Comments Add Comment

चिनियाँ रक्षामन्त्री बिहीबार नेपाल आउँदै, यस्तो छ कार्यक्रम

९ चैत, काठमाडौं। छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बिहीबार यहाँ आउँदै छन् ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहीबार शिष्टाचार भेट गर्नेछन् ।

रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नेछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्ने तय भएको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले सोही दिन भेटवार्ता गर्नेछन् ।

यसअघि सोही दिन बिहान मन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्ने तय भएकोछ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment