Comments Add Comment

डेनमार्कमा सक्रिय हुँदै नेपाली दिदीबहिनी

कोपनहेगन । डेनमार्कमा नेपालीहरुको आगमनसँगै यहाँको विविध क्षेत्रमा उनीहरुको सहभागिता र सक्रियता बढ्दो छ । यो क्रम नेपाली महिलाहरुमा पनि देखिन्छ । विद्यार्थीको रुपमा डेनमार्क आएर स्टाफ नर्स, सेफ, केयर गिभरको रुपमा जमेका महिलाहरुको संख्या उल्लेख्य छ ।

डेनमार्कमा रहेका नेपाली महिलाहरुलाई एउटै छातामा गोलबद्ध पारेको ‘क्रिएटिभ नेप्लिज वुमेन इन डेनमार्क’ नामक संस्थाले  हालै मार्च १९ मा वार्षिक साधारणसभा गरेको छ । सो अवसरमा डेनमार्कमा संघर्षशील नेपाली महिलाहरुको सबलता दर्शाउने ‘म र मेरो यात्रा’ नामक कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममा संस्थाकी सदस्य नीलम खड्काले स्वागत मन्तव्य दिँदै आजको दिनमा महिलाहरु पनि पुरुषसरह अग्रसर हुन थालेको भन्दै समान व्यवहार हुनुपर्नेमा जोड दिइन् । अर्की सदस्य स्मिता बस्नेतले महिलाहरु आफ्नो कुरा राख्न हिचकिचाउँछन् भन्ने कुरा सत्य नभएको बताइन् । उनले डेनमार्कमा रहेका नेपाली तथा विदेशी महिलाहरुको बारेमा वृत्तचित्र समेत प्रस्तुत गरेकी थिइन् ।

संस्थाको कार्यप्रगति विवरण संस्थाकी महासचिव मीना पौडेलले र आर्थिक विवरण बनिता ढकाल अधिकारीले प्रस्तुत गरेकी थिइन् ।

‘म र मेरो यात्रा’ कार्यक्रममा डेनमार्क आएर संघर्ष गर्दै सफल बनेका नेपाली चेलीहरुको कथा प्रस्तुत गरिएको थियो । जसमा विद्यार्थीको रुपमा आएर सफल सेफ बनेकी पुनम लामाको बारेमा पनि समेटिएको थियो । कार्यक्रममा लामाले आफू कसरी स्थानीय भाषा सिक्दै सबै कोर्ष पूरा गरेर अहिलेको अवस्थामा आइपुगें भनेर अनुभव बाँडेकी थिइन् ।

यस्तै, डेनमार्कमा नर्सिङ पेशामा रहेकी मिनु गुरुङले नेपालमा स्टाफ नर्स पढेर डेनमार्क आएपछि सोही पेशामा प्रवेश गर्दाको अनुभव सुनाएकी थिइन् । उनले कुनै पनि सफलतामा परिवार र जीवनसाथीको सहयोग महत्वपूर्ण हुने भन्दै आफ्नो सफलतामा श्रीमानको साथ रहेको पनि बताइन् ।

यस्तै, अर्की महिला रमा थापा विष्टले स्थानीय डेनिस भाषा सिक्दै छुट्टै कोर्ष पढेर स्थानीय वृद्धवृद्धाको स्याहार केन्द्रमा काम गर्न सफल भएको बताइन् ।

कार्यक्रममा डेनमार्कका लागि नेपालका कार्यवाहक राजदूत रामकाजी खड्काले नेपालमा महिला दिदीबहिनीको अवस्था र सरकारी सेवामा महिलाहरुको सहभागिता सम्बन्धी बोलेका थिए ।

सो क्रममा संस्थाकी अध्यक्ष डा. गरिमा घलेले डेनमार्कमा रहेका महिला दिदीबहिनीहरुको लागि संस्थाले विभिन्न कार्यक्रम गर्ने बताइन् । उनले कार्यक्रम सफल पार्न खटिएका संस्थाकी उपाध्यक्ष इन्दिरा तिवारी, सदस्यहरु भावना मल्ल, सम्झना खत्री लगायत सबैलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा संस्थाले आफ्नो वेबसाइट पनि सार्वजनिक गरेको थियो ।

कार्यक्रममा एनआरएन डेनमार्कका अध्यक्ष दीपेन्द्र चुडाल, जनसम्पर्क समिति डेनमार्कका सभापति वीरेन्द्रसिंह कार्की, एनआरएन ग्लोबल युवा उप-संयोजक लोकराज शर्मा, एनआरएन आईसीसी सदस्य सोमनाथ सापकोटा, इनासका प्रतिनिधि कृष्ण सुवेदी, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव प्रकाश ढकाल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment