संशोधन पहिले भन्ने कुरामा विवाद भइरहेको छ । गाडा अघि बढ्नका लागि सही अर्थमा गोरु अगाडि र गाडा पछाडि हुनुपर्छ’ उनले थपे, “संघीयताको मुद्दा टुंग्याएर संविधान संशोधन गरौं र त्यसपछि चुनावमा जाऔं । यो नै उपयुक्त र सुल्टो बाटो हो ।”

अहिले सरकारले संघीयताको मुद्दा र संविधान संशोधनको विषयलाई थाती राखेर चुनावको कुरा गरेर संघीयता र राज्य पुनःसंरचनाको मुद्दालाई नै विषयान्तर गर्न खोजेको आरोप लगाउँदै भट्टराईले संघीय संरचना, प्रदेश, स्थानीय तह, स्वायत्त क्षेत्र, विशेषाधिकार क्षेत्रको सीमांकन, प्रदेशको सीमांकन हल नभएको अवस्थामा चुनाव हुन नसक्ने बताए ।

इतिहासदेखि नै देशको निर्माण र रक्षा मधेसी समुदायहरुले नै गरेको बताउँदै उनले यो समुदायले विखण्डनकारी नभई देशको कार्यकारी प्रमुख बन्नुपर्नेमा जोड दिए । ‘मधेसी समुदायले कार्यकारी प्रमुख बन्ने लक्ष्य राख्नुपर्छ’ उनले भने, “यो अधिकार सबै मधेसीलाई छ ।”

भट्टराईले इतिहासको मूल्यांकन गर्दै राज्यको पुनःसंरचना गरेर नेपालका राष्ट्रिय एकता कायम राख्नुपर्ने र त्यसका लागि संघीयताको प्रवर्द्धन अपरिहार्य रहेको बताए । ‘एकातिर एकात्मक राज्य राख्न चाहने प्रवृत्ति र अर्कोतिर पृथकतावादी प्रवृत्तिले पनि समस्या पारिरहेको छ’ संयोजक भट्टराईले भने, ‘यी दुईवटै एउटै सिक्काका दुई पाटा हुन्, जसले अन्ततः विखण्डनको बिउ रोपेका छन् । यसको समाधान संघीयताको उचित व्यवस्थापन नै हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक रामचन्द्र झाले निर्वाचनको लागि उपयुक्त वातावरण नबनेको बताउँदै यो वातावरण सरकारले नै बनाउनुपर्ने बताए । पञ्चायतकाल र राजाको प्रत्यक्ष शासन कालमा पनि चुनाव भएको प्रसंग उल्लेख गर्दै उनले सबैलाई नसमेटिए चुनाव हुन नसक्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले देशलाई विखण्डन गर्ने कुत्सित चाहना राख्नेहरुलाई खबरदारी गर्न आफूहरु मधेस झरेको बताए । उनले नेपालमा आएको संघीयता र समावेशीताका मुद्दाहरु मधेसको योगदान भएकाले यसलाई कसैले खोस्न नसक्ने बताए । देशको विकासका लागि स्पष्ट नीति, नेतृत्व र त्यसलाई कार्यान्यन गर्ने उचित कार्यक्रम चाहिने भएकाले नयाँ शक्तिले त्यसलाई पूरा गरेको दावी गरे ।

सभालाई सम्बोधन गर्दै केन्द्रीय कार्यकारी सदस्य देवीप्रसाद ओझाले मधेसमा बस्ने धर्तीपुत्रहरुले यो मधेसलाई आवादी गरेर नेपाल बनाएको तथ्य उल्लेख गर्दै मधेसमा बस्ने मधेसीलाई विहारी भन्नुले कहिल्यै मुलुकको हित नहुने बताए ।

नयाँ शक्तिको अन्तर्राष्ट्रिय विभाग प्रमुख हिसिला यमीले नयाँ शक्तिले जे भन्छ, त्यही गर्ने दाबी गरिन् ।

पार्टीको सुशासन आयोगका संयोजक परशुराम खापुङले नयाँ शक्तिको जारी अभियान हिमाल पहाड तराई मधेसलाई जोडेर राष्ट्रिय एकता निर्माण गर्ने अभियान भएको बताए ।

संसदीय विभाग प्रमुख केशव दाहालले तराई मधेसमा जारी आन्दोलन न्यायको आन्दोलन भएकाले आन्दोलनमा नयाँ शक्ति पार्टीको पनि ऐक्यवद्धता रहेको बताए ।

सिराहाबाट बुधबार सुरु भएको नयाँशक्ति पार्टीको अभियान १३ गते कैलालीको धनगढीमा पुगेर समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment