Comments Add Comment

नूर-गंगा पुरस्कारको घोषणा

काठमाडौं । नूर-गंगा प्रतिभा पुरस्कार गुठीले यस वर्षको बाल साहित्य लगायत विभिन्न पुरस्कारको घोषणा गरेको छ ।

गुठीले नूर-गंगा राष्ट्रिय बाल साहित्य प्रतिभा पुरस्कार साहित्यकार तेजप्रकाश श्रेष्ठलाई दिने निर्णय गरेको छ । पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।

यस्तै, नूर-गंगा लुम्बिनी अञ्चलस्तरीय लोक गायन प्रतिभा पुरस्कार नविन पौडेलले पाउने भएका छन् । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्माले बताए ।

यसैगरी १५ हजार राशिको नूर-गंगा साहित्य क्षेत्रीय नवप्रतिभा पुरस्कार आरबी निश्चल र नूर-गंगा राष्ट्रिय लोक गायन नवप्रतिभा पुरस्कार शान्तिश्री परियारलाई दिइने भएको छ ।

लोक गायिका गंगादेवी राणा र उनका पति उद्योगपति नूरप्रताप जंगबहादुर राणाले ०४९ सालमा स्थापना गरेको गुठीले हरेक वर्ष लोकगीत तथा बाल साहित्य क्षेत्रका व्यक्तिहरुलाई पुरस्कृत गर्दै आएको छ ।

तीन लाख एक हजार रुपैयाँको अक्षय कोषबाट सुरु भएको गुठीमा अहिले २० लाख रुपैयाँ छ । त्यसमा संरक्षक अमिरप्रताप जबराले ५ लाख थपेर यस वर्ष २५ लाखको अक्षय कोष बनाइएको छ । अक्षय कोष रकमबाट प्राप्त ब्याजले पुरस्कार दिइने गरिएको गुठीका सचिव यज्ञप्रसाद शर्माले जानकारी दिए ।

गुठीले यो वर्ष बैतडी निवासी साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन पनि गर्ने भएको छ । यही शनिबार राजधानीमा कार्यक्रम गरी पुरस्कारहरु अर्पण गरिने गुठीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment