Comments Add Comment

बेलायतको संसद् भवनमा हमला प्रयास: कम्तिमा चार जनाको मृत्यु, २० भन्दा बढी घाइते

१० चैत, काठमाडौं । बेलायतको संसद् भवनमा हमला प्रयास भएको छ । संसद् भवनबाहिर भएको हमलामा कम्तीमा चारजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । मारिनेमा एक प्रहरी अधिकारी, दुई सर्वसाधारण र एक आतंककारी रहेको प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार दिउँसो २ः३० बजे हमला भएको हो । कालो कारमा रहेका आतंककारी संसद् भवनको ‘निषेधित क्षेत्र’ तोडेर जबर्जस्ती भित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले अवरोध पुर्या‍एपछि आतंककारीले प्रहरीमाथि गोली चलाएका थिए । त्यसक्रममा एक प्रहरी अधिकारीको मृत्यु भएको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मारिएका दुई सर्वसाधारणमध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएकी महिला रहेको जनाइएको छ । अर्का एकजनाको गाडीको आक्रमणबाट मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

संसद् भवनको पर्खालमा ठोक्किनुअघि कारले थुप्रै सर्वसाधारणलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट वेस्टमिनिस्टर पुलमा हिँडिरहेका केही विद्यार्थीसमेत घाइते भएका छन् । घटनापछि संसद्को कारबाही स्थगित गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिएको छ ।

संसद् भवनबाहिर आतंककारी हमलाको प्रयास हुँदा बेलायती प्रधानमन्त्री थेरेसा मे भवनभित्रै थिइन् । आक्रमणलगत्तै प्रधानमन्त्री थेरेसालाई विशेष सुरक्षासहित संसद् भवनबाट निवास पुर्या‍इएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment