Comments Add Comment

सबै टेलिभिजनमा सेट-टप बक्स अनिवार्य, एनालगलाई यसरी बदल्नुस् डिजिटलमा

डिजिटलाइजेशन नभए बैशाख १५ देखि टीभी नचल्ने


१० चैत, काठमाडौं । तपाईं घरमा केबल टेलिभिजन हेर्नुहुन्छ ? यदि आगामी वैशाख १५ सम्म तपाईंले आफ्नो टीभीलाई डिजिटलाइज्ड गर्नुभएन भने सेवा नै बन्द हुनेछ ।

बैशाख १५ पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरामा वैशाख १५ पछि केबल टेलिभिजन डिजिटलाइजेशन भएनन् भने टीभी चल्ने छैन ।

यी बाहेकका अन्य सबै नगरपालिकामा पनि आगामी कात्तिक १५ पछि एनालग टेलिभिजन चल्ने छैन । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुने सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले जानकारी दिए ।

यसअनुसार ०७५ को बैशाखसम्म देशभरका टेलिभिजन एनालगबाट डिजिटलमा रुपान्तरण भएसक्ने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा भने काठमाडौंसहित ललितपुर, वीरगञ्ज, विराटनगर, पोखरामा आगामी वैशाख १५ भित्रै यो ब्यवस्था लागू हुनेछ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।

कसरी गर्ने डिजिटलाइज ?

एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि १५ सयदेखि ३ हजार मूल्यका छुट्टै सेट-टप बक्स लगाउनुपर्नेछ ।

तर, अब सेट-टप बक्सको सेवा शुल्क भने फरक-फरक लाग्नेछ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिनेछ ।

केबल टीभी अपरेटरले भने आफ्नो हेड-इन (कन्ट्रोल रुम) मा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । त्यसका लागि केबल अपरेटरसँग अब दुईवटा विकल्प रहनेछन् ।


पहिलो विकल्प डिजिटलाइज्ड सेवा प्रदायक मल्टी सर्भिस अपरेटरसँग सहकार्य गरेर उसैसँग आधारित भएर सेवा दिने विकल्प हो । अर्को भने आफैं हेड इनलाई डिजिटलाइज्ड गरेर सेवा थाल्ने हो ।

अहिले धेरै केबल अपरेटरहरु साना लगानीकर्ता भएका कारण हेड-इनलाई डिजिटलाइज्ड गर्न गाह्रो हुने भएकाले मल्टी सर्भिस अपरेरटरसँग सहकार्यको विकल्प उनीहरुसँग छ ।

मल्टी सर्भिस अपरेटरसँग फे्रन्चाइज गरेर उनीहरुले डिजिटल टिभीको सेवा जारी राख्न सक्छन् । ग्राहकले केबल हटाएर सीधै एमएसओ वा डिसहोमको डिटिएचको सेवा पनि लिन सक्नेछन् ।

यसैमार्फत सबै टेलिभिजनमा सेट-टप बक्स जोडिनेछ । यसका लागि सेवा प्रदायकले विभिन्न बिजनेश मोडेल ल्याएका छन् ।

अहिलेसम्म १० वटाले एमएसओ लाइसेन्स लिएका छन् भने डीस होम डीटीएच प्रविधिमा सञ्चालनमा छ ।

अहिलेसम्म यसैगरी १० लाख टेलिभिजन सेटमा सेट-टप बक्स लगाइसकिएको दाबी टेलिभिजन अपरेटरले गरेको सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले बताए ।

अब ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट-टप बक्स जोड्नुपर्नेछ । अब हरेक टेलिभिजनमा सेट-टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुट्टै शुल्क तिनुपर्नेछ ।

यसबाट अपरेटरहरुको बिजनेश पनि राम्रो हुनेछ । ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवाबापत थोरै बढी आर्थिक भार उठाउनुपर्नेछ ।

बढ्नेछ राजश्व

सरकारले इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू)ले निर्धारण गरे बमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको हो । अब परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउनेछन् ।

सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ मा संशोधन गरेर तोकिएका क्षेत्रहरूमा एनालग सिग्नल पूर्णरूपमा प्रतिबन्धित र गैरकानुनी हुने ब्यवस्था गरेको छ ।

यसको कार्यान्वयन थालेसँगै अब परम्परागत प्रविधिको टेलिभिजन विस्थापित हुने क्रममा छ । अब केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउनेछन् । यसैका माध्यमबाट सरकारको राजस्वमा पनि भारी वृद्धि हुनेछ ।

अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ । भारतीय डीटिएचबाट गैरकानुनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको ब्यवस्था प्रभावकारी हुने इञ्जिनियर भुजेलले बताए ।

अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत ग्राहक ठग्ने र राज्यलाई कुनै राजश्व योगदान नगर्नेहरु नियममा बाध्यकारी रुपमा आउने इन्जिनियर भुजेलले बताए ।

नेपालमा झण्डै ५० लाख टेलिभिजन सेट सञ्चालनमा छन् भन्ने अनुमान छ । तर, त्यसअनुरुप सरकारलाई केबल अपरेटरहरुले राजस्व भरेका छैनन् ।

अब भने वास्तविक रुपमा कति टेलिभिजन चलिरहेका छन् भन्ने तथ्यांक पनि सरकारसँग आउनेछ ।

टेलिभिजन हुनेछ गुणस्तरीय

यही डिजिटल प्रविधिको पूर्ण प्रयोग भएपछि लटर-पटर तरिकाले केबल टेलिभिजन चलाउनेहरुको राज रहने छैन । किनभने डिजिटल टेलिभिजन सेवा दिन बजारमा तीव्र प्रतिस्पर्धा हुनेछ ।

यसले केबल टेलिभिजनमा डिजिटलाइजेशन अनिवार्य गरेकाले बजारमा सबै अब्बल रुपमा आउने अवस्था बन्नेछ ।

त्यसैले अहिले केबल अपरेटरहरुले मल्टी सर्भिस अपरेटरसँग मिलेर सेट-टप बक्स वितरण गरिरहेका छन् । कसैले सःशुल्क वितरण गरिरहेका छन् भने कसैले निःशुल्क पनि बाँडिरहेका छन् ।

अब नेपाल भित्रिने सबै सेट-टप बक्सको रेकर्ड सरकारसँग हुने भएकाले देशमा कति टीभीमा सेट-टप बक्स लागे भन्ने सीधै थाहा हुनेछ ।

अहिलेको केबल टेलिभिजनमा सेट-टप बक्स लगाउनासाथ टीभीको श्रब्य दृश्य गुणस्तर उच्च हुनेछ । यसले टीभी हेर्दा आनन्दको महसुस मात्रै हुने छैन, अनेकन झञ्झटबाट उपभोक्ता मुक्त हनेछन् ।

एनालग टेलिभिजन पुरानो प्रविधि भएकाले नै विकसित देशले यसलाई हटाइसकेका छन् । नेपालले यसका लागि बल्ल काम थालेको छ ।

डिजिटल टीभीले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ । टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका विभिन्न समस्यालाई यसले हटाइदिन्छ ।

टेलिभिजन सिग्नल डिजिटल भएपछि आफूलाई मन परेको प्याकेज लिएर हेर्न पाइने भएकाले ग्राहकलाई धेरै फाइदा हुने डीसहोमका महाप्रवन्धक कल्याण अधिकारीले बताए ।

‘अहिले केबल टेलिभिजनले जुन प्याकेज दिए त्यसैमा एड्जष्ट हुनुपर्ने अवस्था डिजिटलमा हुने छैन । तर, अब भने ग्राहकले आफूलाई चाहिएको च्यानल मात्रै रोजेर हेर्न सक्ने अवस्था बन्नेछ,’ उनले भने, ‘ग्राहकले २९२ रुपैयाँदेखि च्यानलअनुसार त्योभन्दा बढी शुल्कका प्याकेज छानी-छानी उपयोग गर्न पाउनेछन् ।’

अहिले नेपालमा मल्टी सर्भिस अपरेटरको लाइसेन्स लिएका विभिन्न १० सेवा प्रदायकले डिजिटलको टीभी सेवा दिइरहेका छन् । डीटीएच प्रविधिको डिसहोमले पनि आफ्नो गुणस्तरीय डिजिटल सेवालाई ग्रामीण दूरदराजको भेगसम्म पुर्‍याइरहेको छ ।

सिम्पल मिडिया नेटवर्कको ‘सीम टीभी’, सुविसु केवल नेटवर्कको ‘क्लियर टीभी’, डिभाइन नेटवर्कको ‘मेरो टीभी’ लगायतका कम्पनीले डिजिटल प्रविधिको टीभी प्रसारण गरिरहेका छन् ।

अब केबल अपरेटरले यिनै कम्पनीहरुसँग डिजिटल सिग्नल लिएर पनि ग्राहकसम्म डिजिटल टीभी सेवा दिन सक्नेछन् । ग्राहकले डीटीएच प्रविधि पनि अब रोज्न सक्नेछन् ।

तर, केबल टेलिभिजनलाई अब डिजिटल नगरी सेवा प्रदायक र ग्राहकलाई सुख भने हुने छैन । किनभने सरकारले अब डिजिटलमा नजाने केबल अपरेटरको लाइसेन्स खारेज गरेर सेवा नै बन्द गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment