Comments Add Comment

आमा समूहद्वारा बस सञ्चालन

९ चैत, लमजुङ । लमजुङ नाल्मा गाउँका आमा समूहले आफ्नै सक्रियतामा बस सञ्चालन गरेका छन् ।

बेसीशहर नगरपालिका नाल्मास्थित खुन्द्रुदेवी आमा समूहले गाउँदेखि सदरमुकाम बेसीशहर बजारसम्मका लागि बस किनेर सञ्चालन गरेका हुन् । यातायातको अभावमा गाउँलेलाई सदरमुकामलगायत अन्यत्र जान समस्या भएपछि स्थानीय आमासमूहले ऋण खोजेर भएपनि बस खरिद गरेर सेवा सञ्चालन गरेको खुन्द्रुदेवी आमा समूहका अध्यक्ष त्रिकाशी गुरुङले बताइन् ।

गाउँमा बस सञ्चालनका लागि आमा समूहले करिब ३७ लाख खर्च गरेको छ । करिब ३५ लाखमा बस खरिद गरेको र त्यसबाहेक करिब दुई लाख रुट इजाजतका लागि तिर्नुपरेको अध्यक्ष गुरुङले बताइन् ।

समूहमा जम्मा भएका वाहेक ३० लाख ऋण खोज्न बाध्य भएँ, अध्यक्ष गुरुङले भनिन्, बस खरिद गरेर पनि बाटो फराकिलो नहुँदा एक महिना थन्किएको थियो ।

“बस किनेको एक महिना भयो, गाउँनिरको पाँच घुम्ती साँघुरो भएका कारण एक महिनासम्म चलाउनै पाइएन” उनले भनिन् “अहिले घुम्तीको बाटोलाई फराकिलो बनाएपछि बस सञ्चालनमा आएको छ, यसबाट गाउँलेलाई यात्रा गर्न सहज भएको छ ।”

नाल्माका स्थानियबासीले आफ्नै लगानीमा गाउँसम्म पुग्ने मोटरबाटो बनाएका छन् । साविकको गाउँशहर काउलेपानीदेखि नाल्मा गाउँसम्मको सडक ट्रयाक खोल्न स्थानीयले सहयोग एवम् चन्दा सङ्कलन गरी ५० लाखभन्दा बढी लगानी गरेको अध्यक्ष गुरुङले बताइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment