Comments Add Comment

एमाले स्थायी कमिटी बैठकः स्थानीय चुनावका उम्मेदवार मुख्य एजेण्डा

गाउँपालिका कमिटी गठनको निर्देशिका बन्यो, २ नम्बर प्रदेशमा बेग्लै अभियान

१० चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन, पार्टीका गाउँ/नगर कमिटीहरुको समायोजन र २ नम्बर प्रदेशमा अभियान चलाउने सन्दर्भमा निर्णय लिन नेकपा एमालेको स्थायी कमिटी बैठक बसीरहेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकले स्थानीय चुनावको तयारीका विषयमा छलफल गरेर आवश्यक गृहकार्य अघि बढाउने प्रचार बिभाग प्रमुख एबम् केन्द्रीय कमिटीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

स्थानीय चुनावका लागि उम्मेदवार छनौटको मापदण्ड बनाउने र घोषणापत्र लगायतका कामहरुको जिम्मेवारी तोक्नेबारे बैठकमा छलफल हुनेछ । स्थानीय तहको चुनाव लागि सकेकाले उम्मेदवार चयनका लागि आवश्यक संयन्त्र गठन गरिने एमाले स्रोतले जनाएको छ ।

उम्मेदवारहरुको चयनका लागि बढी अधिकार स्थानीय कमिटीहरुलाई नै दिनेगरी आवश्यक नीतिगत निर्णय हुने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । यसपटक जसरी पनि चुनाव जित्नैपर्ने दबाबमा पार्टी रहेकाले उम्मेदवार चयनमा साबधानी अपनाइने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

एमालेले पहिलेका गाउँ विकास समितिहरु समायोजन भएर गाउँपालिका बनेको र नगरपालिकाहरुको समेत सिमाना हेरफेर भएकाले पार्टी कमिटीहरुको पुनर्गठनका लागि पनि नयाँ निर्देशिका बनाएको छ ।

अब साबिकका गाउँ कमिटीहरु वडा कमिटीमा परिणत हुनेछन् । त्यस्तै साबिक गाउँ कमिटी, इलाका कमिटीका पदाधिकारीहरु र क्षेत्रीय कमिटीका पदाधिकारी सहितको गाउँपालिका कमिटी बन्ने सचिव गोकर्ण विष्टले बताए ।

गाउँपालिका कमिटीमा सम्बन्धित क्षेत्र तथा इलाका कमिटीका इन्चार्जहरु पनि रहनेछन् र बरिष्ठतम मध्येबाट गाउँपालिका कमिटीको संयोजक बन्नेछन् । स्थायी कमिटी बैठकले स्थानीय तहको चुनावका सन्दर्भमा आवश्यक निर्णय लिनेछ ।

चुनावको पूर्वसन्ध्यामा अहिले एमालेका जिल्ला कमिटीहरुले प्रत्येक गाउँका वडासम्म टोली खटाएर पार्टीको अवस्था आँकलन गर्ने काम गरिरहेका छन् ।

२ नम्बरमा फेरि जाने

यसैबीच एमालेले २ नम्बर प्रदेशमा स्थगित भएको मेची महकाली अभियानको कार्यक्रम पुनः शुरु गर्ने भएको छ । स्थायी कमिटीले आवश्यक छलफलपछि अभियानको तालिका बनाउन केन्द्रीय सचिवालयलाई जिम्मा दिने सम्भावना छ ।

२ नम्बर प्रदेशको अभियान बारा पर्साबाट शुरु गरेर सिराहा पुग्ने गरी तालिका बनाउन उपयुक्त हुने वरिष्ठ नेता माधवकुमार नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment