Comments Add Comment

नेपालको मानव विकासमा प्रगति, मध्यमस्तरमा उक्लियो

नेपाल मध्यमस्तरको मानव विकास भएको राष्ट्रमा उक्लिन सफल भएको छ । यसअघि न्यून मानव विकास भएको देशको रुपमा रहँदै आएको नेपालको मानव विकासको अवस्थामा सुधार आएको पछिल्लो मानव विकास प्रतिवेदनले देखाएको छ ।

राष्ट्रसंघीय विकास कार्यक्रम, युुएनडिपीले सार्वजनिक गरेकेा ‘सबैका लागि मानव विकास’ शीर्षकको मानव विकास प्रतिवेदन २०१६ अनुसार नेपालको मानव विकास सूचकांक ०.५५८ पुुगेको छ । नेपाल मानव विकासका हिसाबले विश्वका १ सय ८८ देशमध्ये १ सय ४४ औँ देशमा परेको छ । गत वर्ष नेपाल १ सय ४५ औँ स्थानमा रहेको थियो ।

सन् १९९० देखि २०१५ को अवधिसम्ममा नेपालको मानव विकास सूचकांक ०.३७८ बाट ४७.७ प्रतिशतले बढी ०.५५८ मा पुुगेको रिपोर्टमा उल्लेख छ ।

यस अवधिमा नेपालीहरुको औसत आयुुमा १५.७ वर्षले बढोत्तरी भएको छ । त्यस्तै औसत स्कुल अवधिमा २.१ वर्ष, तथा प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादनमा १ सय दशमलब १ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्ट अनुसार नेपाल मानव विकास सूचकांकका हिसाबले मध्यम मानव विकासको अवस्थामा पुुगेको भएपनि मध्यम मानव विकास भएका राष्ट्रहरुको औषत सूचकांक भन्दा नेपालको सूचकांक कम छ । मध्यम मानव विकास भएका राष्ट्रहरुको औषत एचडिआइ ०.६३१ रहेको छ।

त्यस्तै दक्षिण एसियाली राष्ट्रहरुको औसत एचडिआइ ०.६२१ भन्दा पनि नेपालको अवस्था तल देखिएको छ । मानव विकास प्रतिवेदन अनुसार नेपालको औसत आयु ७० वर्ष पुुगेको छ । त्यस्तै लैंगिक विकास सूचकांक ०.९२५, बहुुआयामिक गरिबी सूचकांक ०.११६ रहेको छ । त्यस्तै १५ वर्ष भन्दा माथिका नागरिकहरुको रोजगारीको दल ८०.५ प्रतिशत रहेको छ । नेपालमा प्रति व्यक्ति वाषिर्क कार्वन उत्सर्जन ०.२ टन रहेको पनि रिपोर्टले देखाएको छ ।

दक्षिण एसियाको अवस्था

मानव विकास सूचकांकमा श्रीलंका दक्षिण एसियामा सबैभन्दा अग्रस्थानमा रहेको छ । उच्च मानव विकास भएको देशका रुपमा श्रीलंका ७३ औँ स्थानमा छ । दोश्रो स्थानमा रहेको माल्दिभ्स १०५ औँ स्थानमा रहेको छ । तेश्रो स्थानमा भारत रहेको छ । भारत १३१ औँ स्थानमा छ भने चौथो स्थानमा रहेको भुटान १३२ औँ स्थानमा छ ।

दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल भन्दा अगाडि बंगलादेश १३९ औँ स्थानमा छ । नेपाल भन्दा पछाडि पाकिस्तान र अफगानिस्तान मात्र रहेका छन् । पाकिस्तान १४७ औँ तथा अफगानिस्तान १६९ औँ स्थानमा रहेका छन् ।

सबैभन्दा बढी तथा कम मानव विकास भएका देशहरु

मानव विकास प्रतिवेदन अनुसार ०.९४९ सूचकांक सहित नर्वे विश्वमा सबैभन्दा उच्च मानव विकास भएको देशको रुपमा रहेको छ । दोश्रो स्थानमा अष्ट्रेलिया र स्विजरल्याण्ड समान ०.९३९ अंक सहित रहेका छन् । जर्मनी चौथो, डेनमार्क र सिंगापुर पाँचौँ, नेदरल्याण्ड सातौँ, आएरल्याण्ड आठौँ, आइसल्याण्ड नबौँ तथा क्यानडा र अमेरिका दशौँ स्थानमा रहेका छन् ।

त्यस्तै बेलायत १६औँ, जापान १७ औँ, अष्ट्रिया २४ औँ, रुस ४९ औँ र चीन ९० औँ स्थानमा रहेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment